नेपाली शेयर–बजारप्रति दृष्टिबिहीनको प्रेरणादायी दृष्टिकोण

रुपन्देही जिल्लामा जन्मेका मुकुन्द चालिसे नेपाली शेयर बजारमा परिचित नाम हाे। नेपाली शेयर बजारलाई नै व्यवसाय स्वीकारेका चालिसे २०६७ सालदेखि निरन्तर रुपमा लागिराखेका छन्। उनी यसैमा भविष्य उज्वल देख्छन्।यहाँसम्म आइपुग्दा फरक भोगाईहरुको एउटा पृथक कथा छ उनीसँग, जुन कथा नेपाली शेयर बजारप्रति आकर्षित जुनसुकै लगानीकर्ता वा अझ भनौ नयाँ लगानीकर्ताको लागि भने प्रेरणदायी हुन सक्छ। आफ्नो इच्छाशक्ति प्रति सर्मपित भएर मेहनेत गरे सफल हुनलाई कुनैपनि सीमा, बाधा वा अड्चनले छेक्न सक्दैन भन्ने एक जीवन्त उदाहरण हुन् उनी।प्रकृतिले जन्मदै भौतिक दृष्टिबाट बन्चित गरे पनि चालिसेले सुनसरी जिल्लाको श्री पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय धरानबाट आधारभूत शिक्षा पुरा गरे। त्यसपछि शान्ति नमुना स्कुलबाट एसएलसी पुरा गरेर चालिसेले पृथ्वी नारायण क्याम्पस पोखराबाट कलेजसम्मको अध्ययन पूरा गरे। त्यही बेलादेखि उनले संसारलाई बुझ्ने आफ्नै दृष्टिकोण बनाए उनले।शारीरिक रुपमा फरक क्षमता भएका चालिसे २०६७ सालभन्दा पहिले नेप्से घट्यो/बढ्यो भन्ने मात्र समाचार सुन्ने गर्थे। शेयर कारोबार भनेको के हो? र कसरी हुन्छ? भन्ने बारेमा जानकारी थिएन तर पनि उत्सुकता भने थियो। त्यसैले, उनी नेप्से घट्यो बढ्यो भन्ने समाचार सुन्नेमा मात्र सीमित भएनन्।क्याम्पसमा सँगै साथीको प्रेरणाले कन्ट्री डेभलपमेन्ट बैंकको १०० कित्ता प्राथामिक शेयर खरिद गरेर शेयर बजार पहिलो पाईला चालेका चालिसेले २०६८ सालमा नेपाल टेलिकमको १०० कित्ता शेयर खरिद गरेर दास्रो बजारमा प्रवेश गरे। त्यसपछि शेयर बजार र यसका बारेमा अध्ययन गर्न र लगानी गर्नमा रमाउन थालेका चालिसे बिस्तारै बिस्तारै शेयर बजारलाई नै आफ्नो व्यवसाय बनाउन थालेको बताउँछन्।यतिबेला उनी नेपाल पूँजीबजार लगानीकर्ता संघको रुपन्देही जिल्लाका संयोजक छन्। चालिसे व्यक्तिगत लगानी र नाफा–नोक्सानको परिधिबाट फड्को मारी समग्र पूँजीबजारको विकासमा लागि परेका छन्। शेयर बजारमा लगानी गरी स्वआर्जन मात्र नगरेर शेयर बजार विकास र आफू जस्ता दृष्टिबिहिन लगानीकर्तालाई समेत बजारमा प्रवेश गराउन अहोरात्र खटिएका छन्।

