सेयर बजारको अवस्था यस्तो छ ,साथै (म्युचुअल फन्ड के हो, कसरी लिन सकिन्छ फाइदा ? हेर्नुहोस् )

काठमाडौं : सेयर बजार सूचक नेप्से बिहीबार सामान्य वृद्धि भएको छ । खरिदबिक्री रकम पनि औसतमा राम्रो देखिएको छ । यो समाचार तयार पार्दासम्म (करिब १ः१० बजे) नेप्से सूचक ७ अंक भन्दा बढीले वृद्धि भएको छ । ४ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । बजार केही अस्थिरजस्तो पनि देखिएको छ । सूचक तलमाथि गर्नेक्रम जारी रहेको छ । केही दिनदेखि लगातार बढेको बजार बुधबार भने घटेको थियो । अल्पकालीन कारोबारीले नाफा बुक गरेपछि बजार केही प्रभावित भएको हो । तथापि बजारमा पर्याप्तमात्रामा क्रेता–बिक्रेता देखिएका छन् । लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनीहरुमा लगानी गर्नुपर्छ ।

यो पनि पढ्नुहोस् :
म्युचुअल फन्ड एक यस्तो लगानी साधन हो जसमा धेरै लगानीकर्ताहरुबाट रकम जम्मा गरिन्छ र सेयर बन्ड तथा अन्य धितोपत्रहरुमा लगानी गरिन्छ । म्युचुअल फन्डमार्फत छरिएर रहेका स–साना पुँजीहरुलाई संकलन गरी लगानीमा रुपान्तरण गर्ने कार्य हुन्छ । योजनाको इकाई बिक्रीमार्फत लगानीका लागि रकम संकलन गरिन्छ । संकलित रकम योजना व्यवस्थापकले विभिन्न क्षेत्रहरुमा लगानी गर्छ । सामूहिक लगानी कोषमा लगानी गर्ने लगानीकर्ताहरु उक्त कोषको पोर्टफोलियोको हिस्सेदार बन्दछन् । तसर्थ, कोषले गर्ने आम्दानी र नोक्सान दुवैमा लगानीकर्ता हिस्सेदार बन्नुपर्ने हुन्छ । आम लगानीकर्तालाई विविधीकरण प्रदान गर्ने सहज र स्थापित माध्यमका रुपमा पनि म्युचुअल फन्डहरुलाई लिने गरिएको छ । म्युचुअल फन्डहरु सन् १९२० देखि नै अस्तित्वमा छन् र लगानीकर्ताका लागि काम गर्दै आएको ट्रयाक रेकर्ड पनि उनीहरुसँग रहेको छ । म्युचुअल फन्डहरु अस्तित्वमा आएको शताब्दी हुन लागे पनि यसप्रति आकर्षण भने पछिल्लो समय मात्र केही बढेको छ । इन्भेष्टमेन्ट कम्पनी इन्स्टिच्युटको एक अध्ययन अनुसार सन् २०२० मा ४५.७% अमेरिकी परिवारले म्युचुअलमा स्वामित्व लिएका छन् । जबकी सन् १९८० मा ५.७% अमेरिकी परिवारले मात्र म्युचुअल फन्डमा लगानी गरेका थिए ।
म्युचुअल फन्डले कसरी गर्छ काम ?
सामान्यतयः म्युचुअल फन्डहरुलाई कोष व्यवस्थापक (फन्ड म्यानेजर) हरुले सक्रिय रुपमा व्यवस्थापन गरिरहेका हुन्छन् । धितोपत्रहरु कहिले किन्ने र कहिले बेच्ने भन्ने निर्णय कोष व्यवस्थापककै अधिनमा रहेको हुन्छ । कोष व्यवस्थापकले सकेसम्म नोक्सान नगरी फाइदा बढाउने किसिमले लगानी रणनीति बनाएका हुन्छन् । तपाईंले म्युचुअल फन्डमा लगानी गर्नु भनेको उक्त फन्ड र त्यसको सम्पतिको हिस्सामा लगानी गर्नु हो । अर्को अर्थमा भन्नुपर्दा तपाईंले फन्डको लगानीमा रहेको सम्पूर्ण पोर्टफोलियोमा लगानी गर्नुहुन्छ । तसर्थ कुनै कम्पनीको सेयर किन्नु र म्युचुअल फन्डमा लगानी गर्नुमा केही फरक छ । सेयर खरिद गर्दा भने तपाईंले सीधै कम्पनीको केही हिस्सामा स्वामित्व लिनुहुन्छ । र त्यसमा आउने उतारचढाव आफैं व्यवस्थापन गर्नुहुन्छ । म्युचुअल फन्डको भाउ खुद सम्पति मूल्य (न्याभ) का आधारमा निर्धारण हुन्छ । न्याभमा म्युचुअल फन्डको पोर्टफोलियोको सम्पूर्ण धितोपत्रहरु समेटिएको हुन्छ । यदि धितोपत्र बाहेक अन्य उपकरण जस्तै: मुद्दति निक्षेप बैंक मौज्दात लगायतमा लगानी रहेको छ भने त्यसलाई पनि फन्डको सम्पतिकै रुपमा लिइन्छ । यसरी आउने कुल सम्पतिलाई फन्डको कुल जारी इकाईले भाग गर्यो भने प्रतिइकाईको खुद सम्पति मूल्य पत्ता लाग्दछ । नेपालमा म्युचुअल फन्डहरुले इकाई निष्कासन गर्दा सामान्यतयः प्रतिइकाई १० रुपैयाँका दरले बिक्री गर्दै आएका छन् । फन्डले कुल कति इकाई जारी गर्ने भनेर सुरुमै निर्धारण गरेका हुन्छन् । फन्डको लगानी पोर्टफोलियोमा मूल्यमा परिवर्तन भइरहने विभिन्न धितोपत्रहरु समेटिने भएकाले खुद सम्पति पनि हरेक दिन परिवर्तन हुने गर्छ ।
म्युचुअल फन्डबाट कसरी हुन्छ आम्दानी ? 
