बारा २ मा उपनिर्वाचन कसको सम्भावना कति ?
काठमाडौं । वैशाख १० गते देशका विभिन्न तीन क्षेत्रमा उपचुनाव हुँदैछ । उपचुनावमा उम्मेदवारहरु मत माग्न निर्वाचन क्षेत्रमा खटिएका छन् ।
मत माग्ने उम्मेदवारहरुले एकले अर्कोलाई आक्षेप लगाउनेदेखि आफ्नो जीत सुनिश्चित रहेको दाबी गरिरहेका छन् । तर, उम्मेदवारको वास्तविक अवस्था कस्तो छ त ?
जनता समाजवादी पार्टीबाट बारा २ मा निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उक्त क्षेत्र खाली छ ।
उपराष्ट्रपतिको निर्वाचन क्षेत्रमा हुन लागेको उपचुनावमा चार उम्मेदवारबीच मुख्य प्रतिष्पर्धा हुने आंकलन गरिएको छ ।
सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र जनमत पार्टीबाट शिवचन्द्र कुशवाह मैदानमा छन् ।
गएको चुनावमा पराजित उम्मेदवारहरुको नै यसपटक उम्मेदवारीमा वर्चस्व देखिएपछि त्यस क्षेत्रको चुनावलाई हरुवाहरुबीचको चुनाव भनेर टिप्पणी भइरहेका छन् । तर, निर्वाचनमा योग्यता पुगेका जो कोहि नागरिक उम्मेदवार हुन पाउने भएकाले उनीहरुको उम्मेदवारी नैतिकताको कसीमा बाहेक सबै ढंगले जायज नै छ ।
गएको चुनावमा यस क्षेत्रमा रामसहाय, शिवचन्द्र र रामकिशोर प्रसाद यादवबीच मुख्य प्रतिष्पर्धा भएको थियो । त्यसबेला जसपाका रामसहायले माओवादी केन्द्रका शिवचन्द्रलाई तीन सय बढी मतले पराजित गरेका थिए ।
यसैमा जसपाबाटै विद्रोह गरि स्वतन्त्र उम्मेदवार बनेका रामकिशोर यादवले समेत ११ हजार बढी मत पाएका थिए । गएको चुनावमा कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धनबाट उम्मेदवार बनेका शिवचन्द्र यस पटकको उपचुनावमा जनमत पार्टीबाट उम्मेदवार बनेका छन् ।
यस्तै, त्यसबेला जनमत पार्टीले झण्डै २८ सय मत ल्याएको थियो । एमालेले जसपालाई सघाएका कारण त्यस क्षेत्रमा एमालेको उम्मेदवार नै थिएन् । तर, यसपटक गठबन्धन पनि फेरिएको र चुनावी माहोल पनि फेरिएकाले यस क्षेत्रको चुनाव थप रोचक बन्ने देखिन्छ ।
उपचुनावमा जसपाका उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल र रास्वपाबाट रमेश खरेल उम्मेदवार बनेका छन् ।
फेरिएको अवस्था र चुनाव भएको केहि समयमै हुन लागेको उपचुनावप्रति जनताको सहभागीताको विषय समेत गम्भीर ढंगले प्रस्तुत हुने भएकाले यस पटकको निर्वाचनमा यसै भन्न सकिने अवस्था छैन् । तर, पहिलेको निर्वाचन परिणाम र अन्य आधारलाई केन्द्र मानेर आंकलन गर्ने अवस्था पनि त्यति बलियो देखिन्न ।
यसकारण यसबारे थप थाहा पाउन भने चुनाव नै कुर्नुपर्नेछ ।
source:news24nepal