जीवनका भोगाई र कठिनाईहरुःशैक्षिक क्षेत्रमा भएका यावत कठिनाइहरुलाई चिर्दै व्यावसायिक जीवनमा प्रवेश गर्दाका असंख्य भोगाईहरु छन् उनीसँग। अपांगमैत्री हुन नसकेको बजार प्रणालीमा शेयर खरिद–बिक्री गर्नको लागि धेरै झन्झट ब्यहोर्नु परेको तीता अनुभवहरु चालिसेसँग छन्। उतिवेला आईपीओ खरिद गर्ने स्थानसम्मको लामो यात्रा घण्टौ बस्नुपर्ने लाईन फारम भर्नुपर्ने चुनौती र फारममा हस्ताक्षर गर्नेले मात्र आईपीओ खरिद गर्न पाउँछ भन्ने जस्ता नमिठा व्यवहारबाट आहत भएका अनुभवहरु छन् उनीसँग।आईपीओमा आवेदन गर्नबाटै बञ्चित भएको अवस्थालाई चिर्दै अहिलेकाे अवस्थासम्म आईपुग्दा  विजयको अनुभव गर्छन् चालिसे। यसैगरी दोस्रो बजारमा कारोबार गरी राफसाफ गर्न हस्ताक्षर प्रमाणित गर्नुपर्ने व्यवस्थाले ल्याप्चे मार्फत कारोबार गर्ने लगानीकर्ता काठमाडौ नै धाउनु पर्ने बाध्यताले पनि हताेत्साही पारेकाे थियाे उनलाइ।त्यतिबेला बैंकबाट रकम भुक्तानी हुदैनथ्यो। ल्याप्चे मार्फत बैंकको चेक नचल्ने भएकाले दृष्टिबिहीनहरुले ठूलो रकम साथमा लिएर जोखिम मोलेर हिड्नुपर्ने अवस्था थियो। यस्ता समस्या सामान्य नागरिकहरुलाई विस्तारै प्रविधिले न्यूनिकरण गरेको छ। तर दृष्टिबिहीन भएकै कारण बैकिङ्ग कारोबार गर्दा व्यहोर्नु पर्ने कठिनाई अझैपनि कम हुन नसकेकोमा चालिसेलाई दुख लाग्ने गरेको छ। उनी भन्छन् मोबाईल बैकिङ्ग इन्टरनेट बैकिङ्ग चलाउन सकिन्छ तर बैंकहरुले हामीलाई विश्वास गर्दैनन्।उनी भन्छन् जसोतसो आफूले त ग्लोबल आईएमई बैंकबाट मोबाइल बैंकिङ्ग र कनेक्ट आईपिएसको सुविधा लिएँ तर आफू जस्तै दृष्टिविहीन लगानीकर्ताहरुलाई सहजै बैकिङ्ग सुविधा नपाएर विविध कठिनाई व्यहोर्नु परिरहेको छ”। लगानीकर्ताको रुपमा प्राप्त अनुभवको विषयमा उनी भन्छन् ‘२०७२/७३ मा केही कम्पनीको हकप्रद शेयरको पछि लाग्दा एक–दुईवटा कम्पनीमा आफ्नो लगानी नराम्रोसँग फसेको छु। त्यसैले उनी हकप्रदको पछि लागेर लगानी नगर्न सचेत गराउछन्। यदि कुनै कम्पनीले हकप्रद निष्काशन गर्दैछ भने कम्पनीको अवस्था कस्तो छ? कम्पनीको खराब अवस्थाको कारणले हो कि वा पूँजी वृद्धिको लागि हो भन्ने जस्तो विषयमा बुझेर मात्र लगानी गर्नु उपयुक्त हुने उनको धारणा छ।

कसरी गछर्न कारोबार? नेपाल स्टक एक्सचेञ्जको ट्रेडिङ्ग म्यानेजमेन्ट सिस्टम (टिएमएस) अपाङ्गमैत्री नभएको कारणले चालिसेले अफलाईन कारोबार गर्ने गरेका छन्। अनलाईन कारोबार गर्न टिएमएसमा कोल्याट्रल लोड गर्न र अन्य फिचरहरु चलाउन समस्या हुने गरेको उनी बताउँछन्।पहिले पहिले समाचारहरु सुनेर कम्पनीको बारेमा जानकारी प्राप्त गर्ने चालिसे हालका दिनमा प्रविधिको विकास भएसँगै आएका मोवाइल एप्लीकेशनको सहयोगमा सूचीकृत कम्पनीहरुको आधारभूत विश्लेषण गर्ने गरेका छन्। प्राविधिक विश्लेषण गर्न आफुलाइ सम्भव नभएपनि प्रविधिको सहयोगले कम्पनीहरुको आधारभूत अध्ययन गर्न पाउदा भने उनलाई खुशी लाग्ने गरेको छ। राम्रोसँग विश्लेषण गरेर लगानी गर्ने हो भने शेयर बजारबाट आत्मनिर्भर हुनसक्ने अवस्था रहेको चालिसेको विश्वास छ।

कम्पनीको स्थापनाः चालिसेको अग्रसरता र अगुवाईमा ३२ जना दृष्टिबिहिन लगानीकर्ताहरुको सामूहिक लगानीमा “समृद्ध नेपाल प्रा.लि. नामक कम्पनी स्थापन गरेका छन्। जसको उद्देश्य शेयर बजारमा लगानी गर्ने र आफू जस्तै लगानीकर्ताहरुलाई सचेतना तथा प्रशिक्षणका कार्यक्रम गर्ने योजना रहेको छ। यस कम्पनी स्थापनाको सान्दर्भिकतालाई नीतिगत रुपमा सुधार हुँदै आएको नेपाली बजारको गति अझै बढ्ने र छिट्टै नेप्से सूचक पनि वृद्धि भई उच्च विन्दुमा चढ्दै सबै नेपालीको पहुँचमा पुग्ने विश्वाससँग जोडेका छन्।

