समाचार बन्न पनि मृत्यु नै हुनुपर्ने रहेछ!

‘उफ! लास्टै गलियो यार आज’ मनमनै गुन्गुनाएँ। मुखको चुकुलभन्दा पहिला कोठाको ढोका खोलेँ। घ्याचक्क गर्दै खुल्यो ढोका। यति भव्य र फराकिलो संसारमा आफन्तको मन जस्तै संकुचित र साघुँरो छ कोठा पनि।

कोठाको पूर्वपट्टि छ एउटा दराज। दराजमाथि लडिरहेछन् तीन/चार थान सुटकेश। सँगै जोडिएको छ, एउटा सानो टेबल। टेबलमाथि छरिएका छन् विनोद चौधरीको आत्मकथा, सुविन भट्टराईको समर लभ, अमर न्यौपानेको सेतो धरती। रोबेर्ट टि कियिसाकियोको रिच ड्याड पुअर ड्याड।

टेबलको बीच भागमा छ एउटा सानो नेपालको झन्डा। दराजको अपोजिटमा साइडमा राखिएको छ एउटा फलामको तीन तले खाट। त्यही खाटको दोस्रो तल्लामा छ मेरो विछ्यौना। त्यहाँ चढ्ने जाँगार पटक्कै छैन। सधैँ ड्युटीबाट फर्किनेबित्तिकै विस्तारामा पुग्नै हतार हुन्थ्यो। आज न हतार छ न जाँगर। कहाँ हरायो त्यो हतारो, कता पुग्यो मेरो जोश र आँट?

पहिलो पटक कोरियन भाषाको रिजल्ट आउट हुनेबित्तिकै कति खुसी थिएँ। आज न खुसी छ न उल्लास छ? उफ! चैतमासको खडेरीमा रोपिएको बिरुवाजस्तो भयो जिन्दगी।

सधैँ कामबाट आउनै बित्तिकै बाथरुम छिर्थेँ। फ्रेस हुन्थेँ। टिकटिक र फेसबुकमा रमाउँथेँ। आज कतै पनि रमाउन सकिनँ। मन खुसी भए मात्र संसारै रमाइलो लाग्ने रहेछ। तर मनको रमाइलो अब कुन दुनियाँमा खोज्नु?

ऐया! कति धेरै दुखेको ज्यान पनि। हुन त कोरियामा मेरा पाँच हिउँद यसैगरी बिते। जवानीका रहरलाग्दा पाँच वसन्त खेर गए। मृत्युको क्यालेन्डरबाट पाँच वर्ष घट्यो। पाँचवटा दशैँतिहार छुटे। अनि पाँचै वर्ष भयो मेरो रहरको अन्त्येष्टि भएको।

खाना पकाउन जाँगर चलेन। सँगैको साथी प्रेमिकासँग भिडिओकलमा मस्त छ। एउटै कोठामा भएर हामीबीच सुखदुखको संवाद हुँदैन। भर्चुअल जिन्दगी निकै साघुँरो लाग्छ।

रमाइलो त घर बस्ने बेलामा नै हुन्थ्यो। थोरै काम गरेर थकाई लाग्दा पनि आमाले मायाले सुम्सुम्याउनु हुन्थ्यो। थाकेको दिन खाना नखाई सुतेँ भने उठाएर खाना खुवाउनु हुन्थ्यो। हरे! यता त तातोपानी तताएर दिने मान्छे पनि कोही छैन।

आफैँसँग बाँच्ने आफैँभित्र मर्ने बानी लागेछ। शरीरमा थकान त थियो नै, त्योभन्दा बढी मनको थकान थियो। खाना खानलाई खास जाँगर चलेन। कोरियन चाउचाउलाई तातोपानीमा डुबाएँ।

टावेल लिएर बाथरुम छिरेँ। के नुहाउनु? किन जाँगर चलाउनु? जति सफा भएपनि प्रियसीको एक स्पर्श पाइने होइन। दोस्रो तल्लामा बित्ने त हो नि मेरा जवानीका अत्यासलाग्दा रातहरू।

नुहाउन जाँगर चलेन। हात मुख पखालेँ। रुम पुगेर चाउचाउ खाउँ। आफ्नो दुई तले खाटमा चढ्न लागेँ। गोडा फतक्कै गले। सधैँ सुत्ने विस्तारा सगरमाथाभन्दा अग्लो लाग्यो। मान्छेहरू किन उचाइका लागि मरिहत्ते गर्छन् होला? मलाई त यो उचाइ नै भारी लाग्यो। धेरै कष्टपछि विस्तारमा पुगेँ।

