पण्डितको छोरो भएर भैँसीको मम खाने!लघु कथा

बसको झ्यालबाट आएको चिसो सिरेटोले म ब्युझिएँ। यात्रुहरुले खचाखच बसमा ताजा हावाको लागि कसैले झ्याल खोलेको होला। तर पुसको सिरेटो थाम्नै नसकिने गरी अनुहारमा ठोकिएर बसभरि छरपस्ट हुन्थ्यो।

अरूलाई शितलै भएको होला, मैले खप्नै सकिनँ। बन्द गरिदिएँ। झ्याल आखिरमा सिटमा बस्नेकै अधिकार हुन्छ। मेरो अधिकार क्षेत्रभित्र भएकाले निर्धक्क बन्द गरेँ।

केही आँखाले घोचे, केही मनले सरापे। तर मैले बन्द गरेँ। सपाट फाँटमाथि ठिंग उभिएको मध्य पहाडी श्रृंखलाको छाती चिरेर उकालिएको नागबेली सडकमा दमको रोगीझैँ खुइय, खुइय गर्दै उकालिँदै थियो बस।

बेला बेलामा घ्यार घ्यार गर्दै रोकिन खोज्दा खलासी हत न पत्त ओर्लेर टेको लगाउँथ्यो। एकअर्कामै च्यापिएर पिल्सिएका यात्रुहरू बारम्बार ड्राइभर खलासीलाई सराप्थे।

‘पिच बाटा नि नगुड्नेगरी मान्छे कोच्नु पर्ने असत्तिलाई’ यस्तै प्रकारका गाली कहिले यो कुनामा त कहिले त्यो कुनामा प्रतिध्वनित भैरहे। न ड्राइभरले सुन्यो न खलासीले नै।

‘ओ दिदी, अलि पर सर्नु न, अरूलाई पनि जानु पर्छ…’ भन्दै यात्री चढाउँनै तल्लीन रहे निरन्तर। अन्ततः संघर्षले शिखर चुम्यो। कालोपत्रे नागबेले सडकमा लामो पौठाजोरी गर्दै बस पहाडको शिखरमा आइपुग्यो। केहि नयाँ यात्री थपिए। केही नयाँ गाली बर्सिए।

तर मेरो बगलमै सुतेको मेरो साथी रबिलाई न चिसो सिरेटोले छोयो न बसको हल्ली खल्लीले नै ब्युझायो। यस्तो कोलाहलमा पनि रबिको निन्द्रा खुलेन।

‘कति कुम्भकर्ण जस्तो सुतेको, उठ् बनेपा आउनै लाग्यो’ मैले उस्लाई झकझकाउँदै बोलाएँ।

ऊ आँखा मिच्दै उठ्यो, यसो वरपर हेऱ्यो ‘ह्या, अझैं बाँकी छ बनेपा आउन। किन उठाको होला यस्ले।’ ऊ फेरि सुत्यो।

कुहिरोको चिसो चाँदर ओडेर लम्तन्न फैलिएको बनेपा बजार ६० किलोमिटर प्रति घण्टाको रफ्तारले नजिकिँदै गयो। सिंगै सहर कुहिरोमुनि सलबलाई रहँदा थुम्को माथिको पानीको ट्यांकी मात्र कुहिरोभन्दा माथि सानले ठडिएको थियो।

नागबेली र साँघुरो पॄथ्वीराजमार्ग बजारभरि चौडा भएर सिधारेखामा कुद्दो रहेछ। एक्लै यति टाढा यात्रा गरेको यो मेरो पहिलो अनुभव हो। नत्र कहिले आमाको हात समातेर या बाको पाइला पछ्याएर यात्रा गरिन्थ्यो।

अभिभावक बिनाको यत्राको अनुभूति बेग्लै हुँदो रहेछ। अलि अलि स्वतन्त्र अनि अलि अलि सतर्क। सहरको बीचोबीच रहेको त्रिभुवनको सालिकबाट करिब करिब दुई सय मिटर पूर्व गएर बस रोकियो। खलासीले हाम्रो गन्तब्य आएको इशारा गरेपछि हामी झर्यौं।

