सेयर बजारमा अन्धाधुन्ध लगानी खन्याउँदै बैंक, जनताको निक्षेप जोखिममा

काठमाडौं । लगानीका अन्य क्षेत्रहरू खुम्चिएसँगै बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा आक्रमक रुपमा कर्जा विस्तार गरेका छन् । यही कारण कोभिड-१९ ले देशको अर्थतन्त्र ठप्प पारेको अवस्थामा पनि सेयर बजारमा भने उछाल देखिएको छ । बैंक तथा वित्तीय संस्थाले नाफा सुरक्षित गर्नका लागि सेयर बजारमा कर्जा प्रवाह बढाएका हुन् । कोभिड १९ का कारण कर्जा लगानीका लागि बैंकहरुको ‘पोर्टफोलियो’ प्रभावित भएपछी सेयर बजार वैकल्पिक माध्यम बनेको थियो । उद्योग व्यवसाय कोभिडले धरासायी भएपछी बैंकिङ च्यानलमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि बैंकहरुले सेयर लगानीकर्तालाई फोन गरेर नै कर्जा लिनका लागि आग्रह गरेका थिए । अधिक तरलताका कारण विगतका वर्षहरूमा भन्दा ३ प्रतिशत सस्तो ब्याजदरमा बैंकहरूले मार्जिन ल्याण्डिङ तथा ओभरड्राफ्ट कर्जा प्रदान गरेका छन् । जसले गर्दा बैंक तथा वित्तीय संस्थाको मार्जिन प्रकृतिको कर्जा र ओभरड्राफ्ट कर्जा बृद्धि निकै उच्च दरमा वृद्धि भएको छ ।

मार्जिन प्रकृतिको कर्जा ८२.३ प्रतिशले बढ्यो
बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा प्रदान गर्ने मार्जिन प्रकृतिको कर्जा ८२.३ प्रतिशतले बढेको छ । चालू आर्थिक बर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको कर्जा ९१ अर्ब ८९ करोड रुपैयाँ प्रवाह गरेको हो । गत वर्ष चैत महिनासम्ममा यस्तो कर्जा प्रवाह ४७ अर्ब ४३ करोड रुपैयाँ भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष २ अर्ब २ करोडले मात्रै मार्जिन प्रकृतिको कर्जा प्रवाह भएको देखिन्छ ।मार्जिन प्रकृतिको कर्जासँगै लगानीकर्ताहरूले ‍ओभरड्राफ्ट कर्जा लिएर सेयर लगानी गर्ने गरेका छन् । ओभरड्राफ्ट कर्जाको वृद्धिदर मार्जिन प्रकृतिको कर्जा पछी दोस्रो स्थानमा रहेको छ । चालू आर्थिक वर्षको ९ महिनामा यस्तो कर्जा १ खर्ब ३४ अर्ब अर्थात २७.५  प्रतिशतले  बढेको छ । ओभरड्राफ्ट कर्जा उद्योग, व्यवसाय, सेवा र अन्य क्षेत्रका लागि प्रवाह गर्ने गरिएको छ । अन्य क्षेत्र अन्तर्गत व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सबैभन्दा ठूलो हिस्सा हुने गरेको छ । गत वर्षको चैत महिनासम्ममा अन्य क्षेत्रमा प्रवाह भएको ओभरड्राफ्ट कर्जा १ खर्ब ६ अर्ब रुपैयाँ रहेकोमा चालू आर्थिक बर्षको सोही अवधिको तुलनामा ५३ अर्ब ६ करोड अर्थात ५३.४ प्रतिशतले बढेर १ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । व्यक्तिगत ओभरड्राफ्ट कर्जामार्फत पनि ठुलो हिस्सा पछिल्लो समयमा सेयर कारोबारका लागि प्रयोग भएको देखिन्छ ।

