हरिकुमार श्रेष्ठ: सेयरबाट करोडपति, सेयरबाटै रोडपति !

हरिकुमार श्रेष्ठ, नेपालको सेयर बजारको दुई दशकसम्मको अवधिमा चर्चाको शिखरमा रहेको एउटा नाम हो । सेयर बजारमा हालसालै छिरेका नयाँ लगानीकर्ताका लागि यो नौलो नाम भए पनि पुराना लगानीकर्ताका लागि यो परिचित नाम हो । सन् २००१ देखि शंकरदेव क्याम्पसमा अध्यापनरत उनै श्रेष्ठ नेपाली सेयर बजारका कुनै बेलाका एक कुशल खेलाडी मात्र होइनन्, सेयरबाट सोच्दै नसोचेको पैसा कमाउने केही सीमित पात्रहरुमध्येका एक व्यक्ति समेत हुन् । सेयरमा लगानी गरेर रातारात करोडपति बनेका तिनै श्रेष्ठले अंगिकार गरेका कतिपय गलत लगानी रणनीतिले उनलाई शून्यमा झारिदियो । सेयरबाटै करोडपति भएका र करोडपतिबाट रोडपति बनेका उनै श्रेष्ठसँग उनको सेयर अनुभव र सेयर जीवनका आरोहअवरोहका बिषयमा हामीले कुराकानी गरेका छौ । नयाँ तथा पुराना लगानीकर्तालाई उनको सफलता र त्यसपछि फेरि अधोगतितर्फको यात्रा र त्यसलाई समेत सम्हाल्दै फरक पेशमा प्रवेश गरी पुनः करोडपति भएको रोचक जीवनकहानी प्रेरणाको स्रोत हुने ठानेर हामीले यो जमर्को गरेका हौ । प्रस्तुत छ बिजशालाको तर्फबाट भक्तराज रसाइलीले उनै श्रेष्ठसँग २ बर्ष पहिले गरेको कुराकानीको सम्पादित अंश:
हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
-हाल म सम्पूर्ण समय आयात व्यापारमा व्यस्त छु । शंकरदेव क्याम्पसमा अध्यापनका अलावा कन्जुमर इलेक्ट्रोनिक्सका सामानहरुको आयात गर्छु ।
सेयर बजारमा प्रवेश कसरी गर्नुभयो ?
-शंकरदेवमा सन् २००१ मा आएपछि बिजनेस सर्कलको वातावरण बन्यो । अनि सेयर बजारको कुराहरु पनि यहीँ वरिपरि भएकाले बजार प्रवेश गर्न सहज भयो । तर, मलाई सेयर बजारमा प्रवेशका लागि कसैले गाइड गरेको होइन । पढाइमा डिस्टर्ब पनि नहुने र  समय पनि त्यति दिन नपर्ने भएकाले पनि २–४ पैसाका लागि पत्रिकामा विज्ञापन आउने बित्तिकै भर्न तम्सिन्थें  । स्नातक तेस्रो वर्षमा अध्ययन गर्दागर्दै एनआइसी बैंकको सेयरको आइपीओ खुलेको थियो । त्यत्तिखेर सेयर बिक्री नहुने भएकाले निक्कै विज्ञापन गरिन्थ्यो । तपाइको लगानी सही समयमा भनेर विज्ञापन आउँथ्यो सोही मुताबिक नै आफ्नो परिवारका ४ जनाको नाममा सेयर हालेको थिएँ र त्यसबेला हाल्ने जति सबैको सेयर पर्ने सिस्टम थियो । ०५५/५६ सालमा सबैलाई ३०/३० कित्ता सेयर परेको सम्झना आउँछ । त्यत्तिबेला उक्त सेयर दोस्रो बजारमा ५ सय प्रतिकित्तामा बेचेपछि महादेवको तीन नेत्र भनेजस्तै मलाई पनि त्यसपछि सेयरबजारप्रति मोह बढ्न थाल्यो । यही आईपीओको अनुभवले पछि मैले लगानी बढाउँदै गएँ, जसमा मलाई मेरा बाआमाले पनि फण्डका लागि सहयोग गरिदिनुभयो ।
अनि दोस्रो बजारमा चाहि प्रवेश कहिले गर्नुभयो ?
-आइपीओमा परेको सेयर बेच्नका लागि समेत पुतलीसडकका ब्रोकर अफिसबाट हुने जानकारी आएपछि ।
कुनमा बढी लगानी गर्नहुन्थ्यो ?
-मैले प्रायः पहिलो बजारमा नै धेरै लगानी गरें । आफ्नो परिवारका ६ जनाका साथै खलकभित्रका सबैजनाको नाममा सेयर हाल्दा त्यो बखत निक्कै राम्रो सेयर पथ्र्यो । विद्यार्थीकालमा पहिलो बजारमा थोरै–थोरै लगानी गरेको थिएँ ।
यहाँलाई सेयरले साथ पनि दियो । सेयरबाट यहाँ करोडपति बन्नुभयो भनेको पनि सुनियो र पछि पुनः रोडपति र अहिले पुनः करोडपति भएको भन्ने सुनिन्छ, यो सत्य हो?
-मैले सेयरबाट सोंचेको भन्दा धेरै गुणा बढी पैसा कमाएको साँचो हो । कागजका हिसाबले कमाई देखिएको हो । त्यो बेलामा सय रुपियाँको सेयर २ हजारमाथि हुन्थ्यो । ४–५ हजार त सामान्य तवरले नै मूल्य पुगेको मलाई सम्झना छ । जिन्दगीमा नसोचेको पैसा कमाइयो । कागजलाई पैसामा परिणत गर्न सकेको भए धेरै राम्रो हुन्थ्यो । तर, अवसरलाई छोप्न नसक्नु नै मेरो ठूलो कमजोरी भयो ।