साँगा भन्ज्याङबाट शान्त देखिने सहर निकै कोलाहल र चलायमान रहेछ। कतै रेडियो क्यासेटको आवाज, सडक व्यापारीहरूको तँछाड मछाको कोलाहल अनि गाडीको कर्कस ध्वनी।

सडक पेटीमा असरल्ल बजार, डुग्ङ डुग्ङ धुलो उडेको, जमेर डुग्ङ डुग्ङ गनाउने नाली। बनेपा पहिलो पटक त होइन तर यति विघ्न सतर्क कहिलै थिइनँ। स्कुल ड्रेसमाथि ज्याकेट लगाएर केहीबेर बजार विचरण गरौँ। घुम्दै फिर्दै पुनः सालिक चोकमा आएर अडियौं।

मैले घडी हेरेँ, बिहानको ११:३० भैसकेछ। भोकले पेट कल्याङ कुलुङ गरेको निकै अघिदेखि हो। रबि एकटकले चोक वरपर हेर्दै थियो।

मैले सोधें ‘खै कहाँ छ त मम पसल?’

‘पख न, हेर्दै छु। सुमनले त चोकमै छ भन्थ्यो।’

‘कसैलाई सोधौ न त, भोक लागिसक्यो यार।’

मैले खल्तिबाट एउटा चुइङगम निकालेर उसलाई दिँदै भनेँ, ‘ला मेन्टोस खा, यसले दिमागको बत्ती बाल्छ बुझिस्।’

हामी नजीकै एकजना अधबैँसे मानिस सडक पेटीमा लत्ताकपडा बेच्दै थिए। मैले सोधेँ ‘दाइ, मम पसल कता छ?’

‘मम पसल त बसपार्कमा छ।’

हामीले सोध्यौँ, ‘बसपार्क कता छ?”

उनले इशाराले देखाउँदै भने ‘ऊ त्यो पानी ट्यांकीको आडैमा छ।’

रबिले पत्याएन। वरिपरि हेऱ्यो अनि पुनः सोध्यो ‘त्यति टाढा छ र दाइ? मेरो साथीले त चोकैमा छ भन्थ्यो।’

‘उसो भए तिम्रै साथीलाई सोध भाइ। मलाई फुर्सद छैन। आफै खोज्नु नि। कहाँ कहाँबाट आइपुग्छ्न बुनी खराब गर्न’ फतफताउँदै उनी आफ्नो सामानको विज्ञापनमा लागे।

यिनीहरूको पनि आफ्नै व्याथा छ। सटर भाडामा लिएर पसल राख्न उनीहरूको सामर्थ्य छैन, सडक पेटीमा पसल राख्यो कहिले पुलिसले लखेट्छ। कहिले नगर प्रहरीले लखेट्छ। सधैँको हैरानी। यिनीहरूको आधा ध्यान प्रहरीलाई हेर्न अनि आधा ध्यान समान बेच्न हुन्छ। कसैकसैले त घरपरिवार वा बालबच्चा पनि राख्छन् प्रहरीलाई हेर्न।

खासा व्यापार सुरू भएको त धेरै भएको छैन। कमसल नै भएपनि सहुलियत मूल्यमा पाइने भएकाले खासा व्यापार फस्टाइरहेको मनग्य उदाहरण सहरका चोक चोक गल्ली गल्लीमा देखिन्छन्। खासा व्यापारले धेरैलाई रोजगारी पनि दिएको छ। नत्र हाम्रा बाले टिभी किन्ने नै थिएनन् कि!

