बेलैमा कोरोना परीक्षण नगर्दा पाएको दु:ख ( लापरबाही नगरौँ )

२०७७ साल मंसिर १ गते मलाई काठमाडौं मेडिकल कलेज, सिनामंगलले कोरोना भाइरस पोजेटिभ भएको रिपोर्ट दियो। कार्तिक २६ गते नै सिन्धुलीबाट काठमाडौं फर्कदै गर्दा मलाई केही गाह्रो भैसकेको थियो। यद्यपि त्यसबेला मैले भाइरस परीक्षण गर्न इन्कार गरेको थिएँ। सुरूमा परीक्षण नगर्नु नि मेरो ठूलो गल्ती भैसकेको थियो। मंसिर १ गतेसम्म आइपुग्दा त मलाई श्वास-प्रश्वासमा समस्या भैसकेको थियो। मैले घरमा स्याचुरेशन हेर्दै र पानीको बाफ लिँदै दुई दिन घरमै बिताएँ। पानीको बाफ लिएपछि स्याचुरेशन बढ्थ्यो र फेरि केही घण्टापछि स्याचुरेशन घट्थ्यो। यस कार्यमा पनि मेरो गल्ती नै भएछ। म सुरुमै अस्पताल भर्ना भैहाल्नु पर्ने रहेछ। मेरो स्याचुरेशन ८७-८८ लगातार देखिन थालेपछि भने म मंसिर ४ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुगेँ। त्यसपछि मेरो तुरुन्त छातीको एक्स-रे गर्दा मलाई कोभिड-निमोनिया भैसकेको रहेछ। मलाई अस्पतालले तुरून्तै भर्ना गर्यो र अक्सिजन सपोर्टमा राखिहाल्यो। मलाई श्वास-प्रश्वासमा झन् गाह्रो हुन थालेको थियो। करिब २४ घण्टानै मैले अक्सिजन लिइरहनु पर्ने अवस्था आयो।

भर्ना हुने बित्तिकै मेरो विभिन्न परीक्षणहरू सुरू भएका थिए। मलाई केही औषधिहरू पनि चलाउन थालिएको थियो। सुरुमा मुखबाट नै औषधिहरू दिइएको थियो। खाने कुरा भने पटक्कै खान मन लाग्दैन थियो। अस्पतालमा सरकारले कोभिड बिरामी उपचारको लागि हाम्रो देश अनुसार राम्रो उपचार व्यवस्था गरेको थियो तर बाथरुममा प्रयोग गर्ने पानी भने धमिलो आउँथ्यो। बिरामीले खाएको भाडा आफैले माझ्नु पर्ने ठाउँ पनि फोहोर थियो र त्यहाँ पनि धमिलो जस्तो देखिने पानी नै आउँथ्यो। खानको लागि भने उमालेको पानी कित्लीबाट थर्मशमा हालिदिने गरिन्थ्यो। सायद, पानीको कन्टामिनेशन भएर होला मलाई मंसिर ६ गतेबाट पखाला सुरू भयो र यो निरन्तर भई नै रह्यो। मलाई जीवनजल र मुखबाट खाने पखालाको औषधि चलाइयो तर पखाला रोकिएन। उता श्वास-प्रश्वासमा समस्या झन् बढ्दो थियो। तीन लिटरको रेन्जमा अक्सिजन चलाइएको थियो। म धेरै डराएको थिएँ। भोलिपल्टबाट मेरो हातमा क्यानला बनाइयो र नसाबाट औषधिहरू पठाउन थालियो। त्यसदिन राति दुई पटक मलाई ज्वरो आयो र लुगाहरू पसिनाले लफ्रक्क भिजे। सिस्टरले आएर ज्वरो नाप्नु भयो। ज्वरो १०२ फरेनहाइटभन्दा माथि रहेछ। तुरुन्तै नसाबाट फेरि सायद ज्वरोको औषधि चलाइयो। म निदाउन सकिरहेको थिइनँ। अक्सिजन सप्लाई बिग्रिने होकि भनेर डराएर पनि मलाई निदाउन मन लाग्दैन थियो। औषधि दिएपछि मलाई केही पनि थाहाँ भएन। म ब्युँझदा भने पुन: शरीर भिजेको थियो। उठेर लुगा फेर्ने हिम्मत नै भएन। सिस्टरले सघाउनु भयो। सिस्टरहरू कसैको नाम भने थाहा छैन तर साह्रै सहयोगी हुनुहुन्थ्यो। कोही पनि कहिल्यै झर्को नमान्ने।