अवसर छोप्न किन र कसरी चुक्नुभयो ?
-लगानी गर्दै गइयो, कतिपय कम्पनीका पब्लिक सेयर मैले उठाउँदा मेजर सेयरहोल्डरका रुपमा म पनि थिएँ । मेजर सेयरहोल्डर भएपछि कम्पनीसँगको सामीप्यताले मेरो कम्पनी भन्ने सोच्नु महाभूल हुने रहेछ । पब्लिक सेयर नै मेरो सेयर हो, भोलि यसले राम्रो गर्छ भनेर सधैं होल्ड गर्नु नै मेरो गल्ती भयो । बजार बुल भएका बेला बेच्न नसक्दा मैले ठूलो नोक्सान बेहोर्नुपर्यो । महत्वकांक्षाका कारणले नाफा आफैं खानका लागि समेत होल्ड गर्न थालियो । अनि बजारबाट रु. १२ सयदेखि १८ सयसम्म सेकेण्डरीबाट किन्न थालियो । सेयर उठाउँदा बैंकबाट धितो लिएर मार्केट क्र्यास हुँदा ४५ देखि ७० रुपियाँसम्म आएपछि धेरै नै ठूलो घाटा व्यहोर्नुपर्यो । यस्तो नोक्सानी कुनै पनि व्यवसायमा हुँदैन । मेरो नेटवर्थ नेगेटिभमा जाने संकेत पाएपछि मैले करिअर चेञ्ज गरेको हुँ । इम्पोर्ट(आयात) बिजनेसमा भविष्य देखेर म यतातर्फ मोडिएको हो । जब सेयरले म बर्बाद भएँ, त्यसपछि मैले यो विजिनेश थालेको हुँ ।