केही बेरको तलास पश्चात पनौती जाने बाटोमा भेटियो मम पसल। औधी भोकाएका हामीले दुई दुई प्लेट मम खायौँ। पहिलो पटक बफ मम खाएको साह्रै मिठो लाग्यो। अझै खाँउ-खाँउ थियो तर पेटमा ठाउँ नै थिएन।

उही पेट त भरियो तर मन भरिएन। सिंगै हरिण निलेको अजिंगर लडेझैँ हामी दुई अलिपर चौरमा पुगेर पल्टियौँ। कति बेला निदायौँ पतै भएन। ब्युझिँदा त तीन बजि सकेछ। यसो बसपार्क तिर हेरेको, बसपार्क त खाली छ।

‘ल बर्बाद, बस त छुट्यो कि क हो? बसपार्क त खाली छ त यार’ मैले आशंका पोखेँ।

तुरून्तै हामी हानिएर बसको काउन्टरमा पुग्यौँ र एकै सासमा सोध्यौँ ‘दाइ, तीन बजे काठमाडौँ जाने बस गैसक्यो?’

‘छैन भाइ, तीन बजेको बस ढिला भयो। अब चार बजेमात्र आउँछ।’

असिन पसिन भई डरले काँपेको ज्यानमा तागत संचित भएर आयो। राहतको सास फेर्दै पुनः चौरमा बस्यौँ। गफियौं। भोलि साथीहरूलाई सुनाउनै कथिएका अतिरन्जित कथाहरू। केही घठित अनि केही कल्पित।

रबि अरूको नक्कल गर्न खप्पिस छ। उसले केहीको नक्कल गरेर देखायो। उनको पनि हिँडाइ र बोल्ने शैलीको नक्कल गरेर देखायो। म अलि असहज भएँ। यद्यपि मेरा आँखामा निकै चमक थियो। सायद रबिले पनि भेउ पायो कि? उसले कुनै प्रतिक्रिया देखाएन। सायद उसले भेउनै पाइनँ।

म भने उनी पनि इम्प्रेस हुनेमा ढुक्क थिएँ। रबि मेरो एकदमै मिल्ने साथी, उसलाई मेरो अनि मलाई उसको सबै राज थाहा थियो सिवाय मेरो अमुक अव्यक्त प्रेम अनि मनकी प्रेमिका।

किशोर अवस्था साँच्चै नै विद्रोही अवस्था रहेछ। गर्न हुँदैन भनेको काम गर्न मन लाग्ने। झन् नगर भनेपछि त त्यो काम नगरी न हुने। हामी पनि विद्रोही नै हौँ। समाजिक मान्यता विरूद्ध सुस्तरी हमला गर्ने। रूढीग्रस्त विभेदकारी समाजिक प्रणालीको लुसुक्क अवज्ञा गर्ने।

दुस्साहसकारी विद्रोही नै त हौँ हामी। म ब्राह्रमण पुत्र अनि ऊ सुप्रिपद्ध पण्डित पुत्र। हाम्रा बाउबाजेले नगरेको काम गरेका छौँ हामीले आज। त्यसैले आजबाट हामी कुलद्रोही, विद्रोही।

‘जात फालिस् त पण्डित भैँसीको झोलमा’ भन्दै हाँस्यौँ हामी।

‘हाम्रो त जात गयो नि बाहुन। कसैले थाहा पायो भने त गाली पो खानु पर्छ त’ मैले भनेँ।

‘गाली मात्र हैन, पिटाइ नै खाइन्छ’ उसले प्रष्ट पाऱ्यो।

खुला आर्थनीतिसँगै प्रत्येक सहरका घर, भान्छामा नवीन परिकारले निकै अगाडि विस्थापित गरिसक्दा पनि ब्राह्रमणको भान्छा भने उस्तै छ। पुरातन, अपरिस्कृत अनि स्वादहीन। मलाई यस्तै लाग्छ। हामीले खाने सामानको सुचीभन्दा नखाने सुची निकै लामो छ।

