धरानको बिपी अस्पताल सरकारले सक्दैन भने हामी चलाउँछौँ : मेयर साम्पाङ
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा पनि भद्रगोल र लथालिङ्ग अवस्थामा छ । सरकारले गठन गरेको अध्ययन प्रतिवेदनअनुसार विभिन्न स्वार्थका कारण अस्पतालको सेवा गुणस्तरहीन बनाउने र बिरामी बाहिर पठाउने प्रवृत्ति मौलाएको छ । कतिपय अवस्थामा सामान्य मेहनत गरे सञ्चालनमा आउने उपकरण बिगारेर राखिएको उल्लेख गरेको थियो ।
अस्पतालमा कार्यरत केही चिकित्सकहरूले कार्यालय समयमै बाहिरका निजी क्लिनिकमा काम गरेको पनि प्रतिवेदनमा उल्लेख छ । भित्र उपलब्ध हुने सेवाहरू पनि रेफर गरेर क्लिनिकमा पठाउने समस्या उत्तिकै छ ।
भद्रगोल अवस्थामा रहेको उक्त अस्पताल सरकारले चलाउन नसके स्थानीय सरकारलाई सुम्पिदिन माग गरेको धरानका मेयर हर्क साम्पाङले बताएका छन् । स्वास्थ्य मन्त्रीसँगको भेटमा उक्त अस्पताल स्थानीय सरकारलाई सञ्चालनका लागि सुम्पिन अनुरोध गरेको मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
‘स्वास्थ्य मन्त्री सँगको भेटमा बिपी अस्पताल केन्द्र सरकारले चलाउन सक्दैन भने स्थानीय सरकारलाई सुम्पिदिनु हामी चलाउँछौँ भनेको छु । छिटो निर्णय गरोस्,’ उनले लेखेका छन् ।
source:farakdhar