यहाँले सेयरबजारको २ वटा क्र्यास देख्नुभयो । यस्तो बेलामा सेयरमा लगानी गर्नेले कसरी सम्हालिनुपर्ने रहेछ ?
-मेरो विचारमा आफू कसरी सर्भाइभ हुने भन्ने कुरामा ध्यान दिनुपर्छ । यसका निम्ति आफ्नो नियमित आम्दानीमा फोकस हुनुपर्छ । बैंकबाट सेयरधितो कर्जा लिएर लगानी गरिएको खण्डमा कमसेकम ब्याज तिर्नसक्ने हैसियत चाहिँ बनाउन आवश्यक देखिन्छ । कम्पनीको लाभांशको आशमा सेयरधितो कर्जा चलाउँदा यसले जटिल समस्या निम्त्याउँछ । मलाई परेको सबैभन्दा ठूलो समस्या नै बैंकको अत्यधिक विश्वास थियो । त्यसबेला बैंकहरुले नै आफैं कागज मिलाएर ऋण दिन्थे । बैंकले सजिलै ऋण दिएकाले महत्वकांक्षा अझ बढेर गयो, यसैका कारण पछि म अफ्ठ्यारोमा परें । त्यसबेला नेपाल राष्ट्रबैंकको फितलो नीति र बैंकले सेयरमा ओभर भ्यालुएसन गरेर मलाई ऋण दिएकाले कतिपय बैंकहरुको एनपीएल ३० प्रतिशतसम्म पुग्ने अवस्था सिर्जना भयो । बजार क्र्यास भएको त्यो बेला आइपीओको सेयर समेत बिक्री हुन्थेन। २०५७ सालतिर होला, मैले बैंकको नाम भूलें, मसँग ७० हजार कित्ता हाराहारी आइपीओको सेयर कष्टिङ रु. १०३ हँुदा रु. १०५ मा पनि बिक्री नभएको सम्झना छ । नेप्से इण्डेक्स करिब ३ सय हुँदा आइपीओ समेत त नबिकेको घटना हो त्यो ।

त्यसबेला मार्केटमा लगानी कत्ति गर्नुहुन्थ्यो ? पोर्टफोलियो कस्तो थियो ?
-मैले २०६० साल हाराहारीमा आइपीओमा मात्र करोडौं हाल्थें । त्यत्ति नै बेला बैंकको समेत सहयोगमा मैले करोडौं आम्दानी पनि गरेको थिएँ । बजार बुम भएको बेला दिनमै करोडौं बढेर जान्थ्यो, तर त्यो कागजको प्रोफिट मात्र थियो । क्यास नगरी कागजमा मात्र प्रोफिट गर्नु गल्ती रहेछ ।

सेकेण्डरी मार्केटमा चाहिँ कुन सेयरबाट प्रवेश गर्नुभयो ?
-२०५७ सालतिर ब्रोकरहरुको सल्लाहबमोजिम नै मैले सुरुमा एनआइसीको रु. ५ सय हाराहारी र नेपाल बंगलादेश बैंकको २–३ सय हाराहारीमा सेयर किनेको थिएँ । मैले सेकेण्डरीबाट सेयर किन्नुपर्दा विकास बैंक र फाइनान्स जस्ता साना कम्पनी नै मेरो रोजाईमा पर्थे ।

२०६३ सालको बूममा बेच्न कसरी चुक्नुभयो ?
-त्यो बेलामा मर्जर प्रक्रिया चलिरहेको थियो, त्यस्तो बेलामा कारोबार रोक्का हुने भएकै कारणले पनि कतिपय सेयर बेच्न चाहेर पनि नसकेको हो ।

बजारमा हुँदा यहाँको लगानी रणनीति कस्तो हुन्थ्यो ?
-कम्पनीका प्रकाशित रिपोर्ट, नेटवर्थका साथसाथै बैंकहरुसँगको सामीप्यताले गर्दा मकहाँ इन्फरमेसनहरु पनि आउथे ।आफ्ना सर्कलका  साथीभाइहरुको सरसल्लाहबाट बुझ्ने गरिन्थ्यो । यद्यपि म भित्री सूचनाहरुमा नै फोकस गर्थें ।