समाजका अरू वर्गले निर्वाद खाइरहँदा हामीलाई बन्देज गर्ने सोच नै टिठलाग्दो, विभेदकारी लाग्थ्यो हामीलाई। खाना पकाउँदै गर्दा मैले आमालाई सुनाएँ ‘आमा, हामीले स्कुलमा विज्ञानमा पढेको सधैँ एकै प्रकारको खानेकुरा खानु हुँदैन। सधैँ एकै प्रकारको खानेकुरा खाँदा पेट ठूलो हुने रोग लाग्ने हुन्छ। बेलाबेलामा अन्डा, कुखुराको मासु पनि खानु पर्छ।’

मेरो कुरा नसकिँदै आमाको जवाफ आयो ‘बाहुनको छोरो भएर अन्डा सन्डा खानु हुँदैन। जात जान्छ।’

‘आमा, विज्ञान भनेको डाक्टर हो, डाक्टले भनेको सुन्नु पर्छ।’

‘खै म केही जान्दिनँ, तेरो बालाई सोध्। बाउले खानदिए खा’ भनेर आमा पन्छिइन्।

हाम्रो संवाद यही टुंगियो। मैले कहिल्यै बासँग कुरा गरिनँ। आमाले के गरिन् मैले कहिल्यै जान्न चाहिनँ। बालाई यी कुरा सुनाउनु भनेको फेरि गाली खानु हो। मैले यो कुरालाई यहीँ अन्त्य गरेँ।

एकदिन हामी स्कुलबाट फर्कँदै गर्दा रबिले सोध्यो ‘माने, तैंले बफ मम खाएको छस्?’

‘छैन।’

‘मैले पनि खाएको छैन, कतै टाढा गएर खाएर आँउ।’

‘कहाँ जाने?’

‘बनेपा गए कसैले पनि चिन्दैनन्। अनि त्याहाँ नयाँ मम पसल खोलेको छ रे। हामीसँग दशैँको पैसा पनि छ। सुमन र उस्को दाइ गएर मम खाएर आएको रे अस्ति। त्यही भएर स्कुल नआएको रहेछ। हामी पनि जाउँ।’

मैले हौसिँदै सोधेँ ‘कहिले जाने त?’

‘पर्सी तीन तीन वटा कक्षा खाली छ, पढाइलाई नि असर नगर्ने, मम पनि खाइने। के भन्छस?’

मैले पनि ‘हुन्छ’ भनिदिएँ। र आज हामी यहाँ छौँ, चौरमा बसेर घाम ताप्दै बनेपा बजारको बसपर्कमा।

घामले डाँडा पछाडि विश्राम लियो। सागरभरि फैलिएको अस्ताउँदै गरेको घामको लालीमालाई बादलका थुंगाले मेट्ट्दै गए। अनि साँझका पाइला गाडा हुँदै थिए। दुबोमा ओसका थोपाहरू बिजुलीको प्रकाशमा टिलपिलाउन थाले। तर हामीलाई लाने बस आएन।

गफिँदै गर्दा पनि हाम्रा आँखाले बसपार्कका झ्यालहरूलाई नै नियाली रहन्थ्यो। तर बस आएन। बड्दै गएको चिसो अनि डरले हामी काम्न थाल्यौँ। हाम्रा दाँतहरू कड्कडाउन थाले। हामी असमन्जसमा थियौँ। अझै पनि बस आउँछ, ढिलै भएपनि हामी घर पुग्ने आशाको सानो त्यान्द्रो मनमा थियो।।तर ढुक्क थियौँ या थिएनौँ, हामी सोच्न पनि चाहँदैन थियौँ।

‘बसले ढिला गऱ्यो, चिसो पनि भयो हिँड् चिया खाउँ’ मैले हाम्रो मौनता भंग गरेँ। मैले ज्याकेट लगाएँ अनि उसको हात तानेर उसलाई पनि उठाएँ। उसले निकै भारी स्वरमा प्रश्न गऱ्यो ‘माने, बस आएन भने क गर्ने यार?’

