क्यान्सरका बिरामीको उपचारमा सरकारी बेवास्ता

मानव शरीरमा कोषहरु निरन्तर वृद्धि भइरहन्छन्। अनियन्त्रित कोषको वृद्धिलाई क्यान्सर रोग भनिन्छ। यो रोग कसरी लाग्छ भन्ने अहिलेसम्म पत्ता लागेको छैन। तर समयमै रोग पत्ता लगाई उचित उपचार गरेमा कतिपय क्यान्सर रोग निको हुन्छ।

संसारमा मृत्युको दोस्रो कारण क्यान्सर हो। ग्लोबल क्यान्सर अब्जेरभेटरीका अनुसार यो रोगबाट सन् २०२० मा मात्र ९९,५८,१३३ जनाको मृत्यु भएको छ भने यही वर्ष १,९२,९२,७८९ नयाँ क्यान्सरका बिरामी थापिएका छन्। नेपालमा गएको वर्ष १३,६२९ जनाको क्यान्सरका कारण ज्यान गएको छ भने सोही वर्ष २०,८०५ जना नयाँ क्यान्सरका बिरामी थपिएका छन्।

नेपालमा सबैभन्दा बढी फोक्सोको क्यान्सर देखिएको छ। गएको वर्ष मात्र २,५०५ जना फोक्सोको क्यान्सरका नयाँ बिरामी देखिएका छन्। त्यस्तै दोस्रोमा गर्भासय/पठ्यघरको क्यान्सर देखियको छ।

नेपालमा २,४४४ जना महिलामा गर्भासयको र १,५५२ स्तन क्यान्सर देखिएको हो। १,०९० जनामा कोलोरेक्टम र ११,१४४ जनामा अन्य क्यान्सर डाइगोनोसिस भएको देखिन्छ। गत वर्षको डाटा हेर्दा क्यान्सर रोग नेपलमा भयावह रुपमा रहेको छ। यो बाहेक डाइग्नोसिस नभएका बिरामी त्यत्तिकै  संख्यामा रहेको अनुमान गर्न सकिन्छ।

नेपालमा हाल डाइग्नोसिस भएका क्यान्सरका बिरामीले कुनै प्रकारको उपचार लिइरहेका छन् भने कतिपय बिरामी बिना डाइगोनोसिस मृत्यु हुने गरेका छन् वा बाँकी बिरामी उपचारको पहुँच बाहिर रहेका छन्। उपचार लिइरहेका बिरामीलेमध्ये करिब दस प्रतिशत बिरामीले मात्र गुणस्तरीय उपचार सेवा पाएका छन्।

बिरामीले सहज उपचार नपाउनुको कारण नेपालमा स्रोत-साधनको कमी नभई सरकारी अकर्मण्यता हो। बिरामीको अनुपातमा क्यान्सर अस्पतालको संख्या निकै कम हुनु अर्को कारण हो। त्यस्तै भएका क्यान्सर अस्पतालहरु केन्द्रीकृत छन्।

मुलुकको मध्य तथा पूर्वी भागमा क्यान्सर अस्पताल भए पनि पश्चिमी भागमा क्यान्सर डेडिकेटेड अस्पताल छैन वा भएका अस्पतालमा न स्रोत छ न त साधन नै।

सरकारसँग पुँजी र स्रोत हुँदा पनि त्यसको सही परिचालन हुन नसक्दा नेपलमा आवश्यक क्यान्सर रोग अस्पताल बन्न सकेका छैनन्। सरकारी तवरबाट क्यान्सर जस्ता जटिल रोगको उपचार निदानको लागि आवश्यक नीति तर्जुमा गरी उपलब्ध स्रोत र साधन परिचन गरिनुपर्छ।

नेपालमा सन् २०२० मा नयाँ थपिएका र गत वर्ष उपचार गरिरहेका बिरामीको संख्या तीस हजारभन्दा माथि छ। अस्पतालहरुमा उपचार गरिरहेका बिरामीहरुले गुणस्तरीय उपचार पाइरहेका छैनन्। करिब दसदेखि पन्ध्र प्रतिशत बिरामीले गुणस्तरीय उपचार पाउँछन् भने बाँकी ८५ प्रतिशत बिरामीले गुणस्तरीय उपचार पाउँदैनन्।

