एसीसी प्रिमियर कपको सिंगापुरविरुद्ध बहराइनको फराकिलो जित
काठमाडौं । एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा बहराइनले सिंगापुरविरुद्ध फराकिलो जित निकालेको छ ।
बिहीबार समूह ‘बी’को खेलमा बहराइनले सिंगापुरविरुद्ध १३२ रनको जित निकाल्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा बहराइनले प्रस्तुत गरेको २८७ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुरले ४३.१ ओभरमा सबै विकेट गुमाएर १५४ रनमात्र बनाउन सक्यो ।
सिंगापुरका सुरेन्द्रन चन्दमोहनले ५१ रन बनाए पनि टिमको हार टार्न सकेनन् । विनोथ बस्करनले २३ र थिलिपन ओमाइदुराईले २० रन बनाए । रोहन रंगाराजन र कप्तान अरित्रा दत्तले समान ११ रन बनाउदा अब्दुल रहमान भाडेलियाले १० रन बनाए ।
सिंगापुरलाई सस्तैमा समेट्न बहराइनका इमरान अन्वरले चार विकेट लिए । नौ ओभर बलिङ गरेका अन्वरले २४ रन खर्चिए । रिजवान बटले तीन विकेट लिए । अब्दुल मजिदले दुई र अलि दाउदले एक विकेट लिए ।
त्यसअघि टस ब्याटिङमा आएको बहराइनले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८६ रनको योगफल खडा गरेको थियो ।
बहराइनका फियाज अहमेदले ७९ रन बनाएका थिए । फियाजले ५९ बलमा नौ चौका र एक छक्का प्रहार गरे । साहबाज बाबरले ९८ बलमा आठ चौका र एक छक्कासहित ७६ रन थपे । सोहाइल अहमेदले ४६, कप्तान हैदर बटले २९, मुहम्मद युनिसले २३ र जुनैद अजिजले ११ रन बनाए ।
सिंगापुरका रमेश कालिमुथु, थिलिपन ओमाइदुराई र विनोथ बस्करनले समान दुई विकेट लिएका थिए ।
प्रतियोगितामा सिंगापुरको यो दोस्रो खेल हो । सिंगापुर यसअघि पहिलो खेलमा हङकङसँग आठ विकेटले पराजित भएको थियो । बहराइनको भने प्रतियोगितामा यो पहिलो खेल हो ।
यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।
जसको समूह ‘बी’मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । यस्तै, समूह ‘ए’ मा ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । प्रतियोगिताको विजेताले एसिया कपका स्थान बनाउनेछ ।
source:baahrakhari