मैले सामना गर्न नखोजेको प्रश्न थियो यो। के गर्ने, के गर्ने! न उसलाई थाहा थियो न मलाई। सायद यो प्रश्नको उत्तर समयको गर्भमा समस्याको रूपमा विकसित हुँदै थियो, समयले धोका दिँदै थियो हामीलाई।

हाम्रो गोपनियता भंग गर्न उद्धत यो पापी समय। तर मैले ओठे जवाफ दिएँ ‘ह्या नडरा आउँछ, हिँड् चिया खाउँ अनि बुझौँ बस किन नआएको रहेछ।’

हुन त लुकेर गरिने गोप्य काम सधैँ जोखिम नै हुन्छ। पहिलो जोखिम गोपनियता भंग हुनु नै हो। त्यसपछि क्रमैसँग नैतिक, सामाजिक र आर्थिक जोखिमहरू गरिएको कामको आकार अनि प्रकार सापेक्षित हुन्छन्। तर हुन्छ।

हाम्रो गोपनियता भंग हुँदा कस्तो असर होला? बालाई बेला बेलामा पण्डित्याइँ सघाउने रबिको त्यसपछि उसको पार्ट टाइम पण्डित्याइँको के होला? मेरो परिवारले भैँसीको मासु खाएकोमा कस्तो प्रतिक्रिया जनाउलान्?

हामी बसपार्कसँगैको चिया पसलमा गयौँ। दुई कप चिया माग्यौँ र कुनाको बेन्चमा बसेर चिया पिउन लाग्यौँ।

निकै बेर हामी त्यहीँ बसिरह्यौँ मौन। क्षण क्षणमै घनीभूत हुँदै गएको अन्धकारले चिमोट्दै थियो। लोडसेडिङको निस्पट अन्धकारमा बिलाउँदै गएको सहरसँगै चिया पसलमा पनि मानिसहरूको आवतजावत पातलिँदै गयो।

सँगैको बसपार्क मलामी फर्केपछिको मसानघाटजस्तै सुनसान थियो। हामी यतिकै टोलाएर बसेको देखेर चियापसले साहुजीले सोधे ‘ए भाइहरू, रात परिसक्यो तिमीहरूलाई घर जानु पर्दैन?’ साहुजीको प्रश्न अनपेक्षित थियो।

अनुत्तरित, असहज हामी मुखामुख गरिरह्यौँ। पसलमा रहेका दर्जन जति गफिँदै रहेका ग्राहकहरूको ध्यान हामीतिर सोझिसकेका थिए।

‘यिनीहरूलाई मैले बिहानदेखि नै बजार वरिपरि देख्या थिएँ।

अर्को प्रश्न ‘घर कहाँ हो भाइ तिमीहरूको?’

चिटिक्क आइरन लगाएका सफा लुगा लगाएका उनी झट्ट हेर्दा हाम्रा मुकेश सर जस्ता देखिन्छन्। तर यिनको बोली मुकेश सरको विपरीत नरम र मायालु।

‘सर हामी काठमाडौँबाट आएका हौँ। तीन बजेदेखि बस कुर्दा कुर्दा आएन’ यति भनिसक्दा मेरो गला अवरूद्ध भई आँसु गालाबाट ओरालो लागिसकेछन्। रबि पनि सुँक्क-सुँक्क गर्न थालिसकेको थियो।

‘काठमाडौँमा कहाँ हो घर?’

‘कपन’ यसपाली रबिले जवाफ दियो।

‘स्कुलबाट भागेर आएका त होलाउ? कपन कुन स्कुलमा पढ्छौ नि?’

