चन्द्रागिरी भन्दै लगानीकर्ताहरुले किने धमाधम छ्याङदीको सेयर, कारण के ?

काठमाडौं : नेपालको पुँजी बजारले पछिल्लो समय नयाँ–नयाँ रेकर्ड बनाउँदै गएको छ । प्राथमिक र दोस्रो बजार दुवैमा लगानीकर्ताको बाक्लो उपस्थिति हुन थालेको छ । दोस्रो बजारमा कारोबार रकमका साथै सूचकले नयाँ उचाई हासिल गरिरहेका बेला प्राथमिक बजारमा आवेदन दिने लगानीकर्ताको संख्याले पनि इतिहासमै उच्च देखिन थालेको छ । त्यतिमात्र नभई दैनिक हजारौंको संख्यामा डिम्याट खाता खोल्ने क्रमले पनि पुँजी बजारमा लगानीकर्ताको आकर्षण कति बढेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

तर के पुँजी बजारमा देखिएको आकर्षण जत्तिकै लगानकिर्तामा बजार सम्बन्धी चेतना विकास र साक्षर पनि छ त ? लगानीकर्ताको उपस्थितिमा भएको ह्वात्तै वृद्धिसँगै यो प्रश्न झन् महत्वपूर्ण बन्दै गएको छ । बजारका आधारभूत पक्षका बारेमा चेतना हुनु एउटा पाटो भयो भने पुँजी बजारसम्बन्धी प्रविधि प्रयोगको चेतना र साक्षरता अर्को महत्वपूर्ण पाटोको रुपमा देखा परेको छ ।

पुँजी बजार र यस सम्बन्धी प्रविधि प्रयोगमा लगानीकर्ता कत्ति साक्षर छन् अनि चेतनशील बनाउन सरोकारवाला निकायहरुले के–कस्तो भूमिका निर्वाह गर्दैछन् ? यो अहिले गम्भीर विषय बनेको छ । उदाहरण स्वरुपः भर्खरै आइपीओ निष्कासन गरेर दोस्रो बजारमा कारोबार सुरु भएको चन्द्रागिरी हिल्स (सीजीएच) र छ्याङदी हाइड्रोपावर (सीएचएल) को सेयर कारोबारमा लगानीकर्ताहरु परेको अलमललाई लिन सकिन्छ ।

अनलाइन प्रणाली (टीएमएस) प्रयोग गरेर सेयर खरिदबिक्री गर्दा आम लागीकर्ता यी दुई कम्पनीको नेप्से कोडका सम्बन्धमा व्यापक अलमल र अन्योलमा परेको देखिएको छ । अनि, धेरै लगानीकर्ताले चन्द्रागिरी हिल्स भनेर छ्याङदी हाइड्रोपावरको सेयर किने । फलस्वरुपः छ्याङदीको दोस्रो बजारमा सर्किट लाग्ने अवस्थासम्म पुग्यो । अनलाइनबाट सेयर खरिद गर्नेले चन्द्रागिरी हिल्स (सीजीएच) भन्दै छ्याङदी हाइड्रोपावर (सीएचएल) को सेयर खरिद गरे ।

पछि आफूहरुले गरेको कारोबार गलत भएको थाहा पाएपछि धेरैले सामाजिक सञ्जालहरुमा गुनासो पनि गरे अनि कतिपयले भने लाज मानेर आफैंभित्र कुरा लुकाएर राखे । यो त एउटा प्रतिनिधि उदाहरणमात्र हो । लगानीकर्ताहरुबीच प्रविधि प्रयोग सम्बन्धी चेतना अभाव अनि कुनैकुनै बेला हतार र असावधानीका कारण यसरी उल्टोपाल्टो कारोबार हुने गरेको पाइएको छ ।

हुन त अनलाइन प्रणालीमा कम्पनीहरुको कारोबार संकेत सँगै पूरा नाम पनि दिइएको हुन्छ । तर हतार र अन्जानमै धेरै एउटा भनेर अर्कोको सेयर किनबेच गर्ने गरेको ब्रोकरहरु पनि बताउँछन् । कारोबार गरिसकेपछि लगानीकर्ताले आफ्ना ब्रोकरहरुलाई मिस्टेक भएको र सच्याउन मिल्छ भन्दै फोन समेत गर्ने गर्छन् ।
धेरैमा प्रविधि प्रयोगसम्बन्धी ज्ञान, सीप र चेतनाको पनि अभाव । अनलाइन प्रणाली सुरुवात त गरियो तर यसको प्रयोगका बारेमा खासै प्रशिक्षित गर्न सकिएन । अनि, लगानीकर्ताहरुले पनि कम्पनी संकेतबाहेक पूरा नाम अध्ययन नगरी हतारमा कारोबार गर्ने प्रवृत्ति पनि हावी भइरहेको छ । यसले पनि समस्या खडा गरेको छ ।
त्यस्तै, पछिल्लो समय आइपीओमा पनि लगानीकर्ताको आकर्षण बढ्दो छ । मेरो सेयर सफ्टवेयर मार्फत अनलाइनबाट सेयर भर्ने कपियत लगानीकर्ताले आइपीओ (साधारण सेयर) भन्दै ऋणपत्र, बन्ड तथा म्युचुअल फन्डहरुका युनिटमा समेत व्यापक मात्रामा आवेदन दिने गरेको पाइएको छ ।
भर्खरै आइपीओ भर्न थालेकी टोखा ३ कि राधा न्यौपानेले भनिन्, ‘मेरो सेयरमा आइपीओ भनेर देखाएकाले १ सय रुपैयाँ भन्दै सेयर भरेको १ हजार रुपैयाँको ऋणपत्र परेछ । अनि कहिले प्रतियुनिट १० रुपैयाँको म्युचुल फन्ड हुने रहेछ । तर अहिलेमात्र यसबारेमा थाहा पाउँदैछु । यसअघि कुरा नबुझ्दा म पटकपटक झुक्किएको छु ।’ हुनत यो सामान्य कुरा हो, लगानीकर्ता स्वयं सचेत हुनुपर्ने विषय पनि । अनि सचेत लगानीकर्ताका लागि यो विषय हास्यास्पद पनि लाग्न सक्ला ।

