महामारीमा स्वास्थ्य सेवा व्यवस्थापन

कोरोना महामारीका कारण यतिबेला विश्व नै विकराल संकटबाट गुज्रिरहेको छ। यो महामारी कतिसम्म फैलिन्छ र कहिले अन्त्य हुन्छ भन्ने कसैले पनि भन्न सक्ने अवस्था छैन।

इतिहासले के देखाउँछ भने यस्ता महामारीको अन्त्य हुन्छ तर त्यसका लागि समय लाग्छ। विश्वमा महामारीले करोडौं मानिसको ज्यान लिएको इतिहास छ।

सन् १९६७ मा बिफरको महामारीले एक करोड ५० लाख मानिस संक्रमित भए र त्यसले २० लाखको ज्यान लियो। पछि खोप विकास गरेर यो रोगमाथि विजय प्राप्त गरियो।

चौधौं शताब्दीमा पूर्वी एसिया तथा पश्चिमी युरोपमा ‘ब्ल्याक डेथ’ ले एक दशकभन्दा बढी समय मानिसलाई असर पारेको थियो। यो रोगले झन्डै २० करोड मानिसको ज्यान लिएको थियो। सन् १९१८ मा फैलिएको स्पेनिस–फ्लुबाट विश्वको ५० करोड जनसंख्या संक्रमित भए।

स्पेनिस फ्लुका कारण एक वर्षमै १० करोडको ज्यान गएको थियो। यो रोगले बढी युवाको ज्यान लिएको थियो। रोगको संक्रमण उच्च बिन्दुमा पुगेपछि यो आफैं रोकिएको थियो।

यस्ता महामारीको फैलावट र बेग कतिसम्म हुन्छ, त्यो समयले निर्धारण गर्छ। यस्ता महामारीमाथि विजय प्राप्त गर्न पनि केही समय अवश्य लाग्छ।

विश्व स्वस्थ्य संगठनका अनुसार अस्पताल एक सामाजिक तथा चिकित्सकीय संस्था हो, जसले सम्पूर्ण स्वास्थ्य सुविधा दिन्छ। अस्पतालको विकास परापूर्वकालदेखि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भएको पाइन्छ।

केही ऐतिहासिक प्रतिलिपि अनुसार नेपालमा औपचारिक स्वस्थ्य सस्था वा अस्पतालको विकास लिच्छवीकालदेखि नै सुरु भएको पाइन्छ। आधुनिक अस्पतालको विकास विसं १९४५ मा वीर अस्पतालको स्थापनापछि भएको थियो।

वर्तमान अवस्थामा करिब ८० वटा सरकारी अस्पताल, ४०० भन्दा धेरै निजी अस्पताल, २० भन्दा धेरै शिक्षण अस्पताल परिचालन भएको तथ्यांकहरुले देखाउँछन्। सरकारी तथा निजी अस्पतालमा दक्ष जनशक्तिलाई स्थान दिने हो भने स्रोत–साधनको अधिकतम प्रयोग भई बिरामीहरुले सर्वसुलभ र गुणस्तरीय सेवा पाउने कुरामा कुनै द्विविधा छैन।

यस्तो महामारीको अवस्थामा स्वस्थ्य सेवातर्फ वा फ्रान्टलाइनमा कार्यरत सबै कर्मचारीहरुको आफ्नै महत्व र भूमिका रहन्छ। विशेषगरी महामारीको समय वा महामारीपछिको समयमा अवस्थामा स्थिरता ल्याउनका लागि स्वस्थ्य सेवा व्यवस्थापकको मुख्य भूमिका रहन्छ।

स्वास्थ्य सेवा व्यवस्थापकले स्रोत–साधनको अधिकतम प्रयोग र समग्र स्वस्थ्य क्षेत्रको नेतृत्व गर्छ। विशेषगरी गुणस्तरीय र भरपर्दो सेवा प्रवाह गरी अधिकतम उपलब्धि हासिल गर्न र सेवा प्रवाह दिगो पार्न व्यवस्थापकको ठूलो भूमिका रहन्छ।