बुम र बियर बीचको फरकलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
-आत्मविश्वास बढ्नु भनेको शेयर बजार बढ्नु हो, त्यसरी नै आत्मविश्वास घट्नु भनको सेयर बजार घट्नु हो । मैले देखेको चाहिँ खेल्न खोज्नेहरुले केही न केही बैंकको सपोर्ट लिएकै हुन्छन् । २ किसिमले विश्लेषण हुने रहेछः एउटा सेयर खेलाडीले सेयर बेचेर बैंकमा सेभिङ्ग राख्ने र अर्को बैंकको पैसा सेयरमा अर्निङ्ग राम्रो भए सेयर बजारमा खन्याउने ।

नेपालको पूँजीबजारको साइकललाई कसरी नियालिरहनु भएको छ ?
-बजारमा बूम र क्र्यास हुनु स्वभाविक हो । यद्यपि नेपालमा औसत ७ वर्षमा बूम र क्रयास हुने काम भइरहेको हुन्छ । मारवाडी समुदाय लगायत  ठूला घरघरानाले बूम भए सेयर फाल्ने र बजार तल झरेका बेला बजारमा सेयर उठाउने गरेका मेरो बुझाई छ।

सेयर बजारमा सफल हुने मन्त्र के हो ?
-यसलाई फूलटाइम भन्दा पनि पार्टटाइमका रुपमा लिइनुपर्छ । पहिलो प्राथमिकता नै भनेर मेरो सेयरमा इन्भेष्टमेन्ट छ भनेर बस्नु गलत र घातक हुनेछ । दोस्रो प्राथमिकतामा राख्दै रेगुलर अर्निङ्गलाई फोकस गर्न सल्लाह दिन्छु । आफ्नो रोजगार, बिजनेस र सेक्टरलाई कमाइको आधार बनाउनुपर्यो ।सेयर होल्ड गर्न सके फाइदा हुन्छ । आफ्नो ब्याकग्राउण्ड दह्रो बनाउँदै ब्याज तिर्ने क्षमता चाहि बनाउन आवश्यक छ । बूम हँुदा मात्तिने र क्र्यास हँदा आत्तिने काम कहिल्यै गर्नुहुँदैन ।

नेपाली सेयरबजार मूठ्ठीभरका माफियाका हातमा छ भनेर सुनिन्छ, यो विषयमा तपाईको अनुभवले के भन्छ ?
-२०६४ सालअघिको सवालमा यो कुरामा सत्प्रतिशत सहमत छु । अहिले सेयरबजार बृहत भएकाले अब कसैले पनि चाहँदैमा केही गर्न सक्दैन । बरु बजार बूम भएका बेला बेच्ने र घटेका बेला सेयर उठाउने चाहिँ गर्छन् । पहिले चाहिँ म्याचिङ्गका नाममा १ सयको सेयर ५ सय र ५ सयको सेयर १ सय बनाउन सक्थे, तर अहिले त्यो सम्भव नै छैन ।

हरि श्रेष्ठ एउटा यस्तो पात्र हो जो सेयरबाट करोडपति र पछि रोडपति समेत हुनुभयो । अहिले करिअर परिवर्तन गरेर फरक विजिनेशमार्फत पुनः करोडपति हुनुभयो । कस्तो अनुभव गर्नुहुन्छ ?