सम्झिएँ, पहिलो पटक कोरियन भाषामा नाम निस्कँदा नजिकका सबैलाई सुनाउन भ्याएथेँ। गुगल म्याम्पमा कोरिया हेरेपछि मेरो मुटुको घड्कन तीव्र गतिमा धड्किएको थियो।

तस्बिरमा कोरियाको भव्य महल देखेर म फ्लाइट हुने दिन कुरेर बसेको थिएँ। कम्ता रमाइलो लागेको थिएन। पाँच वर्ष कोरियालाई भोगेपछि थाहा भयो, भ्रमबाट मुक्त हुन वास्तविकतामा पुग्नुपर्दो रहेछ।

नेपाल हुँदा सोच्थेँ- ठूलो महलको कतिऔँ तलामा होला मेरो कोठा? लिफ्ट चढेर पो जानुपर्ने होला कि? तर कोरिया आएपछि आकाश छुने महलमा मेरो हैसियत र अस्तित्व खोजेँ। कतै पनि भेटिनँ। छि! आफ्नो अस्तित्व नभएको सहरमा कसरी बाँच्नू?

मान्छेहरू बाँच्नुको परिभाषा केलाई दिन्छन् होला! सास फेर्नु, नमर्नु, जिउँदो रहनु या आफ्नो अस्तित्व रहनु? आँखा रसाए, एक बारको जिन्दगी पनि के जिउँदो लास सरह बाँच्नु खै?

घरमा फोन नगरेको दुई दिन भएथ्यो। फोन आयो। ड्युटीमा छु भनेर राखिदिएँ। फोन राखेपछि हिक्का छुट्यो। म आफूभित्र जति खरानी भएपनि बाहिर हराभरा देखाउन चाहान्थेँ। प्रायः परिवारको अगाडि आँसु र दुःखको कहानी सुनाउन मन लाग्दैनथ्यो।

युट्युबमा आफ्नै गतिमा गीत बजिरहेथ्यो- आँसु पिएर बाँच्ने विवश मेरा कथा छ…

बाल्यकालयदेखिका स्मृति मानसपटमा उथलपुथल भए। मोजाको बल बाकेर आँगनीमा दौडिएकोदेखि दशैँमा लिंगे पिङ हालेको सम्झना एकपछि अर्को गर्दै तरंगित भयो।

कवि रावतको एउटा कविता सम्झेँ,
जसरी
छोडेर गएका थियौ
खाँदा खाँदैको आधा गाँस
गोड्दा गोड्दैको आधा पाखो
रुँदा रुँदैको आधा आँसु
हो, त्यहीबाट सम्बोधन गरिरहेछु तिमीलाई …

यिनै कविताको छालले एक पटक तरंगित बनाइदियो। कस्तो भयो होला, मेरो गाउँ? ऐसेलु र काफल फल्न छाडे होलान् कि नाइँ?

म कोरिया आउँदा यो कम्पनी निकै सानो थियो। म यहाँ आएपछि यो कम्पनीले थप अरु दुईवटा ब्रान्च विस्तार गर्यो। पहिला थोरै कामदार थिए। पछि विदेशी चालिस पचास जना कामदार पनि थप्यो। चार/पाँच वटा नयाँ गाडी किन्यो।

हेर्दा हेर्दे आँखै अगाडि कम्पनीले अग्रगामी छलाङ हान्यो। तर मैले भोट दिएर आएको मेरो देशको हालत अझै पनि उस्तै छ। हाम्रा नेताले सधैँ भन्ने गरेको कायापलट, उथलपुथल अग्रगामी छलाङ, सबै हाम्रो कम्पनीमा मात्रै देखेँ।

विकास निर्माणको लागि सभा सम्मेलनमा हजारौँ कार्यकर्ता, पार्टी झन्डा मात्र होइन हातमा औजार र मनमा विश्वास लिएर विकास र समृद्धिको लागि उठ्नुपर्छ। भाषणले मात्र कहाँ देश बन्छ र?