प्राथमिकता क्षेत्रको बृद्धिदर न्युन
बैंक तथा वित्तीय संस्थाले प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गर्ने कर्जा मार्जिन प्रकृतिको कर्जाको तुलनामा निकै कम प्रवाह भएको देखिन्छ । चालू आर्थिक वर्षको ९ महिनामा कृषि तर्फ १२.६३ प्रतिशत, उर्जामा ५.९७ प्रतिशत, लघु, साना तथा सझौला उद्यम कर्जा ९.२२ प्रतिशत कर्जा लगानी भएको छ । यस्तै कर्जाको प्रोडक्टनुसार हेर्ने हो भने टर्म लोन २२.२ प्रतिशत, बस्तु तथा सेवा आयात कर्जा ४० प्रतिशत, चालू पुँजी कर्जा २०.१ प्रतिशत आवास कर्जा १०.८ प्रतिशत, रियल स्टेट कर्जा १४.७ प्रतिशत र डीप्राइट सेक्टरको कर्जा ३८ प्रतिशतले बढेको छ । हायर पर्चेज कर्जा ५.४ प्रतिशतले घटेको छ । उद्यमशीलता विकास, उत्पादन वृद्धि र रोजगारी सृजना गर्नका लागि प्रदान गरिने सहुलियतपुर्ण कर्जा १ खर्ब ४२ अर्ब ९ करोड, कोभिड १९ का कारण प्रभावित उद्योग व्यवसाय र पेसाको संरक्षणका लागि प्रदान गरएको पुर्नकर्जा १ खर्ब २३ अर्ब २ करोड र व्यवसायीक निरन्तरता कर्जा ४२ करोड रुपैयाँ प्रवाह भएको छ । चालू आर्थिक वर्षको ९ महिनामा कुल ७ खर्ब १५ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाले ५ खर्ब २४ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । सहुलियतपुर्ण कर्जा पुनर्कर्जा व्यवसायिक निरन्तरता कर्जाका बाबजुत पनि बैंक तथा वित्तीय संस्थाले प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह बृद्धिदर मार्जिन प्रकृति र व्यक्तिगत ओभरड्राफ्ट कर्जाको तुलनामा कम देखिन्छ । नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा कृषि विकास बैंकका कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय मार्जिन प्रकृतिको कर्जा प्रवाहबारे बैंकहरुले पुर्नबिचार गर्नुपर्ने बताउँछन् । यो आर्थिक वर्ष मार्जिन प्रकृतिको कर्जामा बैंकहरू आक्रमक देखिएकै हुन् । अब यस बारेमा बैंकहरूले पुनर्विचार गर्ने समय आएजस्तो लाग्छ छ उनले भने तर यो वर्ष मार्जिन कर्जा मात्रै होइन अन्य प्राथमिकता प्राप्त क्षेत्रमा जाने कर्जाको वृद्धिदर पनि बढेको छ ।

न्युन उत्पादकत्व जोखिम उच्च
अस्थिर र पुर्वानुमान गर्न नसकिने नेपालको सेयर बजारमा मार्जिन कर्जा र ब्यक्तीगत ओभरड्राफ्ट मार्फत कर्जा प्रवाह गरेर नेपालका बैंक तथा वित्तीय संस्थाले ठुलै जोखिम उठाएको देखिन्छ । जोखिमको आँकलन नै नगरी मुनाफा कमाउने होडमा आक्रमकरुपमा सेयर बजारमा कर्जा प्रवाह गर्नुले जनताको निक्षेपमा माथि खेलवाड गर्ने काम भएको विज्ञहरू बताउँछन् । भोलि सेयर बजारमा गिरावट आएमा बैंकहरूको कर्जा संकटमा पर्ने देखिन्छ । यसले आक्रमक रुपमा कर्जा विस्तार गरेका बैंकहरूको मुनाफा घट्ने र खराब कर्जाका लागि राख्नुपर्ने प्रोभिजनिङ बढ्ने देखिन्छ । अर्थतन्त्र र पुँजीबजारको विकासमा सन्तुलन कायम हुन नसकेमा उत्पादन र उत्पादकत्वमा ह्रास आउनेछ । नेपाल जस्तो अल्पविकसित मुलुकमा सट्टेबाजी कारोबारबाटै मुनाफा कमाउने होटबाजीले उत्पादनशील क्षेत्र थप निरुत्साहित बन्ने जोखिम बढ्दै गएको छ । नेपालमा दोस्रो बजारमा हुने सेयर कारोबारले उत्पादन बढाउने रोजगारी सृजना गर्ने आर्थिक बृद्धि वा राज्यलाई राजस्वमा ठुलै योगदान गर्ने काम गर्दैन । सेयर कारोबारमा लाभ आर्जन गर्ने लगानीकर्ताले जम्मा ५ प्रतिशत लाभ कर राज्यलाई बुझाउँछन् । जबकी उत्पादनमूलक उद्योग व्यवसाय वा पेसा रोजगारी गर्नेले १५ प्रतिशत देखी ४० प्रतिशतसम्म राज्यलाई कर बुझाउने गरेका छन् । त्यस्तै बैंकमा निक्षेप जम्मा गर्न निक्षेपकर्ताले समेत राज्यलाई १० प्रतिशत ब्याज बापत अग्रिम कर बुझाउने गरेका छन् । अर्थतन्त्रका जानकारहरू दोस्रो बजारमा नियमित कारोबार गर्ने लगानीकर्ता र दिर्घकालिन लगानी गर्ने लगानीकर्ताबीच लिने करको दरमा परिवर्तन गर्नुपर्ने बताउँछन् । नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीको भनाइमा उत्पादनशिल क्षेत्र, रोजगारी, पेसा वा व्यवसायमा संलग्नलाई १५ देखी ४० प्रतिशतसम्म कर लिने तर छोटो समयमा सेयर कारोबार गरेर लाभ आर्जन गर्नेलाई ५ प्रतिशत कर लिनु अनुचित हो । यस विषयमा मैले नेपाल राष्ट्र बैंक तथा सम्वन्धित निकायहरूमा पटक-पटक कुरा राखेर सुधार गरौं भने तर कार्यान्वयन हुन सकेको छैन उनले भने यसले अर्थतन्त्रको बिकास र वृद्धिलाई बाधा पुर्याउने देखिएकाले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत् कडाइ गरौं भने तर कर्जा गणनाको दिन बढाउने मात्रै बढाउन काम भयो ।

