वाणिज्य बैंकहरुको भाउ कति सस्तो,यस कारण बाणिज्य बैंकको सेयरमा लगानी सबैभन्दा सुरक्षित

काठमाडौं : पछिल्लो समय सेयर बजार बुलिस ट्रेन्डमा रहेको छ । यसैबीच, वाणिज्य बैंकहरुले तेस्रा त्रैमासको वित्तीय विवरण पनि सार्वजनिक गरिसकेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समग्रमा नाफा लगायत प्रमुख सूचकहरु बढेको छ । प्रतिसेयर आम्दानी पनि सुधार हुँदै गएको छ । दरियो पुँजी आधार, कडा नियमन लगायतका कारणबाट वाणिज्य बैंकहरुको सेयर लगानी अन्य क्षेत्रको तुलनामा निकै सुरक्षित मानिएको छ । साथै, अहिले कायम मूल्यले पनि तुलनात्मकरुपमा सेयर भाउ निकै सस्तो देखिन्छ । अझै केही वाणिज्य बैंकहरुको मूल्य–आम्दानी अनुपात (पीई रेसियो) ले सेयर भाउ सस्तो नै रहेको देखाउँछ । यसर्थ, दीर्घकालीन लगानी गर्न चाहनेका लागि अहिले पनि राम्रो समय रहेको छ । कुनै पनि कम्पनीको पीई रेसियोले सामान्यतयाः १ रुपैयाँ प्रतिफल पाउन कति मूल्य तिर्नुपर्छ भन्ने जानकारी गराउँछ । पीई रेसियो २० भन्दा कम भएका कम्पनीहरुलाई निकै सुरक्षित मान्ने चलन छ ।

तर पीई २० भन्दा बढी हुँदैमा जोखिम भइसकेको भन्ने होइन । बुल बजारमा ४० सम्मको पीई रेसियोलाई स्वभाविक मान्नुपर्ने कपितय विश्लेषकहरुको भनाई छ । २० आसपासको पीई रेसियो त सामान्य हो । तर बजार चरम वियरिस भएको बेला पीई अनुपात १० भन्दा पनि तल आएको देख्न सकिन्छ । अहिलेको बुलिस बजारमा केही वाणिज्य बैंकहरुको पीई रेसियो ४० भन्दा माथि पुगेको पनि देख्न सकिन्छ । अन्य क्षेत्र तथा समूहका कम्पनीहरुको तुलनामा अहिले पनि बैंकहरुको पीई रेसियो निकै कम देखिन्छ । पीई (प्राइस अर्निङ )सेयर लगानीको एउटा महत्वपूर्ण आधार हो । तर पीई बढी हुँदैमा लगानी गर्नु हुँदैन भन्ने पनि होइन । पीईसँगै अन्य केही सूचकहरु पनि महत्वपूर्ण मानिन्छन् । सामान्यतयः पीई रेसियो थोरै भएका कम्पनीहरुमा लगानी गर्न सिफारिस गरिन्छ । तर पीईलाई मात्र आधार मानेर लगानी गर्नुपर्छ भन्न खोजिएको होइन ।पीईसँगै अन्य आधारहरु पनि हुन्छन् भन्ने चाहिँ बिर्सिनु हुँदैन । कहिलेकाँही लगानीकर्ताहरु न्यून पीई भएका कम्पनीलाई छाडेर धेरै पीइ भएकातर्फ आकर्षित भएका पनि व्यवहारमा भने देखिन्छ । अझ अहिले त पीईजी रेसियो अर्थात प्राइस–अर्निङ–ग्रोथ हेर्नुपर्छ भन्ने मान्यता विस्तार हुन थालेको छ । यसले कुनै पनि कम्पनीको मूल्य आम्दानी अनुपातका साथमा सम्बद्ध कम्पनी व्यवसाय विस्तारको अवस्था कस्तो छ भन्ने देखाउँछ । यसबाट भविष्यमा उक्त कम्पनीको व्यवसाय विस्तारको आँकलन गर्न थप सहज हुन्छ । यसैक्रममा हामीले वाणिज्य बैंकहरुको पीई रेसियो कस्तो छ भनेर हेरेका छौं । पछिल्लो तथ्यांक बिहीबार (जेठ २० गते) को सेयर मूल्य (क्लोजिङ प्राइस) लाई आधार मान्दा १० वाणिज्य बैंकको पीइ रेसियो २० भन्दा कम छ । यता, सिभिल र सेन्चुरी बैंकको भने पीई ४० भन्दा माथि छ । हेरौं, कुन बैंकको पीई रेसियो कति छ ?