मेरो जीवनको उतारचढावलाई सम्झँदा म आफैंलाई पनि एक कथा जस्तो लाग्छ । म सेयरबाट बर्बाद भए पनि हिम्मत हारिँन । जसले जत्तिसुकै भने पनि, जसले जत्तिसुकै टर्चर दिए पनि मैले गर्नुपर्ने काम गर्न छाडिँन । मैले अर्निङ्ग गर्ने काम कहिले छाडिँन । मेरो नेटवर्थ नेगेटिभ नै भए पनि मैले तिर्नुपर्छ भनेर वैकल्पिक बाटो खोजेको हुँ । मैले मिहिनेत गरेको हँु । मान्छेको गफ धेरै हुन्छ, काम गर्दैन, हात चल्दैन । मुख मात्र धेरै चल्छ । यो नै मान्छेको ठूलो कमजोरी हो । मान्छेले बोल्नु धेरै भन्दा पनि मिहिनेत धेरै गर्ने र दिमाग लगाउने र कामप्रति प्रतिबद्ध भएर लाग्ने हो भने यहाँ असंभव केही छैन । तर, भाग्य र मिहिनेत चाहिँ हुनैपर्ने रहेछ । पहिला मेहेनत गर्नुपर्यो, त्यसपछि भाग्ले साथ दिनुपर्यो । मैले टिचिङ्ग र ट्युसनबाट कमाएको र सेयरबाट कमाएको पैसाभन्दा धेरै पैसा सेयरमा नै सकेको कुरा यथार्थ हो । तर, मैले बजारमा क्र्यास आउँदा बिजनेसमा डाइभर्ट गरिसकेकोले मलाई रिकभर हुन केही सजिलो भयो र मेरो प्लान पनि सक्सेस भयो । सेयर बजारमा मेरो पोर्टफोलियो कुनै बेला ५० औं करोड देखियो होला, तर पनि अहिले मैले बिजनेसमा मिहिनेत गरेर त्यत्ति नै बराबर होला नहोला, यद्यपि म सन्तुष्ट छु । मेरो रेगुलर कमाइ भएकाले अहिले करोडौं खर्च पनि गर्न सक्छु । अहिले धेरै नै सहज छ । त्यत्तिबेला कागजी रुपमा पैसा हुन्थ्यो, बैंक ब्यालेन्स १ रुपैयाँ पनि हुँदैन थियो । कतै खर्च गर्नुपरे हातमा १ रुपैयाँ हँदैन थियो, सेयर छ करोडौंको, हातमा १ पैसा नगद थिएन ।। अहिले जत्ति चाह्यो त्यत्ति जुट्छ । इनह्याण्ड क्यास हुने काम गर्नुपर्ने रहेछ ।

तपाई भाग्यमा पनि विश्वास गर्नुहुन्छ ?
-विश्वास गर्नुहुन्छ कि हुँदैन । सही जन्मसमय भएको चिनामा चाहिँ म्याथम्याटिक्स मिल्छ जस्तो लाग्छ । मलाई ज्यातिषले पनि भनेको थियो कि तेरो यो सबै सकिन्छ । ३४ वर्षको उमेरमा सम्पत्ति सकिन्छ भनेर पनि भनेकै हो । त्यत्ति नै बेला अब सेयरमा काम नगर्नू भनेर भविष्यवाणी गरेकै हो । मलाई दोस्रो विकल्पमा गर्नू भनेको र ट्रेडिङ्ग, उत्तर साइडबाट इम्पोर्ट गर्नू पनि भन्या हो । यही मुताबिक नै मैले मेरो माइण्ड डाइभर्ट गरेको हुँ । त्यसपछि सकिन्छ नै भनेर मैले सेयरबजारलाई २०७१ सालतिर छाडिदिएको हुँ ।

सेयर बजारबाट गुमाउँदा पारिवारिक विचलन पनि भोग्नु भयो ?
-म आफैं पनि हिम्मत नहार्ने मान्छे र परिवारबाट पनि सपोर्ट पाएकै हो । मेरी बहिनी सुनिता श्रेष्ठले आर्थिक रुपले मलाई निकै ठूलो गुन लगाएकी छिन् । मैले इम्पोर्ट बिजनेस थालनी गर्दा पनि परिवारले सहकार्य गरेकोले काम गर्न सहज भयो । म त हिम्मतवाला हुँ, मेरी श्रीमती सिर्जना गुरुङ्ग पनि एक हिम्मतवाली नारी हुन्, उनको सपोर्टले पनि मेरो आँट बढ्यो र रोडपति भइसकेको म पुनः आजको अवस्थामा आउन सफल भएँ ।