लगानीकर्ताले म्युचुअल फन्डबाट विभिन्न तरिकाले आम्दानी गर्न सक्दछन् । जसलाई यहाँ चर्चा गरिएको छ : लाभांश : सेयरमा जस्तै म्युचुअल फन्डले पनि लगानीकर्तालाई वार्षिक रुपमा लाभांश दिने गर्दछन् । तर सेयरमा बोनस र नगद लाभांश दुवै दिने सम्भावना रहन्छ भने म्युचुअल फन्डमा नगद लाभांश मात्र पाइन्छ । यद्दपि, कतिपय म्युचुअल फन्डहरुले लाभांशलाई पुनः फन्डमै लगानी गर्न पाउने सुविधा पनि दिएका हुन्छन् । पुँजीगत लाभ : यदि कुनै लगानीकर्ताले म्युचुअल फन्डको इकाईलाई फाइदामा बेच्दछ भने त्यसलाई पुँजीगत लाभ भनिन्छ । म्युचुअल फन्डहरु पनि स्टक एक्सचेन्जमा सूचीकृत हुने भएकाले सेयर जस्तै यसको इकाईलाई पनि दैनिक रुपमा खरिदबिक्री गर्न सकिन्छ । न्याभ : फन्डको खुद सम्पति मूल्य (न्याभ) बढ्दा पनि लगानीकर्ताले फाइदा लिन सक्दछन् । सम्पतिको भ्याल्यू बढ्दा फन्डको इकाईको भाउ पनि महंगो पर्दछ । जसका कारण फाइदामा इकाई बिक्री गर्ने मौका मिल्दछ ।
म्युचुअल फन्डका फाइदा तथा बेफाइदा : म्युचुअल फन्डलाई आफ्नो पोर्टफोलियोमा समावेश गर्नुअघि लगानीकर्ताले यसका केही फाइदा र बेफाइदाका बारेमा बुझ्नु आवश्यक हुन्छ । लगानीकर्ताको आफ्नो लगानी रणनीति लक्ष्य र लगानी शैलीले पनि फाइदा हुने वा बेफाइदा हुने भन्ने निर्धारण गरेको हुन्छ ।फाइदा 
व्यावसायिक कोष व्यवस्थापहरुले तपाईंको लगानी व्यवस्थापन गरिदिने हुनाले म्युचुअल फन्डले सरलता र मनको शान्ति प्रदान गर्दछन् । सानो लगानीबाट पनि सुरु गर्न सकिने । एउटै फन्डमार्फत विभिन्न सेक्टर र उपकरणहरुमा लगानी हुने भएकाले विविधिकरणको लाभ लिन सकिने । अधिकांश समय स्थिर मूल्यमा इकाई खरिद गर्न सकिने ।बेफाइदा : व्यावसायिक व्यवस्थापनको काम खर्चालु हुने सम्भावना रहन्छ ।  कोष व्यवस्थापको निर्णयमा लगानीकर्ताको कुनै नियन्त्रण नहुने । तरलताको कमी हुने । म्युचुअल फन्डको प्रकार म्युचुअल फन्डहरु सबै एकै किसिमका हुन्छन् भन्ने सम्झिनु गलत हुन जान्छ । सबै म्युचुअल फन्ड योजनाहरु आ–आफ्नै प्रकृतिका छन् । उनीहरुको उद्देश्य पनि भिन्नाभिन्नै हुन्छ । यहाँ म्युचुअल फन्डका ७ मुख्य प्रकारको बारेमा चर्चा गरिएको छ ।

१. इक्विटी फन्डहरु : इक्विटी फन्डको अधिकांश लगानी स्टकमा हुने गर्दछ र कम्पनीको आकार तथा बजार पुँजीकरणका आधारमा यसको वर्गीकरण गरिन्छ । इक्विटी फन्डलाई ग्रोथ, भ्याल्यू वा ब्लेन्डेड फन्डको रुपमा विभाजन गर्न सकिन्छ । ग्रोथ फन्डले समग्र बजारको भन्दा राम्रो प्रदर्शन गर्नसक्ने सम्भावना भएका कम्पनीहरुको सेयर होल्ड गर्दछन् । यस्तै, भ्याल्यू फन्डमा भने अवमूल्यनमा परेका (अन्डरभ्याल्यूड) कम्पनीहरुको सेयरको बाहुल्यता रहेको हुन्छ । ब्लेन्डेड