तर यो विषय गाउँगाउँमा सेयर बजारको पहुँच पुर्याउने नारा लगाउने सबै सरोकारवालाका लागि भने ठाडो चुनौतीको रुपमा देखा परेको छ । यसले सेयर बजार र प्रविधिको प्रयोगमा आम लगानीकर्ताको चेतनाको स्तर कुन तहमा छ भन्ने पनि प्रष्ट पारेको छ । अर्कोतर्फबाट हेर्दा, लगानीकर्तालाई प्रविधिको प्रयोगमा जनचेतना र साक्षरता अभियानको आवश्यकमा टड्कारो खड्िकएको पनि देखाउँछ ।

नेप्सेको पछिल्लो तथ्यांक अनुसार सक्रिय लगानीकर्ता (दोस्रो बजारमा कम्तिमा एक पटक सेयर कारोबार गर्ने लगानीकर्ता) ४ लाख रहेकामा ३ लाखले अइलाइनका लागि युजर नेम र पासवर्ड लिएका छन् । यसबाट लगानीकर्ताले विस्तारै प्रविधिमैत्री बन्दै गएको त देखाउँछ । तर, के यसको सही सदुपयोग भएको छ त ? त्यसलाई हालैको छ्यांङ्दीको सेयर कारोबारले प्रष्ट पारिसकेको छ ।
दोस्रो बजारमा लगानीकर्ताले आफूसँग नभएको सेयर बेच्दा क्लोज आउटमा पर्ने गर्दछन् । जसका कारण लगानीकर्ताले ठूलो रकममा जरिवान तिर्नुपर्ने हुन्छ । लगानीको जोखिम, फाइदा, घाटा लगायत विविध विषय प्रत्येक लगानीकर्ता स्वयंको निर्णयसँग सम्बन्धित हुने भएकाले साक्षरता र चेतनाका लागि लगानीकर्ता स्वयं अग्रसार हुनुपर्छ ।

धितोपत्र बोर्ड, नेप्से, सेयर ब्रोकर, लगानीकर्ताका संघसंगठन, सञ्चारमाध्यम लगायत सबै सरोकारवाला निकायले पनि आम लगानीकर्तालाई पुँजी बजार र यस सम्बन्धी प्रविधिको प्रयोगमा सक्षर बनाउने आफ्नो कर्तव्य ठानेर अगाडी बढ्नुपर्ने देखिएको छ । त्यसो हुँदा मात्र पुँजी बजारको दीर्घकालीन विकास सम्भव हुनसक्छ ।

के भन्छन्  सरोकारवाला ?
पुँजी बजारमा लगानीकर्ता भित्रिने संख्या दिनानुदिन बढ्दै गएसँगै जनचेतना र साक्षरता कार्यक्रम बढाउन आवश्यक छ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रैनियारले पुँजी बजारमा लगानीकर्ताको संख्या बढेसँगै सरोकारवाला निकायले धारावाहिकरुपमा प्रविधि प्रयोगमा साक्षरता र जनचेतनासम्बन्धी कार्यक्रम गर्न आवश्यक रहेको बताए ।

उनले लगानीकर्ता संघगठनको नेतृत्वको हिसाबले आफूहरु त्यसमा सहयोग गर्न सधैं तयार रहेको बताउदैं नियामक निकायले पनि यसमा ध्यान दिन आवश्यक रहेको बताए । साथै, आफूले लगानी गर्ने भएकाले लगानीकर्ता स्वंय आफै पनि अध्ययन अनुसन्धान गरी सचेत हुन आवश्यक रहेको उनको भनाई छ । आफूलाई थाहा नभएका कुरा अरुलाई सोध्न लाज मान्न नहुने समेत उनको भनााई छ ।

यता, नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले पनि लगानीकर्ता स्वयं सचेत भएर लगानी गर्न आवश्यक रहेको बताए । साथै, उनले नेप्सेले लगानीकर्तालाई विभिन्न माध्यमबाट सचेतना फैलाउने काम गरेको बताए । उनले भने, ‘नेप्सेले विगतमा पनि प्रत्येक प्रदेशमा गएर लगानीकर्तालाई सचेतना तालिम दिने गरेको थियो । अहिले कोरोनाका कारण भर्चुअल माध्यमबाट विभिन्न सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x