जनप्रतिनिधि भनेको यस्तो हुनु पर्छ, गाउँपालिका अध्यक्ष संक्रमित खोज्न घरदैलो

जटिल समस्या देखिएका बिरामीलाई गाउँपालिकाको आइसोलेसनमा रेफर
जाजरकोट — बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाह दुई सातायता घरदैलोमा व्यस्त छन् । उनी कोरोना संक्रमित खोज्न र कोरोनाबाट बच्न सचेतना जगाउँदै स्वास्थ्यकर्मीको टोलीसहित घरदैलोमा हिँडेका हुन् । सबै वडाका टोलटोलमा संक्रमित खोज्न जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली पठाइएको गाउँपालिकाले जनाएको छ । अध्यक्ष शाह गाउँपालिकाको वडा नम्बर १, ६, ७, ८ र ९ का घरघरमा पुगिसकेका छन् । अन्य वडामा घरदैलो जारी छ । शंकास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण भइरहेको शाहले बताए । ‘कोरोनाको लक्षण र यसबाट बच्ने उपायबारे घरघरमा गई जानकारी दिइरहेका छौं,’ उनले भने, ‘शंकास्पद बिरामीको कोरोना परीक्षण पनि भइरहेको छ, जटिल समस्या देखिएकालाई गाउँपालिकाको आइसोलेसनमा रेफर गरिएको छ ।’ उनले अन्य रोगका बिरामीलाई पनि स्वास्थ्यकर्मीले घरमै पुगेर उपचार गरिरहेको बताए । उनका अनुसार टोली औषधि, उपकरण र विभिन्न स्वास्थ्य सामग्रीसहित गाउँ पसेको हो । गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढे पनि स्वास्थ्यचौकीमा कोरोना परीक्षण गराउन आउनेको संख्या न्यून थियो ।

गाउँमा कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण फरक भएकाले अधिकांश बिरामीले स्वास्थ्य परीक्षण नगराएको स्थानीय युवा कमल शर्माले बताए । ‘संक्रमण देखिए कम्तीमा १४ दिन आइसोलेसनमा बस्नुपर्ने बाध्यताका कारण अधिकांश ज्वरो र रुघाखोकीका बिरामीले परीक्षण नै गराएनन् उनले भने गाउँपालिकाको टोली नखटिँदासम्म अधिकांश बिरामी घरेलु उपचार र धामीझाँक्रीकै घरमा थिए । उनले जनप्रतिनिधि गाउँमा खटिएपछि अन्य रोगका बिरामीले पनि उपचार पाएको बताए । उनका अनुसार टोली खटिएपछि ग्रामीण क्षेत्रमा मास्क र सेनिटाइजरको नियमित प्रयोग गर्ने बानीको विकास भएको छ । घरदैलोका क्रममा झन्डै २ सय जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको गाउँपालिकाले जनाएको छ । त्यसमध्ये ७१ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये ३६ जना होम आइसोलेसन र ३५ जना संस्थागत आइसोलेसनमा छन् । ११ जनाको लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बारेकोटमा सोमबारसम्म ३० जनाले कोरोना जितेका छन् ।
कोरोना परीक्षणका लागि एन्टिजेन किट र आवश्यक औषधि स्वास्थ्य संस्थामा मौज्दात रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक वीरराज सिंहले बताए । उनका अनुसार २५ शय्याको आइसोलेसन भवनलाई पनि व्यवस्थित बनाइएको छ । उनले प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक कोरोना परीक्षणको व्यवस्था मिलाइएको जानकारी दिए । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि घरदैलोमै पुगेर परीक्षणलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ । संक्रमितको मनोबल बढाउन पनि घरदैलो आवश्यक भएको हो विपन्न परिवारलाई मास्क तथा सेनिटाइजर निःशुल्क वितरण गरिरहेका छौं उनले भने घरदैलो र उपचारलाई तीव्र बनाइएपछि कोरोना जित्नेको संख्या पनि बढेको छ ।