अस्पतालहरुमा उच्च बिरामीको चापले गर्दा बिरामीलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्न गाह्रो छ भने बिरामीको उच्च चापले गर्दा उपचार गुणस्तरमा ध्यान दिन सकिएको छैन। यस्तो अवस्थामा सरकारले हरेक प्रदेशमा एउटा क्यान्सर डेडिकेटेड अस्पताल खोल्यो भने उपचार गुणस्तर बढ्न सक्छ। तर सरकार र सम्बन्धित निकाय यति लाचार छ कि भएका अस्पतालमा पनि समयमै उपचार उपकरण उपलब्ध गराउन सक्दैन, आवश्यक कर्मचारी भर्ना गर्न सक्दैन।

बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोथेरापी उपकरणको अभावमा रेडियोथेरापी सेवा सुरु गर्न सकिएको छैन।

हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा रेडियोथेरापी उपकरण मेडिकल लिन्याक किन्न पहल गरेको छ। उक्त अस्पतालले क्यान्सर उपचारका रेडियोथेरापी सेवा बहेका सेवा सुरु गरिसकेको छ। अब चाँडै रेडियोथेरापी सेवा पनि प्रवाह गर्ने अपेक्षा गर्न सकिन्छ।

पश्चिम क्षेत्रका बिरामीलाई त्यहाँ उपचार सेवा नहुँदा भरतपुर वा भक्तपुर धाउनु परिरहेको छ। बिरामीलाई पर्ने अप्ठेरोको बारेमा मन्त्रालय र सम्बन्धित निकायलाई थाहा नभएको भने होइन तर पनि अचम्म लाग्छ। किन अस्पतालहरुलाई समयमै उपकरण र दक्ष जनशक्ति उपलब्ध गराइँदैन होला!

क्यान्सरका बिरामीमध्ये करिब पचास प्रतिशत बिरामीको रेडियोथेरापी उपचार गर्नुपर्ने हुन्छ। अहिले क्यान्सर अस्पतालमा उपचार गरिरहेका बिरामीले समयमै रेडियोथेरापी सेवा पाउन सकिरहेका छैनन्।

नेपालका गैर-सरकारी क्यान्सर अस्पतालमा रेडियोथेरापी उपचार सामान्य नेपालीको पहुँच बाहिरको कुरा हो भने सरकारी अस्पतालहरुमा रेडियोथेरापी सेवा पाउन लामो समय कुर्नु परिरहेको छ।

साधारणतया: क्यान्सरका बिरामीको रेडियोथेरापी उपचार गर्ने निर्णय गरी सिटी सिमुलेसन गरिसकेपछि एक हप्ताभित्र उपचार पाइसक्नुपर्ने हुन्छ तर अहिले सरकारी अस्पतालहरुमा बिरामीले रेडियोथेरापी उपचार पाउन दुईदेखि तीन महिना कुर्नु परिरहेको छ।

त्यस्तै पालिएटिभ उपचार गर्नुपर्ने बिरामीलाई तुरुन्त रेडियसन उपचार गर्नुपर्छ तर त्यस्ता बिरामीको समेत समयमै उपचार गर्न सकिएको छैन। यस्तोमा रेडियसन उपचारलाई प्राथमिक उपचारको रुपमा प्रोटोकल निर्माण गरी उपचार पद्दति विकास गर्न सकिएको छैन भने रेडियोथेरापी उपचारका अत्याधुनिक उचहार पद्दतिमा हामी जान सकेका छैनौं।

क्यान्सर रोग जति पहिला डाइगोनोसिस भयो त्यति उपचार सजिलो हुन्छ। तर प्रायजसो क्यान्सर ढिला थाहा हुन्छ र उपचार गाह्रो हुन्छ। क्यान्सर रोग लागेको छिटो थाहा पाउनका लागि बिरामीलाई शंका लागेमा तुरुन्त सम्बन्धित अस्पताल गई चेक-जाँच गर्नुपर्छ।

नेपालमा अर्ली क्यान्सर रोग पत्ता लगाउने प्रविधि हाल केही गैर-सरकारी अस्पतालमा उपलब्ध छ। खासगरी न्युक्लियर इमेजिङ टेक्नोलोजीबाट अर्ली क्यान्सर रोग पत्ता लाग्छ।

