शुल्क तिर्न नसक्दा बालबालिका विद्यालय भर्ना हुन पाएनन्

इन्द्रावती नदी किनारमा रहेको भिमटार गाउँमा माझी र दनुवार जातिका मानिस बस्छन् । इन्द्रावती गाउँपालिका–१२ मा रहेको यो गाउँको प्रमुख आर्थिक स्रोत कृषि हो । नदी किनारमा संचालित  क्रसर उद्योगका कारण थुप्रै खेतीयोग्य जमिन बगर बन्यो । माछा मार्ने पुख्यौली पेशा पनि समाप्त भयो । कृषि पेशामा आएको गडबडीले उनीहरुको जीवनयापनमा समस्या उत्पन्न भएको छ । गाउँकै रातमाटे टोलमा रहेको भिमेश्वरी माध्यमिक विद्यालयले नियमविपरीत शुल्क असुल्न थालेपछि खानाको लागि संघर्ष गर्दै आएका माझी र दनुवार परिवारका बालबालिका विद्यालय जानबाट बञ्चित भएका छन् । शुल्क अभावमा कम्तिमा २० बालबालिकालाई अभिभावकले विद्यालय पठाएका छैनन् ।

भिमेश्वरीमा माझी र दनुवार समुदायका चार सय २७ बालबालिका पढ्छन् । विद्यालयले विभिन्न शीर्षकमा वर्षेनी शुल्क उठाउने गरेको छ । भर्ना र परीक्षामात्रै होइन विद्यालयले महिनावारी शुल्क पनि उठाउने गर्छ । सन्तराज दनुवारका छोरा अमिर र समिर, पबिना दनुवारका छोरी सबिता र छोरा रोशनलाई तोकिएको शुल्क बुझाउन नसकेपछि विद्यालयले भर्ना नगरी फर्काइदिएको स्थानीय सुरेन्द्र दनुवारले बताए । अभिभावकसँग समझदारी गरेर विद्यालय सुधारका लागि शुल्क निर्धारण गर्न सकिने व्यवस्था भएपनि इन्द्रावतीमा हाल त्यस्तो अवस्था नरहेको गाउँपालिका अध्यक्ष बंशलाल तामाङले दाबी गरे । तर भिमेश्वरीले बालबालिकाबाट अनावश्यक शुल्क उठाएको जानकारी उनलाई छैन । माझी र दनुवार समुदायले एकदेखि १० सम्मको विद्यालय शिक्षा निःशुल्क पाइन्छ भन्ने थाहा पाएर पनि वर्षेनी शुल्क बुझाउँदै आएका छन् । सोझा अभिभावकसँग रकम उठाएर विद्यालयले अन्याय गरिरहेको छ । कक्षा १० मा पढ्ने छोरी रोजी दनुवारसँग विद्यालय पुगेकी अभिभावक मञ्जुलाई भर्ना बापत १२ सय ८० लियो । तर ६ सय ५० तिरेको रसिदमात्रै उनले पाइन् । त्यसैगरी कक्षा १० मा अध्ययनरत छात्रा सबिना दनुवारले भर्ना शुल्क १२ सय ८० तिरिन् । उनलाई पनि विद्यालयले ६ सय ५० तिरेको रसिद दियो । ‘सबै विद्यार्थीलाई शुल्क तिर्न लगाएर आधा शुल्कको मात्रै रसिद दिने गरिएको छ अभिभावक मञ्जुले भनिन् ।

लकडाउनले विद्यालय बन्द भएर यो वर्षको अन्तिम परीक्षा लिइएको छैन । तर विद्यालयले परीक्षा शुल्क निर्धारण गरेको पाइएको छ । एक देखि १० कक्षासम्म परीक्षा शुल्क १० देखि १०० र भर्ना शुल्क एक सयदेखि ६ सय ५० तोकिएको छ । विद्यार्थीले प्रत्येक वर्ष भर्ना शुल्क तिर्नुपर्छ । कक्षा ६ देखि १० सम्म ६० रुपैयाँदेखि १०० सम्म मासिक शुल्क पनि तिर्नुपर्छ । भिमेश्वरीका प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठले विद्यालयलाई नमूना बनाउने उद्देश्यले पूर्वविद्यालय व्यवस्थापन समितिले गरेको निर्णय कार्यान्वयन गरिएको बताए । विद्यालय व्यवस्थापन समितिको अघिल्लो कार्यकालदेखि नै शुल्क लिने गरिएको छ उनले भने कक्षा १२ सम्म अध्यापन गर्ने विद्यालयको खर्च धान्न नसकेर विद्यार्थीबाट शुल्क लिएको हो ।

यता जिल्ला शिक्षा समन्वय समितिका प्रमुख कृष्णप्रसाद सुवेदीले एकदेखि १० कक्षासम्म निःशुल्क शिक्षा भएको बताए । केही विद्यालयले विभिन्न शीर्षक राखेर अभिभावकसँग शुल्क असुलेको सुन्नमा आएको उनले जानकारी दिए । अभिभावकले लिखित उजुरी दिए कारबाही गरिने उनले चेतावनी दिए । सरकारले कक्षा एकदेखि कक्षा १० सम्म निःशुल्क शिक्षा घोषणा गरेको थुप्रै वर्ष बित्यो । भिमेश्वरीले मात्रै होइन जिल्लाका अधिकांश सरकारी विद्यालयले पनि बालबालिकासँग सहयोग शुल्कको नाममा घुमाएर रकम असुल्दै आएका छन् ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x