आज कम्पनीमा एक्कासी धेरै अर्डर आयो। त्यो पनि भोलि बिहानै पठाउनु पर्ने। त्यही भएर मेसिनको आवाजभन्दा चर्को स्वरमा मेनेजर करायो।

‘नेइल आच्छिमे फोनेया दे खुरेस चोकुम हिमदुरदो याल्सिमि पाल्लिपाल्लि हे’ (यो सामान भोलि बिहानै पठाउनुपर्ने छ। त्यसैले अलिकति गाह्रो भएपनि मेहनतसँग छिटोछिटो काम गर।)

त्यसपछि बटारिए मेसिनका मिटरहरू। अघि ६० मा दौडिरहेको मेसिनको स्पिड ८० मा पुग्यो। मेसिनको स्पिडसँगै बढे मेरा हात र खुट्टाका चालहरू। पाँच दिन लाग्ने काम पाँच घण्टामा ओभर टाइमपछि सकियो।

काम गर्ने बेलामा ज्यान थाकेर सधैँ ओभर टाइम काम नभएपनि हुन्थ्यो जस्तो लाग्छ। तर तलब आएको दिन मन खिन्न लाग्छ। हुन त हामी यहाँ पैसा कमाउन मात्रै आएका हौँ। हाम्रो पैसा कमाउने बाहेक अन्य के नै उद्देश्य छ र?

राति केले घाँटी थिचेजस्तो लाग्यो। चिच्चाउन खोजेँ सकिनँ। हातगोडा चलाउन खोजेँ चलेनन्। निकैबेरसम्म छट्पटाएँ।

बिहान आठ बजेबाट सुरु हुन्छ कम्पनीको काम। आजसम्म एक कल फोन गरेर उठाइदिने कोही छैन र पनि उठ्न अलार्म लगाउनु परेको छैन। जिम्मेवारी र परदेशी हुनुको पहिचान नै सबैभन्दा ठूलो अलार्म रहेछ। यहाँ आएदेखि मन भरुन्जेल निदाउन पाएको छैन। मभन्दा पहिला मेरा डर र बाध्यता उठ्छन्।

त्यो बिहान म उठिनँ। साहुले तीन पटक फोन लगायो, म अझैँ पनि उठिनँ। रिसले फनफनिँदै मेरो कोठामा आयो। चिच्चाएर बोलायो, मेरो सिरक उचालेर काँधमा घचघचायो। म अझैँ उठिनँ।

उसले एकोहोरो मेरो आँखातिर नियाल्यो। आँखा चिम्म गरेर आकाशतिर हेर्यो। गोजीबाट मोबाइल निकाल्यो। आफ्नै भाषामा फोन गर्यो। म भने चुपचाप उसको हर्कत हेरेर सुतिनै रहेँ।

एकैछिनमा एम्बुलेन्स आएर मेरो कोठा नजिकै रोकियो। पुलिसहरु आए। एउटै कोठामा बस्ने साथीहरूलाई मेरो बारेमा सोधे। उनीहरूले केही बताउन सकेनन्। विज्ञान र प्रविधिले समीप भएर कति साह्रै मान्छेको दूरी बढाइदिएछ। मैले त्यही बेला बुझेँ।

खातामा के-के लेखेजस्तो गरे। पुलिसले इसारा गर्यो। त्यसपछि मलाई गाडीमा बसाइयो। साइरन बजाउँदै हस्पिटल लाग्यो। अहो! मेरो भाग्य सउलको सहरमा साइरन बजाउँदै पुलिसको स्कटिङमा डौडन पाएँ।

यति फराकिलो ठाउँमा म कोरिया आएदेखि निदाउन पाएको थिइनँ। कति ठूलो भाग्य, सानो कोठाबाट हस्पिटलको यति ठूलो बेडमा निदाउन पाएँ। चेकजाँचपछि डाक्टरले मलाई मृत घोषणा गरिदियो। अब हरेक बिहानमा मैले कहिल्यै पनि उठ्न परेन। निद्रा मृत्युको सानो रुप हो अनि मृत्यु निद्राको लामो रुप हो। अब म आनन्दले निदाउन पाएँ।

साहुले ट्वाल्ल परेर मेरा आँखामा हेर्यो। म मेरो देशमा भएको भए। मेरो मृत्युले रुने कति हुन्थे होलान्? यहाँ मेरो कोही थिएन। मेरो मृत्युमा कसैका पनि आँखा भरिएन। कसैको पनि हृदय चर्किएन। हरे, यो कस्तो मृत्यु कुकुर बिरालोको जस्तो। मलाई परदेशमा मर्न पटक्कै मन थिएन। मेरो आत्माले मजदुर हुनुमा आफैँलाई धिकार्यो।

मृत्युको खबर सउलदेखि पूरै कोरियाभरि फैलिएछ। नेपालीको मृत्युको खबर आएपछि दुतावासदेखि यहाँ अवस्थित विभिन्न संघ संस्थाका केही प्रतिनिधि र कम्पनीको साउबीच मेलमिलापपछि पोष्टमार्टमको तयारी गरियो।

एउटा मामूली मजदुरसँग उसका रहर र सपना बाहेक के नै हुन्छन् र?