५ सय ८२ सक्रिय संक्रमित
जाजरकोटमा आइतबारसम्म ५ सय ८२ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये अधिकांश सक्रमित होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सोमबार मात्रै २५ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्लाभरि १ हजार २ सय ४३ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसमध्ये ६ सय ४८ जना उपचारपछि घर फर्किएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार संक्रमितमध्ये १२ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । हालसम्म ७ जना संक्रमितको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले बताए । संक्रमित र मृतकको संख्या बढेपछि जाजरकोटमा एक महिनादेखि निषेधाज्ञा जारी छ । संक्रमणको जोखिम थप बढ्न नदिन निषेधाज्ञामा कडाइ गरिएको छ उनले भने गाउँगाउँमा कोरोनाविरुद्धको सचेतना अभियानलाई पनि तीव्रता दिएका छौं ।

यो पनि पढ्नुहोस्

स्वास्थ्य सामग्रीसहित अनुगमन
रुकुम पश्चिम — कर्णाली प्रदेशस्तरीय अनुमगन टोली स्वास्थ्य सामग्रीसहित रुकुम पश्चिम पुगेको छ । टोलीले जिल्लाका ६ वटै स्थानीय तहले सञ्चालन गरेका आइसोलेसन वार्ड जिल्ला अस्पताल र चौरजहारी अस्पतालको अनुगमन गरेको हो । टोलीले ९ हजार ७ सय ७५ थान एन्टिजेन किट र १२ वटा अक्सिजन सिलिन्डर जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ । कर्णाली प्रदेशकी पूर्वसामाजिक विकासमन्त्री विमला केसीको नेतृत्वमा आएको टोलीमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा.रविन खड्का सहभागी छन् । टोलीले विभिन्न प्रकारका औषधि, मास्क, झुल र कम्बललगायत सामग्री पनि वितरण गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले बताए । उनका अनुसार टोलीले कोरोना रोकथाम नियन्त्रण तथा उपचारमा जिल्लाको प्रयास उत्कृष्ट छ ।

अनुगमनका क्रममा जिल्लामा महामारी नियन्त्रणमा गरिएको प्रयास र व्यवस्थापन राम्रो भएको टोलीको निष्कर्ष छ । रुकुम पश्चिममा मृत्युदर उच्च रहेको भन्ने चासो पनि प्रदेशले देखाएको छ । कर्णाली प्रदेशमा रुकुम पश्चिममा मृत्युदर तेस्रोमा छ । पहिलो सुर्खेत, दोस्रो सल्यान र तेस्रोमा रुकुम पश्चिम छ । हालसम्म जिल्ला अस्पतालमा उपचारको क्रममा १७ जनाको मृत्यु भएको छ । जिल्लाभरि २१ जनाले ज्यान गुमाएका छन् । ग्रामीण क्षेत्रमा कोरोनाका लक्षण देखिँदा पनि परीक्षण नगर्ने समस्या रहेको जिल्ला अस्पतालका डा.राजकुमार भुजेलले बताए । अरू नै औषधि सेवन गरेर स्वास्थ्य अवस्था जटिल बनेपछि मात्रै अस्पताल आउने चलन छ उनले भने अधिकांश बिरामी निमोनियाले ग्रस्त भएपछि र अक्सिजनको मात्रा घटेपछि मात्र अस्पताल आउने गरेका छन् । अस्पतालले संक्रमित बचाउन सबै प्रयास गर्ने गरेको उनले बताए ।

पूर्वसामाजिक विकासमन्त्री केसीले रुकुम पश्चिममा सबैको सहकार्यमा राम्रो व्यवस्थापनका साथ कोभिड रोकथाम, नियन्त्रण र उपचार भइरहेको बताइन् । सबै स्थानीय तहले आइसोलेसन बनाएर बिरामीको उपचार गरिरहेका छन् उनले भनिन्ज नप्रतिनिधि घरदैलोमा व्यस्त रहेको पाइयो जसले संक्रमण रोकथाममा सघाउ पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.खड्काले रुकुम पश्चिमले गरिरहेका कतिपय कुरा अन्यत्र पनि अभ्यास गर्नुपर्ने बताए । प्रदेशबाट प्राप्त औषधि तथा उपकरणले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा थप सजिलो भएको निमित्त स्वास्थ्य व्यवस्थापक बुढाथोकीले बताए । उनका अनुसार टोलीले हस्तान्तरण गरेका सामग्रीहरू आवश्यकताअनुसार सबै पालिकामा वितरण गरिनेछ ।

source:kantipur

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x