यसपालि पनि रबिले जवाफ दियो ‘जेम्स स्कुल।’

‘आज बस आउँदैन। साँगादेखि जगातीसम्म कर्फ्यू लागेको छ।’

उनले पढ्दै गरेको सन्ध्याकालीन पत्रिकाको हेडलाइन थियो ‘सडक दुर्घटनामा स्थानीय युवाको मृत्युपछि साँगादेखि जगातीसम्म कर्फ्यू।’

पत्रिकाको हेडलाइन देखाउँदै उनले सोधे ‘कहाँ बास बस्छौ त? राति त यहाँ स्याल आउँछ।’

हाम्रो सुक्क-सुक्क ठूलो अनि छिटो छिटो हुन थाल्यो। केही रमिते भए, कोही काल्पिक कथा बुनेर हामीलाई डराउन उद्यत थिए। डर संकोच अनि सरमले आफ्नो आकारभन्दा आधा खुम्चिएर हामी जड भैसकेका थियौँ। उनी हाम्रो समिपमा आएर बसे।

‘नडराऊ म तिमीहरूको मुकेश सरलाई चिन्दछु। म उनलाई खबर गरिदिन्छु कि तिमीहरू यहाँ छौ भनेर। उनले तिमीहरूको परिवारलाई खबर गरिदिन्छन्।’

हामीले अगाडि नै लख काटिसकेका थियौं उनी मुकेश सरका दाजुभाइ हुन् भन्ने। दाइ रहेछन्। नजिकैको स्कुलका प्रिन्सिपल। हामी उनीसँगै उनको घर आयौं। चोकबाट निकै पर चन्डेश्वरी डाँडाको फेदैमा। तीन तले घरको दोस्रो तलामा दुई कोठाको डेरा सफा र सुव्यव्स्थित।

व्यवस्थितसँग राखिएका फर्निचर हामीले फिल्ममा देखेको घर जस्तो। एउटा भान्छा र बैठक कोठा अनि अर्को सुत्ने कोठा। ग्याँस चुलोको भान्छा, बीचमा डाइनिङ टेबल एउटा लोबेड अनि सोफा। भित्तामा टिभी, त्योसँगै जुत्ता राख्ने सानो ऱ्याक।

सुत्ने कोठामा मिलाएको बेड र कम्प्युटर। हामीलाई खाना खान मन थिएन। तर सरले खाना नखाइ सुत्नु हुँदैन, अलिकति भएपनि तातो खाना खायो भने राम्रो निन्द्रा पर्छ भनेर कर गर्नु भएकाले करैले अलि अलि खायौँ।

खाना खाइरहँदा केही चुट्किला सुनाएर हँसाउनु भयो। रोएर मलिन अनुहार पनि हाँसोमा चम्किए क्षणभरका लागि।

‘तिमीहरू भित्र सुत, म बाहिर सुत्छु। अनि तिमीहरूको परिवारलाई खबर पनि गर्छु।’

हामीलाई भित्र पठाएर ढोका बन्द गरिदिए। उनले दुई/तीन जनालाई फोन गरे। केहीबेर गफिए। के भने, के कुरा गरे, प्रष्ट सुनिएन तर हाम्रै बारेमा गरे त्यो पक्कै हो।

अन्धकार कोठामा घडीको एकोहोरो कर्णकटु टक टक निरन्तर गुन्जी रह्यो। डर र ग्लानीको मिश्रित उत्तेजनाले बेलगाम भएर उफ्रेको मुटु छाती फोडेरै निक्लेला झैँ धड्की रह्यो। भोलिको दिनलाई कसरी सामना गर्ने? स्कुल छोडेर किन बनेपा आएको? यो प्रश्नको उत्तरका लागि न हामी तयार थियौँ न तयारी नै थियो।

कल्पनाले मात्र पनि नौनाडी गलेर आउँछ भने सामना कसरी गर्ने होला? सोच्दै नसोचेको कस्तो विसम् परिस्थितिको सामना गर्नु पऱ्यो। कास यो सपना भैदिए हुन्थ्यो। तर यो घाम झैँ सत्य थियो। नांगो सत्य।