ठूलो असफलतामा पनि हिम्मत चाहिँ कसरी आयो ?
-बिजनेसमा आफ्नो बाटो मैले समयमा क्याल्कुलेसन गर्न सकें र घरपरिवारले असहज अवस्थामा पनि सपोर्ट गरिदिएका कारणले नै हिम्मत आयो र पारिवारिक हिम्मत मेरो हिम्मतमा थपिँदा डबल भई यो अझ मजबुत बन्यो ।

अब हरि श्रेष्ठ सेयर बजारमा कमब्याक हुने सम्भावना कत्तिको छ ?
-मेरो सोचाइमा दोस्रो बजारमा किन्ने बेच्ने भनेर चाहिँ कमब्याक हुँदैन । किनभने जिन्दगी मान्छेको एकबारको हो । मान्छेलाई रेष्ट पनि चाहिन्छ र रिल्याक्स पनि। तनाव हुने गरी अब मबाट सेयरमा इन्भेष्टमेन्ट चाहिँ हुँदैन । सेयर बजारमा कमाएको पैसा नै डाइभर्ट चाहिँ हुन्छ । नेपालको सन्दर्भमा, म मात्र हैन सरप्लस भएको पैसा ल्याएर इन्भेष्ट गर्ने ठाउँ भनेको सेयर बजार र जग्गा नै हो । त्यही हिसाबले मेरो पनि लगानी चाहिँ हुन्छ नै । सेफ ल्याण्डिङ्ग हिसाबले लगानी चाहिँ बढाउँछु ।

हरि श्रेष्ठलाई सेयर बजार नफापेकै हो ?
-ग्रहदशाले पनि नफाप्ने भनेकै थियो । कहाँबाट पैसा आउँछ त्यो भविष्यवाणी पनि मिलेकै हो, कागजी रुपमै भएपनि । त्यहीँ पैसा जान्छ पनि भनेकै हो र गयो पनि । मेरो अटेरीपना र महत्वकांक्षाले नै यो सबै भयो । अत्यधिक मात्रामा रहेको प्रमोटर सेयर होल्ड गरेर पहिलो दर्जाको हुने भूत सवार भयो, यो नै मेरो कमजोरी ठहरियो । कतिपय अवस्थामा मर्जरकै कारणले पनि बेच्न नसक्नू र भित्री मनले पनि बेच्न नचाहेर बूम बजारबाट क्यास गर्न नसकिएको हो । कम्पनीलाई नजिकको भन्दा पनि बेनेफिटका हिसाबले मात्र लिइनुपर्ने पाठ सिकियो ।

वर्तमान बजारलाई कसरी नियाल्नु भएको छ ?
-कल्पनै गर्न नसकिने चेञ्जेज भइसक्यो अहिले त । अहिले माफियाले केही गर्न सक्दैन । ओपन क्राइ सिस्टमबाट अनलाइनमा जानू र पहिला अहिले जत्तिको सचेतना थिएन, जत्ति हाल्यो त्यत्ति सेयर पथ्र्यो । बैंकिङ्ग सिस्टममा समेत चलखेल हुन छाडेको छ ।

नियामक निकायहरुको भूमिकाका बारेमा कस्तो अपेक्षा राख्नुहुन्छ ?
-कुनै पनि निकायमा काम गर्न चाहने व्यक्ति वा कर्मचारीहरुलाई नेपालमा ह्यारेसमेन्ट गर्ने परिपाटी छ । यो विकराल समस्या हो । जत्ति हिसाबले हुनुपर्ने नभए पनि केही सुधार पक्कै भएको छ ।