(नोट : बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सार्वजनिक गरेका प्रतिसेयर आम्दानीको आधारमा पीई रेसियो निकालिएको हो ।)
के हो पीई रेसियो ?
लगानी गर्नुअघि सम्बन्धित कम्पनीको समग्र वित्तीय सूचकहरुको राम्रो अध्ययन गर्नु जरुरी हुन्छ । यस्तै, अल्पकालीन होस् या दीर्घकालीन, दुवैथरीका लगानीकर्ताका लागि महत्वपूर्ण सूचकमध्ये पीइ रेसियो पनि एक हो । कम्पनीको पछिल्लो बजार भाउलाई प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अनुपात नै पीइ रेसियो हो । पीई रेसियोले कम्पनी ‘अन्डरभ्यालुड’ वा ‘ओभरभ्यालुड’ के हो भन्ने छुट्याउन मद्दत पुर्याउने भएकाले लगानीमा यसलाई महत्वपूर्ण सूचक मानिन्छ ।सामान्यतयः पीई रेसियो थोरै भएका कम्पनीहरुमा लगानी सुरक्षित मानिन्छ । तर पीइ कम हुँदैमा सधैं सबै कम्पनी राम्रा हुन्छन् भनेर मात्र चाहिँ बुझ्नु हुँदैन । अनि, पीई केही बढी हुँदैनमा त्यो कम्पनीमा लगानी गर्नु हुँदैन भन्ने पनि सधैं सोच्नु हुँदैन । यसमा अन्य केही पक्षहरुको पनि भूमिका रहने गर्छ । पीईसँगै अन्य सूचकहरु पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । अहिले त पीईसँग कम्पनीको ग्रोथलाई पनि विशेष ख्याल गर्न थालिएको छ । भविष्यको सम्भावनातर्फ पनि ध्यान दिनुपर्छ । अर्कोतर्फ पीइ रेसियोको आधारमा तुलना गर्दा एउटै व्यवसाय गर्ने कम्पनीहरु वा एउटै इन्डस्ट्रीका बीचमा मात्र गर्न उचित हुन्छ । मूल्य आम्दानी अनुपातका केही सीमाहरु पनि रहेका छन् । कम्पनीको कमाई उसको विगतको कमाई हो । विगतको कमाईले मात्र सधैं भविष्यको नतिजा ग्यारेन्टी गर्दैन । विगतमा राम्रो कमाएको कम्पनीले भविष्यमा पनि राम्रै गर्छ भनेर ग्यारेन्टी गर्न सकिँदैन । यसैगरी, विगतमा राम्रो परफर्मेन्स गर्न नसकेका कम्पनीले पनि भविष्यमा निकै राम्रो गर्न सक्ने सम्भावना पनि रहन सक्छ । यसर्थ, लगानीकर्ताले यी विषयहरु पनि ख्याल गर्नुपर्ने हुन्छ । अन्त्यमा, तर पीई रेसियो लगानीकर्ताले विश्लेषण गर्नैपर्ने महत्वपूर्ण सूचक चाहिँ हो ।