चिया पसलबाट आएपछि ऊ केही बोलेन। केहिबेरसम्म सुँक्क-सुँक्क रूदै थियो। अब त त्यो पनि बन्द भयो। सायद ऊ निदायो होला। यहाँ मम खान आउने योजना उसकै थियो। उसको मौनताभित्र गिल्ट छिपेको अनुभव हुन्छ मलाई।

यो उसको मात्र गल्ती पनि होइन। दुवैको सहमतीमा आएका हौँ। बराबरका भागिदार हौँ हामी। म जुन परिस्थितिको सामना गरिरहेछु, यसको जिम्मेवार म नै हुँ। यो मैले मेरी हजुरआमाबाट सिकेको।

उहाँ भन्नु हुन्थ्यो ‘साझेदारीमा गरिएका काम सफल अनि असफल हुनुमा सबै साझेदारको बराबर योगदान हुन्छ। कुनै कार्य सफल हुँदा जस जति आफू लिने अनि असफल हुँदा अपजस जति अर्काको थाप्लोमा हाल्ने नगर्नु। यस्तो कार्यले मानिसलाई स्वार्थी बनाउँछ।

तँ सधैँ स्वार्थी मानिसहरूको घेराबन्दीमा हुन्छस्। स्वार्थी मानिसहरू सधैँ प्रेमको भोका हुन्छन्। प्रेमको भोको मानिस कहिल्यै खुसी र सन्तोष हुँदैन। तँ त्यस्तो कहिल्यै नभएस्।’

निस्पट अन्धकारमा व्याप्त संवादहीनता घनिभूत हुँदा हुँदै अनिदै रात छर्लंगै भयो। सायद खबर पाउने बित्तिकै हिडेछन् क्यारे, आधि रातमै आइपुग्नु भयो बाहरू हामीलाई लिन।

निदाए झैँ गरीरहेँ, हाम्रा बा र रबिका बाले ढोका खोलेर हामीलाई हेर्दा। ढप्केको ढोकाबाट चिहाउँदै पिलपिले उज्यालोमा मैले बा र रबिका बासँगै मुकेश सर र पिन्सिपल सरलाई पनि देखेँ।

बिहान आँखा उठाएर उहाँहरूलाई हेर्ने साहस न मैले जुटाएँ न उसले नै। हामी निउरी मुन्टी न नै भैरह्यौ बिहानभरि।

‘स्वाँठहरूलाई घरको घ्यु र भात नपचेको। गल्लाले लगेर भाँडा मजाउँथ्यो अनि थाहाँ पाउँथे। बाबुले नभेटेको भए यी स्वाँठहरूलाई कि बाघले लैजानिरहेछ कि गल्लाले लगेर बेच्नी रहेछ।’

जुम्ल्या हात गर्दै रबिका बाले धन्यवाद दिए। राति हामीलाई यहाँ नल्याइएको भए या भनौँ उद्धार नगरिएको भए परिणाम निकै भयानक हुने ज्ञातले सातोपुत्लो उड्यो। उही चिया पसलमा हामीले चिया र दुनोट खायौँ। उनै सरलाई नमस्कार गरेर प्रिन्सिपल सरको जीपमा चढेर फर्कियौँ।

फिर्ती यात्रा सहज नै रह्यो। हामीलाई कसैले केही पनि सोधेनन् जुन अस्वभाविक थियो। उनीहरू राजनीति र समसामयिक घटनाहरूमै गफिइरहे। म र रबि गुमसुम थियौँ। म कति बेला निदाइसके छु। अर्धनिन्द्रामै मैले रबि मलाई झकझकाई रहेको महशुस गरेँ।

तन्द्रामै सोधेँ, ‘हामी कहाँ आयौ?’