नेपालको सेयर बजारको भविष्य कस्तो देख्नुहुन्छ ?
-सेयर बजारको भविष्य कहिले नराम्रो हुँदैन । लगानीकर्ताहरु आफैं जानकार भएर मात्र लगानी गर्नुपर्छ । सेयर बजार जहिलेका लागि पनि राम्रो हो । समयलाई चिन्न सक्नुपर्यो, समयमै सेयरलाई क्यासमा कन्भर्ट गर्नसक्नु पर्यो । मौकाका हिसाबले क्रयास पनि सुनौलो अवसर हो । क्र्यास हुनु भनेको अवसरको ढोका खोलिनु हो, त्यही भएर यो बेला सेयर किन्नुपर्छ जस्तो लाग्छ ।

अर्को कुरा, लगानीमा प्रफिट र लस दुवै हुन्छ भन्ने कुरा बुझेर र त्यसमा आफू सहमत बनेर मात्र लगानी गर्नुपर्छ ।

यहाँको दुई दशकको अनुभवका आधारमा आम लगानीकर्ताहरुलाई के भन्न चाहनुहुन्छ ?
-मेरो विचारमा, धेरै महत्वकांक्षी हिसाबले लगानी गर्नु नै दूर्भाग्य हो । महत्वकांक्षी हुनुभएन । भाग्य र समयले साथ दिए पनि विषम परिस्थितिमा पनि आफ्नो हैसियत अनुसारको होल्ड गर्नसक्ने क्षमता राखेर नआत्तिकन रिक्स लिन सक्नुपर्छ । जुनै क्षेत्रमा पनि रिक्स थेग्न सक्ने गरी लगानी गरे रोइलो गर्न आवश्यक रहँदैन ।

सेयर बजारलाई प्रभाव पार्ने तत्वहरु चाहिँ के हुनसक्छ ?
-पहिलो कुरा त मनोबल नै हो । त्यसपछि कम्पनीको रिटर्न, ब्याजदर जस्ता कुराहरु आउलान् ।  केही हदसम्म माफियाहरुको भूमिकाले समेत केही अंश लिन सक्छ । अर्को हिसाबमा नेपाल राष्ट्र बैंक, नियामक निकायका पोलिसी लगायतले पनि असर पारिरहेकै हुन्छ ।

अहिले सेयर मार्केटको ट्रेण्डमा कम्युनिष्ट सरकारको छायाँ परेको भन्छन् नि?
-म सहमत त हैन, तर नेपालको ट्रेण्डमा त्यो देखिएको चाहिँ हो । जब कांग्रेसको २ सिट बढी देखिने बित्तिकै बजार हरियो भएर आउने, कम्युनिष्टहरुको २–४ सिट बढी देखिने बित्तिकै रातो हुने गरेको हो । त्यो नहुनुपर्ने हो। मान्छेको मनोवृत्तिले यस्तो भएको हो । तर यसबाट आत्तिनुपर्ने म देख्दिँन । अर्थमन्त्रीले ल्याएको पोलिसीहरु एक हिसाबले ठीक हो जस्तो लाग्छ । यद्यपि बजारलाई नेगेटिभ असर चाहिँ नपारिदिए हुन्थ्यो जस्तो लाग्छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
-सेयर बजारका लगानीकर्ताहरु, तपाईहरु नआत्तिनुस, आफ्नो हैसियत अनुसार लगानी गर्नुहोस् । सेयर बजारमा लगानी गर्नु भनेकै पूँजी संकलन हुने हो, जसले विकास निर्माणदेखि लिएर समग्र पूर्वाधार निर्माणका काम संभव भई आर्थिक उन्नति भएर देशमा समृद्धि आउने हो । तर, सबैले आफूले सक्नेसम्मको मात्र लगानी गर्नुपर्छ ।

Source:bizshala

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x