बाकसमा भरिएर नेपाल पुग्ने हैसियत मसँग थिएन। साथीहरूले सहयोगका लागि रकम जुटाउन थाले। मलाई सुरक्षितसँग हस्पिटलको शव गृहमा पठाइयो। त्यहाँ म हजारौँ लासहरूको चित्कार मात्र सुन्थेँ। नेपाली आवाज पनि मिसिएर मेरो कानमा ठोकिन्थे।

मेरो मृत्युको खबर चैतको डढेलो सरी फैलिएछ। कोरियामा रहेको एनआरएन, एनसीसीदेखि सम्पूर्ण राजनीतिक, क्षेत्रीय र जिल्लासम्मका सबै संघ संस्था हुँदै नेपालसम्म पुगेछ। सामाजिक संजालभरि मेरा तस्बिर छरिएछ। श्रद्धाञ्जली अर्पण यसरी भयो कि मानौँ, म देशको विशिष्ट मान्छे हुँ। मेरो मृत्युले देशलाई अतुलनीय क्षति पुग्यो।

साथीहरूले मसँग अन्तिम पटक भएको कुराकानीको स्क्रिनसटदेखि सँगै बसेका फोटोहरू पोष्ट गर्न भ्याइसकेछन्। जसले मलाई आजसम्म लामो आयुको कामना गरेर जन्मदिनमा शुभकामना समेत व्यक्त गरेका थिएनन्।

मैले चिनेकादेखि नचिनेकासम्म कहिलेकाहीँ बोल्नेदेखि कहिल्यै नबोल्नेसम्मआफ्नो जिल्लादेखि परदेशसम्मका सबैले मलाई हार्दिक श्रद्धाञ्जली, भावपूर्ण श्रद्धाञ्जली चिर शान्तिको कामना, रिपदेखि मृत्युमा दिइने सम्पूर्ण श्रद्धाञ्जली र समावेदनामा व्यक्त गर्ने शब्दहरू लेखेर फोटो पोष्ट गर्न भ्याएछन्।

मलाई आफन्तहरूले कोरियामा गएर सधैँ कति कमाइस् भन्थे। आज ती सबै देखाएर यी मैले यति धेरै साथीहरू कमाएँ भन्न मन लाग्यो। साथीहरूको अपार माया देखेर गर्वले छाती भुक्क फुल्यो।

श्रद्धाञ्जलीहरूकै भिडमा मेरो नजर टक्क एक्सको श्रद्धाञ्जली पोष्टमा गएर अडियो। उसले लेखेकी थिई। मलाई विश्वासै लागेको छैन यो खबर झुटो होस्। अनि मलाई लाग्यो। संसारमा कोही मान्छेहरू कहिल्यै विश्वास नगर्ने हुँदा रहेछन्।

उसले बाँचुन्जेल मेरो प्रेम, सम्मान, समर्पण साथ र मेरो आँसुलाई कहिल्यै विश्वास गरिनँ। आज उसले मेरो मृत्यु जस्तो अन्तिम सत्यलाई पनि विश्वास गर्न सकिनँ। तर कताकता माया त गर्दी रहिछे भनेर म आफैँभित्र मुस्कुराएँ।

एक कान दुई कान मैदान हुँदै मेरो मृत्युको खबर घरसम्म पुगेछ। साथीहरूले आर्थिक संकलन गरेर दश दिनको दिन मेरो शरीर अस्पतालबाट उठाएर एयरपोर्ट पुर्याए।

नेपालका ठूलादेखि साना अनलाइनहरूले मेरो मृत्युको खबर छाप्न भ्याइसकेछन्। कोरियामा सुतेको सुत्यै भए एक नेपाली। च्याउ सरी उम्रिएका अनलाइन मिडियाहरूले फरकफरक हेडलाइन र फोटोमा मेरो मृत्युको व्यापार गर्न भ्याएछन्।

कति हतार छ है मान्छेलाई अरूको मृत्युको समाचार छाप्न? के मृत्यु बाहेक अरू कुनै समाचार हुँदैन। म सउलको माइनस २४ डिग्रीमा काम गर्दा कसैले पनि मेरो पीडाको समाचार छापेनन्। अहिले मृत्यु हुन नपाउँदै अनलाइनहरूमा भव्यसँग समाचार आयो।