कुनै पनि संस्था वा निकायको सञ्चालन र विकासमा व्यवस्थापन वा प्रशासनको ज्यादै महत्वपूर्ण भूमिका हुन्छ। अझ अस्पताल जस्तो अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको खाँचो पर्ने संस्थामा व्यवस्थापनको अत्यन्तै ठूलो भूमिका हुन्छ।

कुचिकारदेखि विशेषज्ञसम्म, बिरामीदेखि अभिभावक र कुरुवासम्म, सानो सिरिञ्जदेखि अत्याधुनिक सुविधायुक्त उपकरणसम्मको कुशल परिचालनमा व्यवस्थापनले सानो त्रुटि मात्र गरेमा मानिसको ज्यान समेत जान सक्छ र त्यसको परिणाम गम्भीर हुन्छ।

वर्षको ३ सय ६५ नै दिन र चौबीसै घण्टा सेवा सञ्चालन गरी बिरामीलाई नयाँ जीवन दिन तत्पर हुनुपर्ने संस्थामा विभिन्न व्यक्ति र शाखा-उपशाखाहरुबीच समन्वय र नीति तथा योजनाको कार्यान्वयन पक्ष फितलो भएमा लक्ष्य प्राप्ति हुन सक्दैन र आम जनताबीच संस्थाको छवि बिग्रँदै गई विश्वासनीयतामा समेत प्रश्नचिह्न उठ्छ।

समान्य वा महामारीको अवस्थामा दुर्गम जिल्लाका अस्पतालहरुमा डाक्टर छैनन्, फलानो अस्पतालमा आधारभूत औषधिको कमी छ, फलानो अस्पताल फोहोर र दुर्गन्धित छ, यो अस्पतालमा कर्मचारीको कमी भयो, फलानो अस्पतालमा भर्ना गर्ने बेड नै छैन र स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार भयो जस्ता अस्पतालसँग समन्धित समस्याहरु दिनहुँ देखा पर्छन्।

सडकदेखि संसदसम्म, सर्वसाधारण नागरिकदेखि सभासदसम्मका सबै मानिसको मुखबाट अस्पतालहरुको बिग्रँदो स्थितिको वस्तुस्थिति सम्बन्धित निकायमा जगजाहेर नभएको पनि होइन। तर समस्या दिन प्रतिदिन घट्नुको सट्टा बढ्दै गइरहेको छ।

नेपालको संविधानको भाग तीन ‘मौलिक हक र कर्तव्य’ को धारा ३५ को उपधारा (१) मा ‘स्वास्थ्य सम्बन्धी हक’ नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन,’ भन्ने उल्लेख गरिएको छ। साथै यही धाराको उपधारा (३) मा ‘प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ,’ भन्ने उल्लेख गरिएको छ।

नेपालको संविधानको यही मान्यता अनुसार सरकारको काम भनेको सहज, सरल र सुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु हो। डाक्टर र नर्सले सेवा दिँदैमा स्वस्थ्य सेवामा सहज, सरल र सुलभ हुँदैन।

कुनै पनि अस्पताल वा स्वास्थ्य संस्थाको स्वस्थ्य सेवा सरल, सुलभ र सहज बनाउन डाक्टर, नर्स साथै  उक्त संस्थाको व्यवस्थापन निकाय, प्राविधिक निकाय सामान्यभन्दा पनि सामान्य निकायको महत्वपूर्ण भूमिका रहन्छ। संस्थाभित्र विभिन्न निकायको आआफ्नो कार्य हुन्छ।

हरेक निकायले आफ्नो काम आफैं कुशलता एवं दक्षतापूर्वक गरेमा नेपालको स्वास्थ्य सेवामा अवश्य पनि परिवर्तन सम्भव छ। एउटा बिरामी आफ्नो घर-परिवार, साथी-भाइ, इष्टमित्र, कार्यालय समग्रमा आफूले व्यतित गर्ने सम्पूर्ण जीवनशैली र वातावरण परित्याग गरी अस्पतालमा स्वास्थ्य सुधारका लागि आउँछ।

