अनगिन्ती रेकर्डहरु सहित सेयर बजार नयाँ वर्षमा : लगानीकर्तालाई अब थप खुशीको बहार

काठमाडौं : पुँजी बजारका लागि २०७७ साल सकारात्मक बन्यो । विश्वव्यापी कोरोना महामारीको संकटका बीच पनि गत वर्ष प्राथमिक बजार र दोस्रो बजार दुवैले विभिन्न शीर्षकमा रेकर्ड ब्रेक गर्न सफल भए । महामारीका कारण गत वर्ष झण्डै ९ महिना मात्र सेयर कारोबार हुन सक्यो । दोस्रो बजारमा नेप्से परिसूचक, कारोबार रकमलगायतमा रेकर्ड ब्रेक भयो भने प्राथमिक बजारमा पनि आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्याले नयाँ नयाँ रेकर्ड बनायो । साथै, डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्यामा पनि उच्च वृद्धि भएको छ । अघिल्लो वर्ष (२०७६ साल) को अन्तिम कारोबारमा नेप्से सूचक १२५१.४६ विन्दुमा बन्द भएको थियो । कारोना महामारी रोकथामका लागि गरिएको लक डाउनका कारण सेयर बजार पनि २०७६ चैत १० गतेबाट करिब ३ महिना बन्द गरियो । लक डाउनपछि असार १५ गतेदेखि बजार पुनः नियमित कारोबार सुरु गरियो । महामारीले अर्थतन्त्र शिथिल बनाएको बेला धेरैले सेयर बजारमा पनि नकारात्मक असर पर्ने अनुमान गरेका थियो ।तर आमलगानीकर्ताको अनुमान विपरित नेप्सेले बुलिस गति समात्यो र बजारले लगातार नयाँनयाँ उचाई तय गर्यो । २०७७ सालको अन्तिम दिन अर्थात मंगलबार (चैत ३१ गते) पनि बजार २७१४.७९ को अलटाइम हाइ विन्दुमा बन्द भएको छ । गत वर्षको अन्तिम विन्दु र २०७७ को अन्तिम दिनको नेप्से सूचकलाई तुलना गर्ने हो भने सेयर बजार ११६.९३% ले वृद्धि भएको छ । यसले नयाँ वर्ष सेयर बजारका लागि थप सकारात्मक हुने संकेत गरेको छ ।
वि.सं २०७७ मा विभिन्न नीतिगत सुधारहरु पनि भएका छन् । जसले बजार वृद्धि गर्न थप महत्वपूर्ण भूमिका खेलेको थियो । अनलाइन कारोबार प्रणालीमा सुधार आएको छ भने अनलाइन प्रयोगकर्ताको संख्या पनि यो वर्ष ह्वात्तै बढेको छ ।  यसर्थमा, २०७७ मा नेपालको पुँजी बजारले प्रविधिमा फड्को मरेको पनि भन्न सकिन्छ । महामारीले घरमै थन्किएका लगानीकर्तालाई पनि अनलाइन प्रविधिको प्रयोग गर्न बाध्य बनायो ।तथापि, यसको सुधार र विस्तारमा भने अझै जोड दिन आवश्यक छ । त्यस्तै, गत वर्ष धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाएर लगानीकर्तालाई ठूलो राहत दिएको छ । यो बजारका लागि झनै सकारात्मक पक्ष हो । गत वर्ष सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सेयर राफराफ चक्र ‘टि प्लस टु’ मा झारेको छ । यसले पुँजी बजारलाई थप चलायमान बनाएकोे छ । कतिपय अवस्थामा लगानीकर्ताले टि प्लस टु मा सेयर बचेको पैसा फिर्ता नपाउँदा गुनासो पनि गर्दै आएका छन् । यसलाई सुधार्न आवश्यक रहेको लगानीकर्ताको भनाई छ ।
साथै, वतर्मान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारको सुधार र विस्तारमा जोड दिएका छन् । यसले लगानीकर्ताको मनोबल उच्च भएको छ । बैंकको ब्याजदर निकै घटेको छ । बैंक ब्याजदर घटेर एकल अंकमा आएपछि लगानीकर्तालाई ऋण लिएर सेयरमा लगानी गर्न पनि सहज भएको छ । बैंकहरुले मंगलबार सार्वजनिक गरेको नयाँ ब्याजदरले पनि तत्काल ब्याजदर खासै नबढ्ने संकेत गरेको छ ।यो बजारका लागि निकै सकारात्मक हो । यसको अलावा नेप्सेले वर्षको अन्तमा तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ जारी गर्दै एपीआई पोलिसी पनि ल्याएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लक डाउनका कारण झण्डै ३ महिना भयो । यो नेपालको पुँजी बजारको इतिहासमै सबैभन्दा लामो बन्द थियो ।तर उक्त घटना बाहेक २०७७ सँग नेपालको पुँजी बजारले गुनासो गर्ने खासै ठाउँ दैखिँदैन । समग्रमा यो साल नेपालको पुँजी बजारका लागि निकै राम्रो सावित भएको छ । तथापि, सीडीएसको मेरो सेयरमा बारम्बार आउने समस्या अनि टीएमएसमा पनि बेलाबेला देखिने समस्याले भने लगानीकर्ताले कतिपय अवस्थामा सास्ती खेप्नुपरेको अवस्था रहेको छ ।
पुँजी बजारका लागि नयाँ वर्ष कस्तो होला ? 