फन्डले भने ग्रोथ र भ्याल्यू स्टक दुवैको मिश्रण गरेका हुन्छन् । २. बन्ड फन्डहरु : यस्ता फन्डहरुले खास गरी अल्पकालीन वा दीर्घकालीन परिपक्कता (म्याचुरिटी) अवधि भएका बन्डहरु खरिद गर्न लगानीकर्ताबाट रकम संकलन गरेका हुन्छन् । बन्डमा विविधीकरण गर्न चाहने लगानीकर्ताले व्यक्तिगत रुपमा विभिन्न बन्डहरु खरिद गर्नुको सट्टा यस्ता बन्ड फन्डहरुमा लगानी गर्नु उचित मानिन्छ । ३. मनि मार्केट फन्ड : यस्ता फन्डहरु निश्चित आम्दानी भएका म्युचुअल फन्डहरु हुन् जसले न्यून कर्जा जोखिम भएका मुद्रा उपकरणमा लगानी गर्छन् । हाल नेपालमा यस्ता विशेष किसिमका फन्डहरु प्रचलनमा छैनन् । यस्ता फन्डले विशेषगरी अल्पकालीन ट्रेजरी बिल डिपोजिट सर्टिफिकेट लगायतमा लगानी गर्दछन् । यस्ता फन्डहरुले मुख्यगरी तरलता कायम राख्ने तथा सेयरको मूल्य स्थिर राख्ने र लगानीकर्तालाई निश्चित प्रतिफल पनि दिने उद्देश्य राखेका हुन्छन् । ४. ब्यालेन्स्ड फन्ड : हाल नेपालमा ब्यालेन्स्ड फन्डहरुको संख्या पनि बढ्दो क्रममा रहेको छ । यस्ता म्युचुअल फन्डहरुले बन्ड तथा स्टक दुवैमा लगानी गरेका हुन्छन् । यी फन्डहरुले कहाँ कति सम्पति लगानी गर्ने भन्ने विषय सुरुवातमै निर्धारण गरेका हुन्छन् । ५. इन्डेक्स फन्ड : कुनै निश्चित मार्केट इन्डेक्सलाई मध्यनजर गरी यस्ता म्युचुअल फन्डहरु सञ्चालन गरिएको हुन्छ । इन्डेक्स फन्डलाई टार्केट गरिएको इन्डेक्सको प्रदर्शनसँग मेल हुने गरी निर्माण गरिएको हुन्छ । न्यून जोखिम न्यून व्यवस्थापन तथा न्यून लागतमा सञ्चालन हुने भएकाले इन्डेक्स फन्डलाई धेरै लगानीकर्ताले रुचाउने गरेका छन् । ६. सेक्टर वा स्पेसियाल्टी फन्ड : यस्ता म्युचुअल फन्डहरुको लगानी निश्चित इन्डस्ट्री वा मार्केट सेक्टरमा एकत्र भएको हुन्छ । उदाहरणका लागि, रियल स्टेट टेक्नोलोजी वा स्वास्थ्य क्षेत्र । कुनै निश्चित क्षेत्रमा मात्र लगानी गर्ने गरी स्थापना भएको हुँदा यस्ता फन्डहरुमा विविधीकरण भने हुँदैन । तर यस्ता फन्डलाई अन्य फन्ड वा लगानीसँग मिश्रण गरेमा भने लाभ हुने देखिन्छ । यद्दपि नेपालमा भने हालसम्म यस्ता फन्डहरु सञ्चालनमा आएका छैनन् । ७. टार्गेट डेट फन्ड : परिपक्क हुने मिति लक्षित गरी यस्ता म्युचुअल फन्डहरु सञ्चालन हुने गरेका छन् । उक्त समयावधि भित्र यस्ता म्युचुअल फन्डहरुले आफ्नो पोर्टफोलियोमा विभिन्न सम्पतिहरुको मिश्रण गरेका हुन्छन् । समयसँगै यस्ता फन्डहरुको जाखिम बहन गर्ने क्षमता पनि बढ्दै जान्छ । अवकास पाउने बेला भएका लगानीकर्ताहरुका लागि यस्तो म्युचुअल फन्ड निकै प्रभावकारी हुने विश्वास गरिएको छ । Source: nepalipaisa

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x