सरोकारवाला निकायहरुसँगको अपेक्षा शेयर बजारमा अपाङ्गमैत्री प्रविधिको विकास, दृष्टिविहीन लगानीकर्ताहरुलाई प्रविधिमा समान पहुँच र ग्राह्यता दिनु राज्य र सम्बन्धित निकायको दायित्व हो भन्ने उनको भनाई छ। दृष्टिबिहीन भएकै कारण शेयर बजारमा कारोबार गर्नको लागि विभिन्न कठिनाईहरु व्यर्होनु परेको छ। अपाङ्ग भएको कारण नै प्रविधिको उपयोगमा विभेद छ। शेयर कारोबारमा प्रयोग हुने सबै पूर्वाधरमा सबै किसिमका लगानीकर्ताको पहुँच पुग्ने व्यवस्था अविलम्ब होस भन्ने चालिसेको जोड छ यसैगरी बैंकहरुले दृष्टिबिहीन र औँठाछाप लगाउने लगानीकर्ताहरुलाई अनलाईन कारोबार गर्ने सुविधा दिएका छैनन्। झनै यो बन्दा–बन्दीको समयमा मोबाइल बैकिङ्ग इन्टरनेट बैकिङ्ग कनेक्ट आईपिएस मेरोशेयर जस्ता सुविधाबाट दृष्टिबिहीन लगानीकर्ताहरु  कारोबार गर्नबाट पूर्ण रुपमा बञ्चित छन्।प्रविधि चलाउन नजान्ने सामान्य नागरिक जसले हस्ताक्षर गर्न सकेकै आधारमा अनलाईन मोबाइल बैंकिङ्ग कनेक्ट आइपिएसको सुविधा सहजै पाउने गरेको छन्। तर आफूजस्ता दृष्टिबिहीनले प्रविधि राम्रोसँग चलाउन जान्दा जान्दै पनि यो सुविधा नपाउदा अचम्ति छन् उनी। प्रविधि चलाउन सक्छु भन्ने दृष्टिबिहीनहरुको लागि यस्ता सुविधामा पहुँच दिनुपर्ने उनको जोड छ। दृष्टिबिहीन लगानीकर्ताहरुको लागि मर्चेन्ट बैंकले सहजरूपमा डिम्याट खोल्न दिनुपर्ने सिडिएससिले मेरो शेयर नेप्सेले टिएमएस र बैंकले मोबाइल र इन्टरनेट बैंकिङको सुविधा दिनु पर्ने माग चालिसेकाे छ।सम्बन्धित नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले दृष्टिबिहीनहरुको लागि शेयर बजार तथा बैकिङ्ग कारोबारसँग सम्बन्धित प्रविधिमा पहुँच पुर्याउन ठोस कदम चाल्नुपर्नेमा उनको जोड छ।

बजारबारे बुझाई र दृष्टिकोणः अहिले बजार बुलिश ट्रेन्डमा रहेको छ। कसैले बजारबाट धेरै कमाई गरेको देखेर लहलहैमा लाग्नु भन्दा पनि बजारको बारेमा राम्रोसँग बुझेर मात्र प्रवेश गर्न उनी सुझाउँछन्। बजारको भविष्य अझै धेरै राम्रो छ। आफूले गरेको लगानीको व्यवस्थापन र धैर्यता हुने लगानीकर्ताको भविष्य राम्रो हुने उनको विश्वास छ। बजारमा अरु कसैले कमायो भनेर भन्दा पनि इच्छा शक्ति बलियो बनाएर प्रवेश गर्नुपर्नेमा उनको जोड छ। बजारमा धैर्यता र दीर्घकालीन योजना बनाएर प्रवेश गर्ने हो भने आत्मर्निभर हुन सकिने उनको विश्वास रहेको छ।अझै पनि राजधानी केन्द्रित रहेको शेयर बजारले दूर–दराजका लगानीकर्ताहरुलाई समेट्न सकेको छैन। पूँजी बजार र समग्र अर्थतन्त्रको विकासका लागि यसको व्यापकता जरुरी हुने भएको हुँदा  ब्राेकर र बैंकहरूले शाखाहरुको बिस्तार गरेर गाँउ–गाँउबाट शेयर बजारको सहभागिता बढाउनु पर्ने र हाल भएका ब्रोकरहरुरलाई पनि अझ प्रतिस्प्रर्धी बनाउनु पर्ने उनको भनाई छ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x