‘स्कुलमा’ उसले छोटो उत्तर दियो।

सायद म निकै बेर निदाएछु क्यारे। रबिले ढिला गऱ्यो भनेर मुकेश सर हामीलाई बोलाउन बाहिर आउनु भयो। हामी मुन्टो निहुँराउँदै पछि पछि अफिस भित्र छिर्यौं। झ्यालबाट सहपाठीहरूले गिल्ला गरेको हामीले नसुनेझै गऱ्यौं।

हामी भित्र पुग्दा सबैले आशन ग्रहन गरिसकेका थिए। बा सोफाको भित्तामा, त्यसपछि रबिका बा, अर्कोतर्फको सोफामा मुकेश सर र गोविन्द सर। मुकेश सर र गोविन्द सर सह-प्रिन्सिपलको हैसियमा यहाँ उपस्थित थिए।

प्रिन्सिपल सर आफ्नै कुर्सीमा छन्। म र रबि कोठाको मध्यभागमा उभिएका छौँ। हातगोडा काँपेर उभिन नसक्ने भएपछि मैले झ्यालको भित्ता समाएँ। एक पलको लागि आँखाभरि अन्धकार छाएजस्तो भयो। धन्न मैले भित्ता समाएँ।

‘सिधा बस्’ गोविन्द सरको आदेश आयो।

आँखा रसाए मेरा। मैले हजुरआमालाई सम्झेँ। अहिले हजुरआमा यहाँ भैदिएको भए सबैलाई गाली गरेर ‘हराएर आएका नातीहरूलाई सम्झाएर बुझाएर अबदेखि नगर भन्नु त कता कता सबै मिलेर हाप्काउँदा रहेछन्। तिमीहरूले आफूले गरेका उटुङ्ग्या कामहरू बिर्सियौ’ भन्दै पक्कै लिएर जाँनु हुन्थ्यो।

हो त यिनीहरूले कहिल्यै गल्ती गरेनन् त? के यिनीहरूले आफ्नो किशोर/जवानीमा गरेका साना तिना गल्तीबाट सिकेरै आज परिपक्क भएको बिर्सिए। म यस्तै सोचमा डुबेछु। कसले के सोध्ये मलाई हेक्क भएन।

गोविन्द सरले कन्सिरीका रौ तानेपछि पो झल्याँस भएँ। उनको प्रश्न मैले सुनिनँ। उनले प्रश्न दोहोराए ‘कहिले कहिले भागियो?’

केही बेर मौन रह्यौँ। निउरीमुन्टीमै कर्के आँखाले रबिलाई हेरेँ। उसका आँखाबाट तप तप आँसु झरिरहेको देखेँ। अनि काँपेको स्वरमा जवाफ दिएँ ‘पहिलो पटक हो सर। हामी भागेको होइन। फर्किन बस नै आएन कर्फ्यू लागेर।’

वास्तवमा हामी भगौडा हैनौं। गलत समयमा गलत स्थानमा हुनुको परिणाम थियो। यस्तो दुर्घटना जोसँग जहिलै पनि हुन सक्थ्यो। फेरि हाम्रो जस्तो सडक अनुशासन नभएको ठाउँमा यो नौलो पनि होइन। यी सबै कुरा भन्न मन थियो तर मैले भनिनँ।

अर्को प्रश्न मुकेश सरको थियो। ‘बनेपा सवारी केको लागि?’

यो प्रश्न निकै अप्ठ्यारो थियो। हामीले सामना गर्न नखोजेको प्रश्न थियो। प्रश्न दोहोरियो, तेहरियो तर हामी चुप लागिरह्यौँ।

पण्डित बा कड्किए ‘कान सुनिनस् कि के हो? सरलाई जवाफ दे।’

रबिले फ्याट्ट भन्यो ‘बफ मम खान गएको।’

‘थुइक्क स्वाँठ, पण्डितको छोरो भएर भैँसीको मम खाने!’

यति भनिनसक्दै बिजुलीको गतिमा रबिको गाला चड्केको आवाजले पुरै कोठा तरंगित भयो। मैले थाहा पाउँदा वर्दा मेरो जाँघबाट तातो बाफ निकाल्दै मेरो अगाडि पिसाबको आहाल भैसकेछ।

Source: Setopati

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x