यो प्रविधिमा बिरामीलाई रेडियो फर्मास्युटिकल इन्जेक्ट गरी बिरामीबाट निस्किने रेडियो सिग्नललाई पुनर्संरचना गरी इमेज निकालिन्छ। बिरामीलाई रेडियो फर्मास्युटिकल  इन्जेक्ट गर्दा त्यो बिरामीको शंकास्पद भाग गई बस्छ र त्यहीबाट निस्किने रेडियो सिग्नललाई पुनर्संरचना गरिन्छ र न्युक्लियर इमेज बन्छ।

नेपालमा भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा न्युक्लियर इमेजिङ प्रविधि (पेट स्क्यान) भित्र्याउन भनी केही वर्षअघि नै टेन्डर आह्वान भएको थियो तर टेन्डर प्रक्रियामा नै विवाद हुँदा उक्त मेसिन कहिले आउँछ भन्ने अन्योल भएकोमा अहिले फेरि अस्पतालले प्रक्रिया अघि बढाएको छ। योसँगै उक्त अस्पतालले नयाँ अत्याधुनिक मेडिकल लिंक भित्र्याउने प्रक्रिया अन्तिम चरणमा रहेको छ।

त्यस्तै वीर अस्पतालले पनि उक्त प्रविधि भित्र्याउने प्रक्रिया बढाएको छ। तर न्युक्लियर इमेजिङमा प्रयोग हुने रेडियो फर्मास्युटिकल कसरी उत्पादन गर्ने भन्ने अन्योल छ।

नेपाललले आफ्नै साइक्लोट्रन सञ्चालन गर्न आवश्यक हुन्छ। पेट स्क्यानमा प्रयोग हुने रेडियो फर्मास्युटिकल १८-एफडिजीको हाफ लाइफ एक सय दस मिनेट मात्र हुने हुँदा यसलाई भारत वा तेस्रो मुलुकबाट आयात गरी प्रयोग गर्न अप्ठेरो छ।

हुन त, नेपालले आफ्नै साइक्लोट्रन सञ्चालन गर्न प्रक्रिया अघि बढाएको छ जुन सराहनीय छ। तर सरकार तथा सम्बन्धित निकायले जनस्वास्थ्यको लागि साइक्लोट्रन सञ्चालन गर्न आवश्यक सहयोग पुर्‍याउनु पर्छ। सरकार र सम्बन्धित निकायले न्युक्लियर इमेजिङ प्रविधि सेवा सुचारुको लागि आइपर्ने व्यवधानलाई सहजीकरण गरिदिनुपर्छ।

सरकारी अस्पतालमा आइएइएद्वारा उपलब्ध एस्पेक्ट सेवा पनि उपलब्ध गराउन नसक्नु दुखद हो। यसको कारण स्पेक्ट इमेजिङको लागि आवश्यक रेडियो फार्मास्युटिकल ९९-मेटास्टेसिस टेक्नेसिएम नहुनु हो।

नेपालमा सरकारी निकायहरु जनस्वास्थ्यको लागि त्यति उत्तरदायी देखिँदैनन्। मुलुकको राजधानीको  केन्द्रमा अवस्थित नेपालकै पुरानो सरकारी अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा विगत पाँच वर्षदेखि रेडियोथेरापी सेवा बन्द रहेको छ। सेवा सुचारुको लागि अस्पताले अत्याधुनिक टोमोथेरापी मेसिन किनेको चार वर्ष बितिसक्दा पनि सेवा कहिले सुरु हुन्छ अनिश्चित छ।

अस्पतालमा भएको ब्राकिथेरापी मेसिन बिना बिरामी उपचार थन्किएको छ। त्यस्तै सरकारी अस्पतालहरुमा भएका अत्याधुनिक रेडियोथेरापी मेसिनहरु फुल-फेजमा सञ्चालन नहुँदा एकातर्फ बिरामीले समयमा उपचार पाएका छैनन् भने अर्कोतर्फ मेसिनको वारेन्टी समय पूर्णप्रयोग बिना नै सकिँदै छ।

त्यस्ता अस्पतालले सम्बन्धित कर्मचारीलाई प्रोत्साहन गरी मेसिनलाई पूर्ण रुपमा चलाउनुपर्छ। यसबाट बिरामीले समयमै उपचार पाउने मात्र होइन, उपचार गुणस्तर पनि बढ्न जान्छ।

(अधिकारी अन्तर्राष्ट्रिय मान्यताप्राप्त रेडियसन ओङ्कोलोजी फिजिसिस्ट हुन्।) 

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x