सरकार र राष्ट्र बैंक हस्तक्षेप नगर्ने पक्षमा
अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंक दुवै सेयर बजारप्रति नरम देखिएका छन् । सेयर बजारलाई अनुत्पादनशील क्षेत्रको संज्ञा दिँदा तत्कालीन अर्थमन्त्री डा युवाराज खतिवडाले चर्को आलोचना खेपेका थिए । तर वर्तमान अर्थमन्त्री बिष्णुप्रसाद पौडेल सेयर बजारप्रति सकारात्मक छन् । यसैले गर्दा सेयर बजार अतिआवश्यक सेवाको सुचीमा नपरेपनि कारोबार बन्द नगरिएको अर्थमन्त्रालय स्रोतको दाबी छ । नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारी पनि सेयर बजारलाई प्रोत्साहन गर्ने पक्षमै छन् । उनले गर्भनर नियुक्ती हुँदा बिभिन्न बैंक तथा वित्तीय संस्थामा आफ्नै करिब १ करोड हाराहारीमा सेयर रहेको सम्पति विवरण प्रस्तुत गरेका थिए । सेयर बजारमा सरकारी निजामती कर्मचारी नेपाल राष्ट्र बैंक र सरकारी बैंकका कर्मचारीले लगानी गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकमा पनि पछिल्लो समय सेयर लगानी तथा फोर्टफोलियोको बारेमा राम्रै चर्चा हुने गरेको केन्द्रीय स्रोत बताउँछ । मौद्रिक नीतिको तेस्रो अर्धवार्षिक समीक्षाको छलफलका क्रममा नेपाल राष्ट्र बैंक सेयर बजारमा जाने कर्जालाई बाञ्छित सीमाभित्र राख्नुपर्ने कुरा उठेको थियो । त्यसका लागि मार्जिन प्रकृतिको कर्जाको सिमा घटाउनुपर्ने र कर्जा प्रदान गर्नका लागि मुल्य गणनाको अवधि बढाउनुपर्ने सुझावहरू आएका थिए । गभर्नर अधिकारी मार्जिन प्रकृतिको कर्जाको मूल्य गणना अवधिमा बढाउने पक्षमा सहमत भए पनि सीमा भने घटाउने कुरामा सहमत नभएको नेपाल राष्ट्र बैंकको उच्च स्रोतको भनाइ छ । त्यसैले मौद्रिक नीतिको तेस्रो तैमासिक समिक्षा मार्फत मार्जिन प्रकृति कर्जा मूल्यांकनको ७० प्रतिशतको सिमा यथावत राखी मूल्य गणनाको अवधि भने १ सय २० दिनबाट १ सय ८० दिन पुर्‍याइएको छ । सेयर बजारमा मार्जिन प्रकृतिको कर्जाको सीमा घटाउदा लगानीकर्ताको मनोबल घटेमा बैंकको कर्जा जोखिममा पर्ने सम्भावना देखिएकाले ७० प्रतिशतको सिमा यथावत राखिएको देखिन्छ । निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीको वैकल्पिक क्षेत्रको रुपमा पनि सेयर बजारलाई हुनसक्ने भएकाले मार्जिन प्रकृतिको कर्जामा राष्ट्र बैंक मौन बसेको देखिन्छ ।

नेप्सेमा १० महिना १३९ प्रतिशतको वृद्धि
गत वर्षको असारको मध्यतिर ११६८.५५ अंकको न्युनतम बिन्दुमा पुगेको नेप्से चालू आर्थिक वर्षको जेठ ३ गते बढेर २७९३.९ अलटाइम हाई बिन्दुमा पुगेको पुगेको छ । बिगत १० महिनाको अवधिमा नेप्से १६२५.३५ अंकले अर्थात १३९ प्रतिशतले बढेको छ । निषेधाज्ञाको अवधिमा सेयर बजार परिसुचक नेप्से अतिवाश्यक सेवा अन्तर्गत नपरे पनि अनलाइन प्रणालीबाट कारोबार गर्न सकिने बैकिङ सेवा सञ्चालनमा रहने र विदेशमा रहेका नेपालीले कारोबार गरिरहेको भन्दै नियमित कारोबार भइरहेको छ । निषेधाज्ञा भएको १५ कारोबार दिनमा नेप्से १२८ अंकले बढेको छ भने जेठ ५ गते ११ अर्ब ९३ करोड रुपैयाँको ऐतिहासिक कारोबार भएको छ । यो साताको पहिलो दिन १० अर्ब ३५ करोड दोस्रो दिन ९ अर्ब ५३ करोड तेस्रो दिन ११ अर्ब ३२ करोड चौथो दिन ११ अर्ब ८९ करोड र पाचौं दिन ९ अर्ब २७ करोड गरी कुल ५२ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ । Source: nepalpress

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x