बिरामी र बिरामीको परिवारको सोचाइ, इच्छा र आकांक्षा नै चाँडोभन्दा चाँडो बिरामीको स्वास्थ्यमा सुधार हुनका लागि राम्रो हेरचाह, उपयुक्त वातावरण र सही परामर्श पाउनु हो। यस प्रकारको सोचाइलाई साकार पार्नका लागि प्रशासनिक कर्मचारी, मेडिकल तथा पारा-मेडिकल कर्मचारीहरुको एउटै लक्ष्य तथा उद्देश्य बिरामीलाई स्तरीय एवं उपयुक्त सेवा प्रदान गर्ने हुनुपर्छ।

अस्पतालले मानिसको पीडा, बेदना, खुसी, जीवन र मृत्युसँग प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्छ। मानिस जन्मेदेखि मृत्युपर्यन्त हरेक रोगसँग लड्नका लागि अस्पतालको सहारा चाहिन्छ।

आधुनिक विज्ञान र प्रविधिको एक उत्कृष्ट नमुना हो– अस्पताल र चिकित्सा पद्धति। यस प्रकारको विज्ञान र प्रविधियुक्त थलो सञ्चालनमा खट्ने प्रशासनिक कर्मचारीहरुमा समेत सिप, ज्ञान, दक्षता, सुझ-बुझ र योग्यताको समिश्रण हुनु अपरिहार्य छ।

टिकट काउण्टरदेखि परीक्षण गर्ने व्यक्तिहरुले बिरामीको मन जित्ने खालको व्यवहार प्रदर्शन गर्न सकेमा बिरामीको मनोविज्ञानमा सकारात्मक छाप पर्छ। कतिपय रोग निको पार्न मनोविज्ञानको गहन भूमिका हुन्छ।

प्रायः अस्पतालमा कार्यरत प्रशासनिक कर्मचारीहरुले केवल विद्यालय, क्याम्पसको औपचारिक शिक्षा बाहेक अन्य कुनै पनि तालिम वा विशेष सिप, ज्ञान हासिल गर्ने मौका पाएका हुँदैनन्। फलस्वरुप न त उनीहरुलाई बिरामीसँग गर्ने व्यवहारको बारेमा जानकारी हुन्छ, न त अस्पतालको कुशल व्यवस्थापनको बारेमा थप कुनै ज्ञान नै हुन्छ।

अस्पतालको सर-सफाइ, खाना व्यवस्था, सुरक्षा, सवारी, खरिद, मर्मत-सम्भार, जनसम्पर्क, आर्थिक प्रशासन, राजस्व, आम्दानी, खर्च आदि जस्ता महत्वपूर्ण कार्यमा प्रशासनिक कर्मचारीको संलग्नता हुने र प्रशासनिक कर्मचारीहरुलाई सेवा अवधिभर सिप, दक्षता, कार्य कुशलता, अभिवृद्धि गर्ने तालिम, अध्ययन आदिको अवसरबाट वञ्चित गर्नु वा नगण्य मात्रामा प्रदान गर्नुले अस्पताल व्यवस्थापनमा थप चुनौतीहरु देखा परेका छन्।

स्वास्थ्य सेवा संस्थान स्थापनाका लागि निर्देशिका २०७० अनुसार प्रत्येक २५ शय्यादेखि माथिका प्रत्येक अस्पतालमा एक वा आवश्यक परेमा त्योभन्दा धेरै अस्पताल व्यवस्थापक राख्नुपर्ने व्यवस्था गरिएको छ।

प्रत्येक अस्पतालमा कुसल तथा दक्ष अस्पताल व्यवस्थापकको उपस्थिति भएमा सरल वा जटिल प्रकारको स्वस्थ्य सुविधा सरल, सुलभ र सहज तरिकाले प्रदान गर्न सकिन्छ भने नेपालको वर्तमान अभ्यासले देखाउँछ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x