दशौँ घन्टा पिपिईमा बस्दा कस्तो गाह्रो हुन्छ होला? जुत्ता पनि पिपिई मै जोडिएको हुँदो रहेछ। कति गुम्सन्छ होला मान्छे त्यसभित्र? कत्ति उकुसमुकुस हुँदो हो त्यसरी दशौँ घण्टा पिपिई भित्र बस्दा? अनुहार पनि नदेखिने। सिस्टरहरूको त ढाडमा नाम लेखेको पनि नहुने रहेछ। टेकु अस्पतालको सरसफाई भने राम्रो थियो। डिस्इन्फेक्फन स्प्रे दैनिक हुन्थ्यो। फ्लोर वास पनि पटक-पटक हुन्थ्यो। स्प्रे गर्दा भने मेरो नाकमा इरिटेशन हुन्थ्यो। मेरो ज्वरो भोलिपल्ट पनि घटेन। स्याचुरेशन पनि बढ्दै नबढ्ने। डा. अनुप बास्तोला दैनिक आउनु हुन्थ्यो करिब दिनको १२-१ बजे तिर बिरामी हेर्न। उहाँको ढाडस दिने स्टाइल मलाई खुब मन पर्दथ्यो। मैले सुतेर लिइरहेको अक्सिजन निकालेर उहाँले मलाई बस्न लगाउनु हुन्थ्यो र उहाँले नै लिएर आएको ठूलो मेसिनबाट मेरो स्याचुरेशन हेर्नु हुन्थ्यो। हातले ढाडमा मजाले थमथम्याउनु हुन्थ्यो र भन्नु हुन्थ्यो- ‘तपाई डराउनु भएको छ रे भन्ने सुनेको छु। पटक्कै डराउनु पर्दैन। पानी सकिन्छ भने घरबाट मगाएर खानु होला।’ उहाँसँग उपचारको लागि एउटा टिम नै आउथ्यो। उहाँको अनुहार भने मैले पछि घर आएपछि टिभीमा देखेको हुँ। पिपिई लगाएको ढाडमा भने डा. अनुप भनेर लेखिएको हुन्थ्यो। उहाँ आउँदा मलाई साह्रै आनन्द आउँथ्यो। धेरै कुरा बोल्न तयारी गरेर बस्थेँ तर बोल्न भने सक्दैन थिएँ। मेरो ज्वरो नघटेपछि एक दिन अगाडि नै मलाई डाक्टरबाट रेमडिसिबर औषधि सिफारिस गरिएको रहेछ। यो औषधि मंहगो पर्ने भएकोले तयारीको लागि अगाडि नै बिरामीका आफन्तलाई जानकारी गराइने रहेछ। तर भोलिपल्ट मलाई त्यो रेमडिसिबर औषधि चलाइएन। पछि बुझ्दा रगत बाक्लो भएर क्लटिङ फ्याक्टर बढ्ने संभावना बढेकोले त्यो निर्णय रद्ध गरिएको रहेछ। त्यसपछि मलाई पेटमा हेपाडिन भन्ने एक किसिमको सुई लगाउन थालियो। नसाबाट भने डेक्सोना, क्यालभुलानिक, एजिथ्रोमाइसिलिन, एमोक्ससिलिन आदि के-के धेरै औषधि चलाइन्थ्यो।