सेयर बजारमा पैदा भएको उत्साहले साना कम्पनीहरुको सेयरको भाउ लगातार उकालो लागेर धेरै माथि पुगिसकेको छ । हाईड्रो, लघुवित्त, बीमा, उत्पादनमुलक, ब्यापार, लगानी र अन्य क्षेत्रका कम्पनीहरुको सेयरको भाउ आकासिदै गएको अबस्था छ भने पछिल्लो समय फाईनान्स र बिकास बैंकहरुको सेयरको भाउ पनि उच्च अंकले बढेका छन् । तर बजारमा ठूलो आपुर्ति रहेका बाणिज्य बैंकहरुको सेयरको भाउ खासै बढ्न सकेको छैन र धेरै जसो बाणिज्य बैंकको सेयरको भाउ १८० दिने औसत बिन्दुमै रहेको अबस्था छ । कोरोनाका कारणले पर्यटकीय गतिबिधि ठप्प भएपछि होटलहरुको सेयरको भाउ पनि एक बर्ष अगाडिकै विन्दुमा छ । सामुहिक लगानी कोषमा लगानीको महत्व साना लगानीकर्ताले नबुझेको अबस्था विद्यमान हुँदा कतिपय ती कोषहरुको ईकाई मूल्य प्रति ईकाई नेटवर्थ भन्दा तल छन् । लगानी सुरक्षा, सेयरको सस्तो भाउ र औसत प्रतिफलको हिसाब गर्दा बाणिज्य बैंकहरुको सेयरमा लगानी अहिले सबैभन्दा सुरक्षित देखिएको छ । पर्याप्त लगानी, जोखिम ब्यवस्थापनको बन्दोबस्ती, राष्ट्र बैंकको कडा नियमन, संस्थागत सुशासन, बलियो जगेडा कोष जस्ता सूचकहरु हेर्र्दा अहिले बाणिज्य बैंकको सेयरमा लगानी गर्ने लगानीकर्ताले भोलिका दिनहरुमा रुवाबासी गर्नुपर्ने अबस्था आउने छैन । बढ्दो सेयर बजारमा धेरै मूल्य बढेर नाफा भएका सेयरहरु बेचेर मूल्य नबढेका र बढ्ने संभावना भएका कम्पनीहरुमा लगानी विविधिकरण गर्नु उपयुक्त हुन्छ । पूँजीगत लाभ मात्र नहेरी लाभांशमा आधारित रहेर पनि लगानी गर्नु बुद्धिमानी हो । सेयर बजारमा कुन सेयरको मूल्य कति महंगो हो भन्ने कुरा सामान्यतया मूल्य आमदानी अनुपातको हिसाब गरेर भन्न सकिन्छ । बाणिज्य बैंकहरुको मुलय आम्दानी अनुपात थोरै र अरु कम्पनीहरुको धेरै पुगिसकेको अबस्थामा सिधा भन्न सकिन्छ कि अब लगानी गर्ने नै बाणिज्य बैंकको सेयरमा हो । साथै कम्पनीहरुको प्रगतिको अरु अबस्था तुलना गर्दा पनि लगानी बढाउने ठाउँ नै बैंक हो ।

लाभांशको हिसाब गर्दा गत बर्ष एकाध बाहेक अधिकांशले दोहोरो अंकको लाभांश वितरण गरेका थिए भने यस बर्ष कोरोना संकटका बीचमा पनि साना बाणिज्य बैंकहरुको प्रगति उत्साहजनक देखिनुले लगानीकर्ता निराश हुनुपर्ने अबस्था छैन । मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा कम र प्रति सेयर आम्दानी १० रुपैयाँ भन्दा बढी भएका बाणिज्य बैंकको सेयरमा ढुक्कले लगानी गरे हुन्छ । महंगा सेयर मूल्य भएकामा भन्दा सस्ता बाणिज्य बैंकको सेयरमा लगानी गर्दा दोहोरो तेहेरो फाईदा हुनसक्छ । एकातर्फ धेरै कित्ता किन्न सकिन्छ भने अर्को तर्फ त्यस्ता बैंकहरुले आगामी दिनमा गर्ने प्रगतिका कारणले लाभको प्रतिशत बढ्दैै जानसक्छ । कुनै ठूलो बाणिज्य बैंकसँग मर्ज वा एक्विजिशनमा गएर राम्रो स्वाप पायो भने यस्ता बैंकका सेयरमा लगानी गर्नेले नसोचको फाईदा पाउन सक्छन् । बाणिज्य बैंकको सेयरमा लगानी गर्नेलाई हुने अर्को फाईदा सेयर धितो कर्जामा धेरै रकम प्राप्त हुनु पनि हो । अधिकांश बाणिज्य बैंकको सेयर मूल्य एक बर्ष अगाडि कै दरमा रहेकाले त्यसको औसत १८० दिने मूल्य अनुसार धेरै कर्जा प्राप्त हुन्छ । बैंकहरुले अरु कम्पनीको सेयर धितोमा ५० देखि ६० प्रतिशत रकम कर्जा दिए पनि बाणिज्य बैंकको सेयरमा ७० प्रतिशतसम्म कर्जा दिन्छन् । बाणिज्य बैंकको सेयर सबै बैंकमा धितो मान्य हुन्छ । सेयर बजारमा गिरावट आयो भने पनि ठूलो अन्तरले मूल्य झरेर बैंकबाट माार्जिन कल आउने संभावना कम छ । बैंकबाट लिएको कर्जाको ब्याज तिर्ने रकम सेयर वापत प्राप्त हुने लाभांशले नै खाम्नसक्छ ।