एक मजदुर जसको रगत र पसिनाले देश बनेको छ, ऊ समाचार बन्न मृत्यु नै हुनुपर्ने रहेछ। तर एकाएक आफू भाइरल बनेको देखेर मनमा आनन्द लाग्यो।

इन्छन् विमानस्थलबाट कोरिया एयरलाइन्सको जहाज मेरो शव बोकेर उड्यो। नेपालबाट आउँदा राम्रोसँग बस्न पनि नमिल्ने सिटमा बसेर आएको म फर्किँदा आनन्दले सुतेर भिआइपी कक्षको भीआइपी सिटमा आनन्दले उड्न पाउँदा उत्साहित भएँ।

कोरिया छोड्दा नेपालीहरूले मेरो लासको बाकसमाथि टन्नै फूल मालाहरू राखिदिएका थिए। आजसम्म कहिल्यै सम्मानित भएर एउटा माला लगाउन नपाएको म यति धेरै खादा र मालाले गर्व महशुस गरिरहेको थिएँ। अनि सोचेँ, एउटा मजदुरले फूलमाला लगाउन मृत्यु नै कुर्नुपर्ने रहेछ। यो सबै अवसर मैले परदेशमा मृत्यु भएको कारणले मात्र पाएको थिएँ।

आमाको दुखमा आँसु पुच्छु, बाबाको बुढेसकालको साहारा बन्छु, देश विकासमा सहयोग गर्छु भन्ने आश राखेर रातो टीका लगाएर घरबाट निस्किएको म आफैँ रातो बाकसमा लास भएर फर्कनुपर्यो।

सोच्दासोच्दै जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो। विमानस्थलको बाहिर निकालेपछि म अचम्मित भएँ। त्यहाँ मजस्तै दुबई, कतार, साउदी मलेसिया लगायतका देशहरूबाट आएका सयौँ बाकसहरू थिए। तर उनीहरूलाई सम्झाउने न त राज्य पक्षका कोही मान्छे थिए न त सरकारका पक्षका।

शव बुझ्न आएका आफन्तको रुवाबासी चल्यो। ठूली दिदी मेरो लासमाथि टाउको राखेर भक्कानिएर रुन थाल्नुभयो।

अनलाइनका पत्रकारहरू क्यामेरा बोकेर दिदीको अगाडि उभिए। ‘अजयसँग तपाईँको अन्तिम कुरा कहिले भएको थियो?’ दिदी बोल्न खोज्दै हुनुहुन्थ्यो। पत्रकार नै अगाडि बढेर बोले। ‘नेपाल आउँदा तपाईलाई के ल्याइदिन्छु भन्नुभएको थियो?’

दिदीका हिक्का छुटे, पर्लक्कै भुइँमा पल्टनु भयो। उनीहरूले नयाँ कन्टेन्ट भेटे। भाइको शव बुझ्न गएकी दिदी एयरपोर्टमा बेहोस।

मेरा आफन्तहरूले कसैले ओप्पो निकाले, कसैले आइफोन। शवको बाकस नजिकै उभिएर फोटो खिचे। क्याम्पसन राखे, कोरियामा मृत्यु भएको अजयको शव नेपाल आइपुग्यो।

कसैले लेखे, आँखामा नबिझाउने मान्छेले छोडेर गयौ। विवाहको शुभकामना दिने बेलामा श्रद्धाञ्जली दिनपर्यो, दैवको नियति!

मलाई त्यतिबेला लाग्यो, यो संसारबाट मानवता भन्ने कुरा हराइसकेछ। ठूला मिडियाका पनि पत्रकारहरू आए। फोटो खिचे। दिदीलाई बोल्न लगाए। छिमेकीहरूले आफ्नो धारणा राख्दै थिए। त्यसमा सानो मिडिया पनि मिसियो क्यामेराहरू थपिए।

एउटा युट्युबर बोल्यो, ‘अजयको मृत्यु कसरी भयो होला?’ छिमेकी काकाले मुख खोले। ‘विदेश गएपछि मान्छे परिवर्तन हुन्छ भन्छन्, खै राति सुतेको सुत्यै भयो भन्छन्, धेरै रक्सी खाएर पो सुत्यो कि?’

अर्को दाइले भने, ‘विदेशमा के भर! कतै केटी पो थिई कि, उसैको पिरले मर्यो होला कि?’

अर्को एकजनाले भन्यो, ‘राति झ्यालढोका थुनेर एसी चलाएर सास फेर्न नसकेर मर्यो कि?’

