दसैँको समीक्षा : पर्वको अवधि छोट्याऔँ

यस वर्षको दसैँ पर्व सकिने क्रममा छ । कतै सकिएको छ, कतै सकिँदै छ । शहर बजारबाट घर जानेहरू फर्कँदैछन् । विदेशबाट आउनेहरू फर्कने तरखरमा छन् । बजारहरू खुलिसकेका छन् । बन्द–व्यापार सुरु हुँदैछन् । सरकारी अफिस खुलिसकेका छन्, राजनीतिक दलहरू पुरानै लयमा फर्कँदैछन् । यस अवधिमा मुलुकभरि कहाँ के भए समग्र पक्षको समीक्षा गर्ने बेला त भएको छैन, तर दसैँको मुखमा केही स्थानमा भएका सडक दुर्घटनाले भने धेरैको मन कुँडायो ।दसैँका बेला दुई दिनमै ४० जनाको मृत्यु भएको थियो, सयौँ घाइते भएका थिए । त्यसपछिका दिनमा पनि दैनिक कुनै न कुनै यस्ता अप्रिय घटना भइरहेका छन्, जनधनको क्षति उत्तिकै छ । हामीकहाँ चाडबाडका बेला हुने अप्रिय घटनाहरूमा सायद सडक दुर्घटना नै बढी पर्छन् । यसका पछाडि विभिन्न कारण हुन सक्छन् । तथापि मुख्य कारणलाई निम्नानुसार केलाउन सकिन्छ–प्रथमतः खराब बाटो एउटा कारण हो भने ओभरलोड अर्को । चाडवाडका बेला यात्रु चाप यसै पनि बढी हुन्छ तर न अपेक्षाकृत बाटोको चौडाइ बढाउन सकिएको छ, न सवारीका साधन नै । भएका बाटाहरू पनि प्रायः कच्ची छन् । ठाउँठाउँमा परेका खाल्टाखुल्टीले थप दुरुह बनाएको छ । साधनको कमीले गर्दा भित्र यात्रु जति कोचिएका हुन्छन् छतमा बसेर यात्रा गर्ने पनि त्यति नै हुन्छन् । यात्रु चापको अनुपातमा सवारी साधन बढाउन मात्र गर्न सकिए पनि दुर्घटनामा केही कमी आउने थिए । तर, दुःखको कुरा त्यतिसम्म पनि विचार पु¥याउन सकेका छैनौँ ।

मादक पदार्थको खुलेआम बिक्री वितरण र मापसे सेवन पनि दुर्घटनाका प्रमुख कारणमै पर्छन् । सरकार भन्छ मापसे जाँचमा कडाइ गरिएको छ तर व्यवहार त्यसको ठीक उल्टो छ । हुनसक्छ शहर बजारमा कडाइ होलान् तर शहरको स्थिति हेरेर गाउँघरतिरको अवस्था मापन गर्न सकिन्न । सबै स्थानमा न प्रशासन पुगेको हुन्छ न चेकजाँच नै सम्भव हुन्छ । यस्तो अवस्थामा सर्वाधिक उपयोगी भनेको मदिरा उत्पादन बन्द गर्नु नै हो तर त्यो कति सम्भव होला ? प्रश्न विचारणीय छ । राजस्वको कुरो पनि आउला, खान चाहनेले पाउनुपर्छ भन्ने कुरो पनि आउला । फेरि उत्पादन बन्द गर्दा चोरी पैठारी र कालोबजारी बढ्ने सम्भावना पनि त्यति नै देखिन्छ । त्यसैले सीमित मात्रामा ब्रान्डेट मदिरा उत्पादन तथा बिक्री वितरणमा ध्यान दिनु उचित हुनेछ । बिक्री वितरणको समय र समूहलाई भने आचारसंहिताले व्यवस्थित गर्न सकिन्छ । ब्रान्डेट मदिराको कुरा गर्दा कोदाको ब्रान्ड उत्तम हुन सक्छ । विदेशतिर खासगरी बेलायतमा यो ब्रान्ड निकै लोकप्रिय रहेको समाचार छ । यसमा नेताहरू र उद्योग व्यवसायीको ध्यान बढी अपेक्षित हुन पुगेको छ ।
मुलुकको राजनीतिक अवस्था पनि उस्तै गञ्जागोल छ । लामो सयमदेखि सदन अवरुद्ध छ । नेकपा एमालेको अनावश्यक हटका कारण यी सब भइरहेका छन् । संसद भनेको जनताको सार्वभौमसंस्था हो, जहाँ जनसवालका विषयमा बहस हुन्छ, बिसौनीको खोजी गरिन्छ । तर, त्यही संस्थाले लामो समयदेखि आशातीत काम गर्न सकिरहेको छैन । बिस्तारै त्यसको छायाँ न्यायापालिकामा पनि पर्ने हो कि भन्ने आशङ्का बढ्दै गएको छ । कुन व्यक्तिलाई कहाँ नियुक्ति गर्ने वा नगर्ने भन्ने कुरा सरकारको तजबीजमा भर पर्छ । यसलाई न्यायालयसँग जोडेर हेर्नु राम्रो होइन । तर, यसैलाई लिएर प्रधान न्यायाधीशकै राजिनामा माग्न थालिएको छ । हरेक विषयलाई राजनीतिको आँखाले हेर्दा वा राजनीतिक जलप लगाउँदा अन्ततः हानि हुने भनेको देशलाई नै हो । दसै साँच्चै सद्भावको पर्व हो भने पर्व मनाउनुको अर्थ यतातिर पनि ध्यान दिनुपर्छ भन्ने हुन सक्छ ।

