हेर्नुहोस् मुख्य सूचकहरु , जीवन बिमा कम्पनीहरुको कस्तो छ प्रगति ?

काठमाडौं : सूचीकृत १० जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट आएका कम्पनीहरुले औसतमा राम्रो प्रगति गरेको देखिएको छ । अधिकांश कम्पनीको नाफा, प्रतिसेयर आम्दानी खुद बिमा शुल्कलगायतका प्रमुख सूचकहरुमा विस्तार भएको छ । पुँजी सबैभन्दा बढी भएको नेपाल लाइफ प्रमुख सूचकहरुमा पनि अगाडि आएको छ । त्यस्तै यसै वर्ष आइपीओ जारी गरेका ३ कम्पनीले पनि आक्रामक रुपमा बजार विस्तार गरेका छन् ।   कम्पनीहरको नाफा जीवन बिमा कोष रिजर्भ लगायत अन्य महत्वपूर्ण पक्षलाई हेर्दा सँगै चुक्ता पुँजीलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । अब हेरौं कुन जीवन बिमा कम्पनीको अवस्था अहिलेसम्म कस्तो ?
चुक्ता पुँजीमा नेपाल लाइफ अगाडि
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै चुक्ता पुँजी नेपाल लाइफ इन्सुरेन्सको रहेको छ । नेपाल लाइफको चुक्ता पुँजी ३१% ले बढेर ७ अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा ९ वटा कम्पनीको चुक्ता पुँजी बढेको छ भने एसियन लाइफको चुक्ता पुँजी गत वर्षकै यथावत अवस्थामा रहेको छ ।

८ कम्पनीको जगेडा कोष बढ्यो
चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा ८ वटा जीवन बिमा कम्पनीको जगेडा कोषमा वृद्धि देखिएको छ । यसअवधिमा प्रभु लाइफ इन्सुरेन्सको जगेडा कोष सबैभन्दा धेरै बढेको छ । एक वर्षको अवधिमा यसको जगेडा कोषको आकार १३०.४५% ले बढेर ३६ करोड ६० लाख ६४ हजार रुपैयाँ पुगेको हो ।सबैभन्दा धेरै जगेडा कोष भने नेपाल लाइफ इन्सुरेन्सको १ अर्ब १२ करोड ३४ लाख ३६ हजार रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा ७ कम्पनीको जगेडा कोष बढेको छ भने २ कम्पनीको जगेडा कोष घटेको छ ।

१० वटै कम्पनीको जीवन बिमा कोष विस्तार 
यसअवधिमा १० वटै जीवन बिमा कम्पनीको जीवन बिमा कोष बढेको छ । सबैभन्दा धेरै जीवन बिमा कोष नेपाल लाइफ इन्सुरेन्सको रहेको छ । यसको जीवन बिमा कोषको आकार ३२.२५% ले बढेर १ खर्ब ७ अर्ब ६१ करोड ७७ लाख २४ हजार रुपैयाँ पुगेको छ । बिमा कोषमा सबैभन्दा धेरै वृद्धि भने प्रभु लाइफ इन्सुरेन्सको देखिएको छ । यसको बिमा कोष १८१.९९% ले बढेर १ अर्ब ७६ करोड ५८ लाख २ हजार रुपैयाँ पुगेको छ ।
सबैभन्दा धेरै नाफा कमाउनेमा पनि नेपाल लाइफ 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल लाइफ इन्सुरेन्स अघि रहेको छ । यसले गत वर्षको तुलनामा ८.३६% ले खुद नाफा वृृद्धि गरी ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ पुर्याएको छ । त्यसो त यसको पुँजी पनि सबैको भन्दा बढी छ ।यसअवधिमा १० वटै कम्पनीको खुद नाफा बढेको छ । सबैभन्दा धेरै नाफा बढ्नेमा प्रभु लाइफ इन्सुरेन्स रहेको छ । यसको खुद नाफा १४८.३३% ले बढेर १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।

खुद बिमा शुल्कमा नेपाल लाइफ इन्सुरेन्स अघि
चैत मसान्तसम्म सबैभन्दा धेरै खुद बिमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्सुरेन्स रहेको छ । यसको खुद बिमा शुल्क ३५.४९% ले बढेर २४ अर्ब ९५ करोड ६० लाख ६३ हजार रुपैयाँ पुगेको छ । रिलायन्स लाइफको खुद बिमा शुल्क भने सबैभन्दा धेरै वृद्धि भएको छ । यसको बिमा शुल्क १३१.४२% ले बढेर १ अर्ब ८४ करोड ४९ लाख २७ हजार रुपैयाँ पुगेको छ ।

प्रतिसेयर आम्दानीमा सूर्या लाइफ अघि
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी सूर्या लाइफ इन्सुरेन्सको रहेको छ । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६ पैसाले बढेर १७ रुपैयाँ १५ पैसा पुगेको छ । एक वर्षको अवधिमा ३ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ भने ४ कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । ३ कम्पनीले भने यसै वर्ष आइपीओ जारी गरेकाले अघिल्लो वर्षको प्रतिसेयर आम्दानी वित्तीय विवरणमा समावेश छैन ।

Source: nepalipaisa

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x