मेरो भतिजले भन्यो, ‘फेसबुकमा अंकलले सधैँ स्याड स्टाटसहरू लेख्नु हुन्थ्यो, धोका पाएर आत्महत्या पो गर्नुभयो कि?’

सबैले आफ्नो तर्क र धारणा राखे। कसैले पनि भनेनन्, यसले दिनमा सत्र अठार घन्टा काम गर्थ्यो। कामको चापले मर्यो होला?

युट्युबरले हेडलाइन बनाए- कोरियामा मृत्युको भएको अजयको काकाले दिए यस्तो बयान, खुल्यो मृत्युको रहस्य। प्रेमिकाको कारणले कोरियामा आत्महत्या गरे एक नेपालीले।

त्यतिबेला भने एउटा मृत शरीरमा पनि डलर देख्ने युटुबेदेखि झनक्क रिस उठ्यो। मेरो आवाज गुमिसकेको थियो। नत्र मैले बताइदिने थिएँ सबै मृत्युको रहस्य। बाकसभित्रबाट जुरुक्क उठेर भन्न मन लाग्यो- के यही हो त राष्ट्रको चौथो अंगको धर्म?

विमानस्थलमा एउटा कुराको भने अभाव खड्कियो। त्यहाँ न त मैले भोट दिएर जिताएको प्रतिनिधि उपस्थित थिए। न त सरकारको कुनै प्रनिनिधि।

मलाई भने ममाथि चढाएका सबै मालाहरू सरकारका प्रधानमन्त्री र हाम्रो क्षेत्रबाट हामीले जिताएर पठाएको नेताको गालामा लगाइदिएर धन्यवाद दिँदै भन्न भन्न लाग्यो, स्याबास् तिमीहरूलाई हाम्रो भोटको यति ठूलो उपहार दियौ।

जनताका निर्दोष भावनामाथि बलात्कार गर्यौ। हजारौँ सहिदले प्राणको बली दिएर ल्याएको गणतन्त्रको धज्जी उडायौ। रंगीन सपना बोकेर प्रवाशिएका हजारौँ युवा रातो बाकसमा आउने वातावरणको सिर्जना गर्यौ।

अब युवाको शवमाथि तिमीहरूले कस्तो राष्ट्रियता खोज्छौ? अबको चुनावमा कसरी जनताको सामु जान्छौ? आफ्नो स्वार्थ त्यागेर कहिले देश र जनताको पक्षमा कहिले बोल्छौ? हरेक दिन परदेशबाट आउने युवाको सवको अगाडि कुन मुख देखाउँछौ? रेमिट्यान्सले कतिन्जेल तिम्रो देश चल्छ?

हरेक दिन काठको बाकसमा आउने युवाहरूको चित्कार यो देशको सरकारले कहिले सुन्छ? के देशको युवा शक्तिभन्दा ठूलो रेमिट्यान्स हुन्छ? राष्ट्रियताभन्दा माथि सम्पति हुन्छ? हरेक दिन प्रवासमा ज्यान गुमाएका युवाहरूले मनले यो देशको सुख नेपाली सम्बृद्ध नेपालको नारालाई कति धिकार्छ होला? देश, आमा र राष्ट्रियताभन्दा माथिल्लो स्थानमा सम्पति राखिदियौ। तिमीहरूलाई त भगवानले पनि माफ गर्ने छैनन्।

म शव बनेर बाकसमा पसेपछि मेरो घरको महत्व बुझेँ। घर बस्ने ठाउँ मात्र नभएर हाम्रो पहिचान र अस्तित्व दुवै रहेछ।

मेरो घरलाई केन्दबिन्दु बनाएर शवको बाकस उठ्यो। बाकसलाई फुट्छ कि जसरी जतनले जीपमा राखे। वरिपरि आफन्त र गाउँले ढाकेका थिए। म बीचमा सुरक्षितसँग निदाइरहेको थिएँ। शव बोकेको जीप एयरपोर्टबाट, सिनामंगल, कोटेश्वर, भक्तपुर, बनेपा धुलिखेल हुँदै भकुण्डेबेसीतिर हुइँकियो।

लासमा पनि डलर देख्ने डलरवादी युटुबेले बेलाबेलामा मेरो फोटो खिचेर फेसबुसमा राख्थ्यो। छिनछिनमा लाइक कमेन्ट पनि हेर्न भ्याउँथ्यो। उसले महशुस गर्न सकेन मेरो परिवारले मलाई गुमाउँदाको पीडा? यिनीहरू खुब जानेका रहेछन् पीडा र इमोसनसँग खेल्न!