दसैँ पर्वका सम्बन्धमा कतिपय अप्रिय कुरा पनि सतहमा आएका छन् । दसैँ पर्व सबैको होइन भन्ने पनि देखिएका छन् । बहिस्कार गर्नुपर्छ भन्ने पनि निस्किएका छन् । जबकि यथार्थ त्यस्तो छैन र यस्तो कुतर्कले आपसमा विद्वेष बढाउने बाहेक केही गर्दैन । वस्तुतः दसैँ शक्ति उपासनाको पर्व हो । यस अर्थमा यो सारा नेपालीको साझा पर्व हो । त्यसैले त्यसलाई बुझाउनु पनि अहिलेको सर्वोपरि आवश्यकता हो । यसमा खासगरी राजनीतिक समझदारीको बढी भूमिका हुन सक्छ । पर्वको अवधिका बारेमा भने संशोधन आवश्यक देखिन्छ । एउटा पर्व मनाउन १५ दिन छुट्याउनु पक्कै बढी हो । त्यसैले यसलाई फुलपातीदेखि एकादशीसम्म पाँच दिनमा झार्नु उपयुक्त देखिन्छ । यसबाट केही हदसम्म गुनासाहरू सम्बोधन पनि हुनेछन् र समय सापेक्ष पनि बन्न पुग्छ । यसका लागि पनि राजनीतिक समझदारीकै भूमिका देखिन्छ । दसैँ पर्वको अर्को गुनासो भनेको बलिदान र मारकाट पनि हो । एउटै शक्तिपीठमा १४ हजारसम्म पशु काटिएको समाचार आयो । पक्षीहरू कति काटिए हिसाव कितावै छैन । मारकाट यसै पनि राम्रो होइन । त्यसमा पनि पर्व मनाउने नाममा मारकाट हुन्छ भने त्योभन्दा नराम्रो अर्को के होला र । सबै प्राणी अन्ततः एउटै ईश्वरको सन्तान हुन् । एउटैको सन्तान भएपछि सबै भाइभाइ हुन् र एउटा भाइलाई मारेर अर्को भाइ कसरी खुसी हुन सक्ला र । मासु खानु स्वास्थ्यका दृष्टिले पनि राम्रो मानिन्न । यो मानिसको आहार हुँदा पनि होइन । शारीरिक बनोटले पनि यही बताउँछ । पौष्टिकताकै कुरा गर्ने हो भने पनि मासुबाट पाइने पौष्टिक तत्व अन्य चीजबाट पनि पाउन सकिन्छ । यदि कसैलाई खान मन लाग्छ, नखाई सक्दै सकिन्न भने खाए हुन्छ । तर, मासु खाने नाममा देवीदेवताको स्थानमा वा नाममा मारकाट गर्नु भने राम्रो होइन । यसको अर्थ दसैँमा मात्र काटमार गर्नु हुन्न भन्ने होइन । अपितु जहिले पनि देवी देवताको नाममा पशुबलि दिनु हुँदैन भन्ने हो ।

धर्मकै कुरा गर्ने हो भने निहत्था पशुको गर्धन रेटेर धर्म हुँदैन । मारकाट तथा खुनखरावालाई धर्म मान्ने हो भने पाप केलाई भन्ने ? अस्ति एकजना मित्र पशुहरूलाई मुक्ति दिनकै लागि पनि वली दिनुपर्छ भन्दै थिए एक सञ्चारमा माध्यममा । तर, यस्ता काममा पूर्णतः रोक लगाउनुपर्ने देखिन्छ । यसका लागि पनि राजनीतिक समझदारी आवश्यक देखिन्छ । पर्व भनेका पहिचान हुन् । हत्या हिंसा र मारकाटले पक्कै पहिचान बढाउने काम गर्ने छैन । परम्पराकै कुरा गर्ने हो भने पनि के कुरा बिर्सन हुन्न भने परम्परा बसाउने काम मानिसले गरेका हुन् । मानिसले बसाएका परम्परालाई मानिसले बदल्न सक्दैन वा मिल्दैन भन्ने कुरै आउन्न । थाहा छैन कसले कुन परिवेशमा यस्तो क्रुर परम्परा बसाए तर परम्परा धान्ने नाममा त्यसैलाई निरन्तरता दिनु भनेको अन्धभक्ति बाहेक केही होइन । परम्पराहरू आवश्यकता अनुसार जन्मन्छन् । समय सापेक्षा भए निरन्तरता पाउँछन् नभए कि बदलिन्छन् कि खारेज हुन्छन् । संसारभरिकै सनातन नियम यही हो तर यसका लागि पनि राजनीतिक समझदारीकै आवश्यकता देखिन्छ । त्यसैले यसतर्फ पनि सबैको खासगरी नेताहरूको ध्यान जानुपर्ने देखिन्छ । आशा गरौँ माता भगवतीले हामी सबैलाई यस्तै बुद्धि दिउन् र आगामी वर्षदेखि दसैँ साँच्चिकै गर्व गर्न लायक पर्वको रूपमा भव्य र सभ्य तरिकाले मनाउन सकौँ ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x