एउटा कुन हो औषधि त सायद २० एमएलभन्दा बढी हुन्थ्यो एकपटक लगाउँदा। लगाउने बेलामा साह्रै दुख्ने पनि। अरू सपोर्टिङ औषधिहरू पनि थिए एन्टीहिस्टामिनिक, ब्रोन्कोडायलेटर आदि एलर्जी र आस्थामाको। म दशौँ वर्षदेखिको फेरेन्जाइटिसको बिरामी हुँ। पछिल्लो केही वर्षदेखि ब्रोंकियल आस्थामाको पनि। यद्यपि मलाई यी रोगहरू सामान्य नै लाग्दथे। तर कोभिडमा भने यी रोगहरू झन् खतरा हुने रहेछन्। म आस्थालीन र फोरेकोट तान्न भने नसक्ने अवस्थामा थिएँ। दुई दिनपछि मलाई फेरि रेमडिसिबर चलाउन डाक्टरले सिफारिस गर्नु भयो तर मेरो लिभर फङ्सन टेष्टमा धेरै पोजेटिभ देखिएपछि त्यो निर्णय पनि क्यान्सिल गरिएछ। योबीचमा मेरो धेरै परीक्षणहरू गरिएका रहेछन्। डेङ्गो, मलेरिया, डि डाईमर, स्कर्बटाइफस आदि र अन्य थुप्रै। धेरै रगतहरू पाखुराबाट पटक-पटक निकालेर लगिन्थ्यो। कतिपय कुराहरू मैले बुझ्ने कुरा पनि थिएन। मलाई खाना खान भने पछिसम्म पनि पटक्कै मन लाग्दैन थियो। म ट्वाइलेटसम्म जान सक्दैन थिएँ। श्वास बढेर हिँड्नु नै हुँदैन थियो। ब्रस गर्न मन लाग्दथ्यो तर मुख कुल्ला गर्न सक्दैन थिएँ। उठेर बस्न खोज्थेँ तर सक्दैन थिएँ। डाक्टरले भन्नु हुन्थ्यो- ‘घोप्टो परेर सुत्नु।’ म मुस्किलले घोप्टो पर्थेँ र अक्सिजनको पाइपको साथ घाँटीलाई ठाडो पार्ने कोशिश गर्दथेँ। आफन्तहरूलाई भित्र आउन निषेध गरिएको थियो। मलाई कहिलेकाहीँ डर लाग्दथ्यो। पछि-पछि दिउँसो गेट बाहिर भेट्न आउने आफन्तहरू देख्दा खुसी लाग्दथ्यो तर बाहिर जान मुस्किल हुन्थ्यो। मुस्किलले दुई मिनेट हेरेर फर्कन्थेँ र भित्र पसेर अक्सिजन लिइहाल्थें। म अस्पताल भर्ना भएको दुई दिनमा शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत दुई जना डाक्टरहरूको कोभिडकै कारण देहवसान भएको थियो। यो कुरा मैले सिस्टरहरूले आफू-आफू कुरा गर्दा त्यही नै थाहा पाएको थिएँ। जसले मलाई थप चिन्तित बनाएको थियो।