बाँच्नको लागि पैसा कमाउनुपर्छ, त्यो आवश्यकता पनि हो। तर यसरी अरूको व्यक्तिगत भावनमाथि बलात्कार गरेर पैसा कमाउन कसैलाई पनि नपरोस् भनेर भगवानसँग कामना गरेँ।

गाडीमा मेरो वरिपरि बस्नेहरू, कहिले खित्का छोडेर हाँस्थे। कहिले प्रेमिल कुरा गर्थे। हाम्रो परिवारको खुसी नचाहने र प्रगतिमा डाहा गर्नेहरुलाई मेरो मृत्युले सबैभन्दा ठूलो सफलता दिलाएको थियो। फेरि अर्को मनले सोचेँ, संसारमा हरेक चिजको मृत्यु निश्चित छ। कसैले पनि समयसँग घमण्ड नगरे हुन्छ। बाबा आमा र मेरो परिवारको रंगिन सपना तहसनहस भयो।

मुलखर्क जीप रोकियो। सबैले आफ्नो इच्छा अनुसारको खाना खाए। खाना खाने बेलामा कसैले पनि मलाई सम्झेनन्। आलु फ्राई, माछा फ्राई, वियर सुकुटी सबैले पेट भरुन्जेल खाए। दोब्बरको बिल बनाए। मैले चुपचाप उनीहरुको क्रियाकलाप नियालिरहेँ।

गाउँले र आफन्तले पेट भरुन्जेल खान पाए। युट्यबरले कन्टेन्ट पाए। मेरो बाबाआमाले छोरा पाएर आँसु उपहार पाउनु भयो। देशले एउटा नागरिकको शव उपहार पायो।

त्यतिबेला सम्झिएँ, कति साथीहरूले आइफोन भनेका थिए, कतिले ल्यापटप। दिदीबहिनी, साथीभाइ र आफन्तले विभिन्न उपहारहरू माग गरेका थिए। मैले कसैलाई पनि केही ल्याइदिन पाएको थिइनँ। तर कसैले पनि गुनासो गरेनन्। मलाई लाग्यो परदेशीको मृत्यु र लास नै यो देशको आफन्तको लागि सबैभन्दा ठूलो उपहार हुने रहेछ।

खाना खाएपछि वीपी राजमार्गमा जीप दौडिन थाल्यो। सबैले भन्थे, शवलाई आजै लगेर जलाउनुपर्छ। गाडीको स्पीड बढाउनुस्। म चसक्क हुन्थेँ। पाँच वर्षपछि घर आउँदा पनि मन भरुन्जेल बस्न नपाउने भएँ। आमाको काखमा लुटपुटिदै रमाउन नपाउने भएँ।

बर्दिबास पुग्दा अँध्यारो भइसकेको थियो। जीप आफ्नै रप्तारमा डौडियो। रातभरको यात्रापछि झिसमिस उज्यालो हुँदा घर पुगियो।

बाबा मलिन अनुहार। मैलो कछाड, च्यातिएको टोपी लगाएर आँगनीको डिलमा बस्नुभएको रहेछ। झोलाभरि सामान बोकेर घर आउने बेलामा बाकसभित्र भरिएर आउँदा बाको मन कस्तो भएको हुँदो हो। मैले अनुमात्र लगाउन सकेँ।

आउँदा बाटोमा खाना खाजा खाएको बिल आफन्तीले बाको हातमा राखिदिए। बाको हात निकै थरथराएको थियो। म मर्दा मात्रै मरिनँ। मेरो बाबाको भरोसा, शक्ति, बुढेसकालको साहारा सबै मर्यो। आफैँलाई बैतर्णी तार्ने, कुल जोगाउन भनेर चार दिदीपछि जन्मेको छोरालाई आफैँले बैतर्णी तारिदिनुपर्दा उहाँको मनमा के बिझ्यो होला?

बाका ओठमा कलेटी परेका थिए। उहाँ अरुको अगाडि कमजोर नदेखाउन मात्रै उभिनु भएको थियो। एकैछिनमा युट्युबरले क्यामेरा निकाले। स्ट्यान्ड ठड्याए र बाबालाई प्रश्न सोध्न थाले। चार वटी छोरी जन्मेपछिको छोरो आँगनमा मृत अवस्थामा लडेको छ। त्यस्तो व्यक्तिसँग अन्तार्वार्ता लिएर कमाएको पैसा उसले कुन हातले समाउँला? म त छक्कै परेँ!