बाणिज्य बैंकमा खेलाडीहरु किन लागेनन् ?
सेयर बजारका खेलाडीहरुले बाणिज्य बैंकको सेयरमा लगानी कम गर्नुको कारण मूल्य बढेर पूँजीगत लाभ धेरै हुँदैन भनेर हो । बाणिज्य बैंकको सेयरको आपुर्ति ठूलो रहेको र मूल्य बढ्नलाई त्यो आपुर्ति खाने रकम परिचालन नहुनाले एक दिन मूल्य बढ्नासाथ दोस्रो दिन बाणिज्य बैंकको सेयरको आपुर्ति ह्वात्तै आउँछ र मूल्य थेग्न सकिन्न भन्ने हो । यसअघि पटक पटक खेलाडीहरुले बाणिज्य बैंकको सेयरमा खेल्ने प्रयास नगरेका पनि हैनन् तर सकेका थिएनन् ।तर अब अबस्था फेरिएको छ । सेयर बजारमा दैनिक १६, १७ अर्बको कारोबार हुन थालिसकेकाले बाणिज्य बैंकको सेयरमा पनि माग पक्ष बलियो भएर जाने संभावना छ । यसको संकेत गत बिहीबारको कारोबार विवरणले देखाईसकेको पनि छ । खेलाडीहरुले अरु कम्पनीहरुमा कुुस्त पूँजीगत लाभ हासिल गरिसकेकाले अब लगानी सुरक्षित गर्न बाणिज्य बैंकका सेयरहरु हेर्न थालेको आभाष मिलेको छ । उनीहरुले अरु क्षेत्रका कम्पनीहरुमा अल्पकालीन लगानी गरी पूँजीगत लाभ हासिल गरेर नाफा सुरक्षित गरी बाणिज्य बैंकतर्फ लगानी सार्न थालेका हुन भने आगामी साता त्यसको परिणाम देखिनसक्छ ।

खराब कम्पनी र हाईड्रोका हकप्रदमा उचालिनेहरु चुर्लुम्म डुब्नसक्छन्
सेयर बजारमा नयाँ लगानीकर्ताको प्रबेशले खराब कम्पनीहरुको सेयर मूल्य पनि उच्च रुपले बढेका छन् । जगेडा कोष रित्ता र निस्क्रिय कर्जा अनुपात उच्च भएका, ऋणात्मक नेटवर्थका कम्पनीहरुको सेयर मूल्य पनि आकासिएर गएका छन् । नयाँ लगानीकर्ताहरुमा हकप्रदको हल्लाले प्रभाव पार्दा खराब कम्पनी र हाईड्रोहरुमा झुम्मिने क्रम बढेको हो । २०७२, २०७३ सालमा पनि नयाँ लगानीकर्ताहरु यसैगरी हकप्रदको हल्लामा लाग्दा कतिपय चुर्लुम्म डुबेका थिए । सेयरको मूल्य ९० प्रतिशतसम्मले घट्दा कतिपयको सम्पति स्वाहा भएको थियो । खराब कम्पनीहरुको सेयर धितो राखेर न बैंकबाट कर्जा लिन सकिन्छ न त लाभांशको नै आधार हुन्छ । मूल्य घट्न थालेपछि तनावमाथि तनाव थपिन्छ मात्रै ।

सेयर बजारमा हुन्न सधैं एकै खालको अबस्था
सेयर बजारमा सधैं एकैखालको अबस्था रहिरहन्छ भनी सोच्नु गंभीर गल्ति हुन्छ । अहिले सेयरको मूल्य घोडा दौड जसरी तीब्र बेगले बढिरहेका कम्पनीहरुमा लगानी गर्नेहरुले जोखिम ब्यवस्थापन र नाफा सुरक्षित गर्न चुके भने उनीहरु अर्को पछुताउमा पर्ने छन् । सेयर बजारमा सेयरको मूल्य कुन बेलासम्म बढ्छ र घट्न थाल्छ भन्ने कुरा एकदम अनिश्चित हुन्छ । त्यो अनिश्चियको भूमरीमा फस्नु भन्दा पहिले नै आफु निस्केर सुरक्षित कम्पनीमा लगानी सार्ने नै सफल लगानीकर्ता हो । तर कोरोना संकमण पूर्ण रुपमा अन्त्य नभएसम्म सेयर बजारबाट ठूलो रकम बाहिर निस्कने संभावना छैन। एउटा क्षेत्रको कम्पनीबाट अर्को क्षेत्रको कम्पनीमा लगानी घुमिरहने छ । त्यही चक्रमा नै अहिले लगानीकर्ताले सुझबुझपूर्ण लगानी गर्नुपर्छ ।

Source: Merolagani, Nepalipaisa

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x