गत वर्ष जस्तै नयाँ वर्ष (२०७८ साल) मा पनि पुँजी बजार सकारात्मक हुनेमा लगानीकर्ताहरु आशावादी देखिएका छन् । हेरौं, के भन्छन् लगानीकर्ता :

छोटेलाल रौनियार
अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम
२०७७ साल नेपाली पुँजी बजारको लागि एकदम सुखद रह्यो । बजार सुधारका लागि धेरै काम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकमले पनि रकर्ड ब्रेक गरेको छ । कोरोनाका कारण सुरुवातको केही महिना सरकारले गरेको लक डाउनसँगै सेयर कारोबार पनि बन्द भयो । यो दुःखद् पक्ष भए पनि यसबाट पाठ सिकेर अघि बढ्नुपर्छ । यसबीचमा पनि सुधारका धेरै काम भएका छन् । अनलाइन कारोबार प्रणालीमा सुधार आएको छ भने अनलाइन प्रयोगकर्ताको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।बैंकको ब्याजदर सिंगल डिजिटमा आउनु पुँजी बजारका लागि सकारात्मक पाटो बन्यो । यही ब्याजदर २०७८ सालमा पनि कायम देखिएकाले बजार अझै माथि जाने र कारोबार रकममा पनि उल्लेख्य वृद्धि हुने अपेक्षा रहेको छ । एनआरएनलाई पुँजी बजारमा भित्र्याउने र बैंकलाई सहायक कम्पनीमार्फत ब्रोकर लाइसेन्स तथा ब्रोकरलाई लाइसेन्स दिएर बजारको दायरा अझै फराकिलो बनाउनुपर्ने अवस्था छ । यसबाट पुँजी बजारको दयारा ग्रामीण भेगसम्म पुर्याउन सहयोग पुग्छ ।
अध्यक्ष, राधा पोखरेल
नेपाल पुँजी बजार लगानीकर्ता संघ
२०७७ साल पुँजी बजारका लगानीकर्ताका लागि एकदम सकारात्मक रह्यो । प्राथमिक र दोस्रो बजारमा नयाँनयाँ रेकर्ड कायम भए । यही गति २०७८ सालमा पनि कायम रहने अपेक्षा छ । नयाँ साल नेपाली पुँजी बजारमा ५० लाखभन्दा बढी लगानीकर्ता भित्रिने र नेप्से परिसूचक पनि ५ हजारको हाराहारीमा पुग्ने अपेक्षा छ ।तथापि, त्यसका लागि नियामक निकायले धेरै काम गर्नुपर्ने छ । सबैभन्दा पहिले बैंकलाई सहायक कम्पनीमार्फत ब्रोकर लाइसेन्स या त नयाँ ब्रोकरलाई लाइसेन्स दिनुपर्छ । यसको अलावा नेप्सेको अनलाइन कारोबार प्रणाली, सीडीएसको मेरो सेयर सफ्टवेयरमा सुधार गर्न आवश्यक छ ।
Source: nepalipaisa
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x