भिडमा आमा देखिनु भएन। छिमेकीले खासखुस कुरा गर्थे। आमा बेहोस हुनु भएको छ। नहुनु पनि कसरी, चार वटी छोरी जन्माएपछिको छोरो बाकसमा आयो।

मेरी आमाको लागि म एउटा छोरो मात्र थिइनँ, छोरा पाउन नसक्ने भनेर आफन्तले बिल्ला गर्दा आमालाई जोगाउने भरोसा थिएँ। समाजको नजरमा हाँसोको पात्र बनाउनबाट जोगाउने लाइसेन्स थिएँ। आमामाथि पर्न सक्ने सम्भावित सौता र अन्य खतरालाई रोक्ने एउटा पर्खाल थिएँ।

आमाको त्यो पीडा मैले कल्पना मात्र गर्न सकेँ। महशुस त एउटी आमाले मात्र गर्न सक्छिन्। आफ्नो आड भरोसा सबै सकियो। अनि कहाँ छ त मेरी आमाको खुसी हुने अरू आधार?

आँगनमा राखेको बाकस खोलेर एकजना छिमेकीले मुख हेर्न हतार गरे। यसो हेरेँ को होला त मेरो मुख हेर्न यति हतार गर्ने मान्छे? उनी उनै छिमेकी रहेछन्। जसले सानो झगडामा यसको मुखै हेर्न नपरोस् भनेर मलाई मन भरिने गरी वचन लगाएका थिए।

त्यसपछि अर्का छिमेकी पनि मलाई हेर्दै बोले- ‘कठै बरा! अहिले नै उठ्ला जस्तो। कति मोटाएको रहेछ। गाला पनि पुटुक्क परेका रहेछन्। मिल्ने भए मेरो सास पैँचो दिएर बचाउँथे।’

म नेपालमा नै केही गर्छु। यतै हराभरा बनाउँछु। मलाई अलिकति सापट दिनुस भन्दा उनले जिन्दगीलाई पुग्ने वचन लगाएका थिए। आज उनको सास पैँचो दिने कुराले मलाई भने हाँसो लाग्यो।

घरको वरिपरि एकदमै भिडभाड थियो। मिल्ने जतिले मेरो नजिक आएर सेल्फी खिचे। भिडभाडमा सबैले मेरो तारिफ गरेको सुनेँ। गाउँकै उज्यालो निभ्यो। आँखामा नबिझाउने मान्छे थियो। राम्रो मान्छेलाई दैवले चुँडेर लैजान्छ भन्थे हो रहेछ। यस्तै गुन्गुनाउँदै थिए।

सबैको तारिफ गरेको सुनेर बाँच्नुन्जेल कहिल्यै आनन्द र सुखको सास फेर्न नसकेकामा आनन्दको सास फेर्न खोज्दै थिएँ, त्यतिबेलै मेरो नाकमा कपास राखिदिए। एउटा मजदुर बाँच्नुन्जेल मात्र होइन, मरेपछि पनि आनन्दको सास फेर्न नपाउँदो रहेछ।

हिन्दु संस्कारअनुसार सबै काम सकियो। लास उठाउने बेलामा बाको अगाडि क्यामेरा तेर्सियो। अजको अन्तिम बोली याद छ? बा केही बोल्न सक्नुभएन। आमालाई नदेखेको पाँच वर्ष भएको थियो। अन्तिम पटक पनि देख्न पाइनँ। आमाको होस खुलेकै रहेनछ।

घरमा बस्न रहर पुगेको थिएन। ढिला भयो भनेर घाटतिर लैजान लागे। मैले अन्तिम पटक पनि घरमा सुस्ताउन पाइनँ। घर पुग्ने हतारोले पाँच हिउँदको तुसारो सहेँ।

मलाई उठाएर घाटतिर लैजान सुरु गरे। घरलाई अन्तिम पटक नियालेँ। मेरो मनभन्दा पनि छियाछिया भएको रहेछ। घाटमा पुर्याए। चिता तयार पारे। मलामीहरूले उठाएर चितामा उठाए। बाबाको हातमा आगो थमाइदिए।

बाबाले मेरो मुखमा आगो झोस्न मात्रै के लाग्नुभएको थियो। मोबाइलको घन्टी बज्यो। म त झल्यास्स ब्युँझेछु। साहुले गरेको रहेछ। अहो! कति नमिठो सपना।

जुरुक्क उठेँ। ढिला भयो भने फेरि म्यानेजर कराउँछ। हिजो लगाएको गनाउने जुत्ता मोजा लगाएर हतार-हतार कम्पनीतिर लागेँ।

source:setopati

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x