श्रृङखलाबद्ध राजनीतिक कार्यक्रम : लामो दूरीका सवारीलाई राहत, छोटो दूरीकालाई आहत

२९ माघ, काठमाडौं । पछिल्ला दिनमा देशभर संसद विघटनको पक्ष र विपक्षमा दैनिक राजनीतिक कार्यक्रमहरु हुँदैछन् । काठमाडौं, विराटनगर, जनकपुर, चितवन, बुटवल, दाङ, सुर्खेत र धनगढी लगायत सहरमा विभिन्न दल र सूमहका आमसभा, विरोध कार्यक्रम, कार्यकर्ता भेला लगायतका कार्यक्रम भइरहेका छन् ।

यसबाट लामो तथा मध्यम दूरीमा चल्ने बसका धनीले राहत पाएका छन् । शहरभित्र चल्ने सवारीले भने सास्ती ब्यहोर्न परेको छ ।

दलहरुले शक्ति प्रदर्शन गर्ने होडबाजीमा हजारौंलाई गाउँबाट शहर र शहरहरुबाट अन्य शहरहरुमा लैजाने गरेका छन् । यसले सार्वजनिक बसहरुमा यात्रु बढेका छन् ।

सरकारी तथ्यांकअनुसार देशभर लामो तथा मध्यम दूरीमा चल्ने करिब एक लाख सार्वजनिक सवारी साधन छन् । शहरभित्र र छोटो दूरीमा चल्ने सवारी डेढ लाखभन्दा बढी छ । चैतदेखि दशैंअघिसम्म थन्किन पुगेका सार्वजनिक सवारीको सेवा तथा व्यवसाय विस्तारै लयमा फर्किँदै थिए ।

यहीबेलाको राजनीतिक घटनाक्रमले यातायात व्यवसायमा नयाँ खालको परिस्थिति सिजना गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् ।

‘साना र मध्य पुँजी भएका व्यवसायी फेरि राजनीतिक तरलताको शिकार हुने अवस्था आएको छ’, उनी भन्छन्, ‘राजनीतिक कार्यक्रम बाक्लिँदा लामो दूरीमा चल्ने सवारीले राहत पाएपनि छोटो दूरीका सवारी धनीहरु आहत भएका छन् ।’

लामो दूरीका बसलाई राहत

जनकपुर-काठमाडौं रुटमा बसहरु चलाउने व्यवसायी सुधिर लामा अहिले पार्टीहरुले कार्यकर्ता र समर्थक ओसार्न बस रिजर्भ गरिरहेको बताउँछन् । यसले महामारीमा बस थन्काउँदा भएको घाटा पूर्ति गर्न सघाउने उनको विश्वास छ । पटक-पटक बस रिजर्भमा पठाउन पाउँदा बसका मजदुरले पनि नियमित काम पाएको उनले बताए ।

विभिन्न शहरमा राजनीतिक कार्यक्रम हुँदा मध्यम रुटमा चलिरहेका बसले पनि सिटभरी यात्रु पाउन थालेका छन् । कार्यक्रम हुनुभन्दा एक दिनअघि र एक दिनपछिसम्म बसमा यात्रुको चाप बढ्ने गरेको छ ।

‘नियमित रुटमा चल्दा पनि खाली-खाली बस दौडाउन परेको छैन, दलका कार्यक्रममा तीनपटक रिजर्भ बस पठाइँसकेँ’ व्यावसायी लामा भन्छन्, ‘गाडी गुडेपछि राम्रो भएको छ ।’

लामो तथा मध्यम दूरीमा चल्ने बसलाई सञ्चालन खर्च उठाएर व्यवसायमा टिकिराख्न राजनीतिक कार्यक्रमले सघाएको ठूला बस सञ्चालक कम्पनीका व्यवसायीहरु बताउँछन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महसचिव सरोज सिटौला महामारीपछि लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधनको आवागमन २० प्रतिशत घटेको बताउँछन् । यही बेला राजनीतिक कार्यक्रम बढ्दा बस व्यवसायीले सामान्य राहत पाएको उनले बताए ।

‘मालामाल नै त भएको हैन, यात्रु पाउन थालिएको छ,’ उनी भन्छन्, ‘महामारीमा खिया लागेका बसहरु चल्न पाउनु नै खुसीको कुरा हो ।’

 

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x