म डरले गर्दा समाचार केही पनि हेर्दैन थिएँ। हेर्ने अवस्थामा पनि थिइनँ। मैले भर्ना भएको दुई दिनपछि डाक्टर अनुपलाई भनेको थिएँ- ‘म घर जान्छु। मलाई डिस्चार्ज गरिदिनुस्। म यहाँ बस्दिनँ।’ डक्टरले मलाई सम्झाउनु भएको थियो, अहिले घर जानु हुँदैन भनेर। अर्को दिन पनि उहाँले त्यही कुरा सम्झाउनु भएको थियो। कस्तो अचम्म! शरीरमा यस्तो गाह्रो भाको छ तर घरै जान मन लाग्ने। परिवारकै याद आउने।सातौँ दिनबाट मेरो अक्सिजनको पाइप छुट्यो। मेरो स्वास्थमा राम्रो सुधार भएको मलाई अनुभव भयो। मलाई नसाबाट दिइएका औषधिहरू सबै हटाइए।डाक्टर अनुपले मलाई श्वास-प्रश्वासको एउटा अभ्यास पनि सिकाउनु भयो यद्यपि अनुपाले मलाई यस्तै अर्को अभ्यास अगाडि नै सिकाएकी थिइन् तर मैले गर्न सकेकै थिइनँ। बीचमा मेरो दुई पटक स्वाब परीक्षण गरिएको पनि थियो।नवौँ दिन बिहानै मेरो छातीको एक्सरे गरियो। करिब दिनको १ बजेतिर डाक्टर अनुप आउनु भयो र भन्नु भयो- ‘तपाई आज घर जाने है।’ मेरो मन साह्रै खुसी भयो। उहाँलाई धन्यवाद दिएँ।उहाँको प्रतिक्रिया अनुहार तथा शरीरमा देख्न सकिएन किनकि उहाँ पिपिईमा हुनुहुन्थो तर ढाडमा मजाले थपथप्याएको भने अझै ताजै छ।नवौँ दिनमा घरमा आएर ऐना हेर्दा म निक्कै दुब्लाएको रहेछु। अनुहार जिंग्रिंग परेको रहेछ। केही औषधिहरू थिए। आस्थालिन र फोरेकोट तान्न सक्ने भैसकेको थिएँ। स्पाइरोमेट्री पनि दिइएको थियो।सुरूमा फुक्न गाह्रो भएपनि एक हप्ता जतिमा सबै बलहरू माथि उचाल्न सक्ने भइसकेको थिएँ। मजाले भोक जागिसकेको थियो। तर कन्फिडेन्ट्ली हिँड्न सक्दैन थिएँ। विस्तारै अभ्यास गर्दै गएँ। सम्झनाहरू पनि क्रमिकरुपमा ताजा हुँदै जान थाले।

निको भएपछि धेरै दिनसम्म त्यो पीडालाई सम्झन मन लाग्दै लागेन। वास्तवमा म यसलाई सधैँको लागि बिर्सन चाहन्थेँ। मैले दैनिकजसो लेख्दै आएको कोभिड डायरीमा पछिल्ला अपडेटहरू केही टिपोट गर्ने कोशिश गरिरहे पनि आफ्नै पीडा भने पटक्कै सम्झने मन थिएन। डिस्चार्ज हुने दिन म रोएको थिएँ। बैनीले भनेकी थिई- ‘के रोएको है तँ, अब घर गएपछि तैले फेरि डायरी लेख्नुपर्छ। अब त पुरै विशेक भैसकिस्।’त्यसबेला अनुपालाई पनि कोभिड पोजेटिभ भएको थियो। त्यो पनि सिम्टमेटिक नै थियो। त्यस्तो बेला पनि उनले पीडा र त्राश बोकेरै पनि उपचारको राम्रो व्यवस्थापन गरिन्। सबैलाई आफ्नो पीडा नै ठूलो हुन्छ। तर उनले त्यसबेला आफ्नो पीडा सायद कसैसँग सेयर गर्न पनि पाइनन्। त्यसको लागि क्षमाप्रार्थी छु।बैनी दीपाप्रति धेरै आभारी छु। सम्पूर्ण गुरूजन, आफन्तजन र साथीभाइहरुको माया-ममता र आड-भरोसाप्रति कृतज्ञ छु। अहिले म पूर्णत: ठिक छु। सम्झनाहरू सम्पूर्ण ताजा छन्। शरीरमा कुनै समस्या छैन। ती दिनहरू सम्झँदै यो लेख लेखिरहेको छु। अहिले देशमा भाइरस संक्रमण पुन: तीव्र भएको छ। यो पटक पहिलेभन्दा झन् खतरा हुने संकेतहरू देखिन थालेका छन्। अस्पताल सिस्टमले काम गर्न नसक्ने अवस्था आउन सक्ने स्थिति देखिन्छ।तसर्थ हामी आफै सचेत हुने बाहेक अब कुनै विकल्प छैन। मैले त्यसबेला अस्पतालमा पाएको उपचार र सुविधा अब सजिलै पाउन कठिन हुनसक्छ। भाइरस पनि त्यसबेलाको भन्दा अहिलेको झन् कडा छ रे।तसर्थ: हामी सबै सचेत बनौं।स्वास्थ्य सम्बन्धी मापदण्डहरु पूर्णरूपमा अनुशासित भएर पालना गरौँ।

Source: setopati

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x