आइपीओमा १० कित्ते प्रावधान हटाउन गृहकार्य, के यो कदम आम लगानीकर्ताको हितमा होला ?

काठमाडौं : नेपाल धितोपत्र बोर्डले आइपीओमा १० कित्ता मात्र आवेदन दिन पाउने प्रावधान हटाउन छलफल सुरु गरेको छ । धितोपत्र बोर्डले नयाँ व्यवस्था लागू भएको करिब २ वर्षपछि उक्त प्रावधानलाई परिमार्जन गर्न गृहकार्य अघि बढाएको हो । यसबारेमा अहिले छलफल चलिरहेको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए । प्रवक्ता गिरी भन्छन्, ‘१० कित्ताको प्रावधान लागू गर्दाकै बखत आवश्यकता अनुसार पुनरावलोकन गरिने स्पष्ट पारिएको थियो ।

अहिले सोही अनुसार पुनरावलोकन गर्ने कि भन्ने विषयमा छलफल भएको हो । यसमा अहिले नै न्यूनतम कति कित्ताका लागि आवेदन दिन पाउने भन्ने सम्बन्धी कुनै निर्णय भएको छैन ।’ अवश्यकता र औचित्यका आधारमा नीति परिर्वतन हुँदै जाने उनले बताए । न्यूनतम १० कित्ता लागू हुनुअघि कम्पनीहरुले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने गरी आवेदन खुला गर्दथे ।

तर पछि बोर्डले अनिवार्य रुपमा न्यूनतम १० कित्ता आवेदन दिन पाउने गरी आइपीओ खुला गर्नुपर्ने व्यवस्था गरेको हो । आम नागरिकलाई सेयर बजारमा पहुँच पुर्याउन भन्दै यस्तो व्यवस्था गरिएको थियो । यता, पछिल्लो समय धितोपत्र बोर्डले बुक विल्डिङ विधिबाट आइपीओ जारी गर्ने प्रक्रिया पनि अघि बढाएको छ । बुक विल्डिङबाट आइपीओ जारी हुँदा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने प्रावधान छ

यो विधि कार्यान्वयनमा आएपछि १० कित्ताको नीति विस्तारै परिर्वतन गरिने बोर्डका एक अधिकारीले बताए । अहिले बुक विल्डिङ विधिबाट आइपीओ निष्कासन गर्न सर्वोत्तम सिमेन्टले इच्छा देखाएको पनि प्रवक्ता गिरीले बताए । उनले भने, ‘सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रक्रियाबाट आइपीओ निष्कासन गर्छु भनेर आएको छ । उसले यो नियम कार्यान्वयनमा लैजाला ।’

हाल आवेदन दिने सबैले सेयर नपाएको अवस्थामा यो १० कित्ते नीतिको औचित्य नरहेको पनि धितोपत्र बोर्डको भनाई छ । अहिले १० कित्ते नीति हुँदा झन् बजारमा एकै व्यक्तिले धेरै जनाको नाममा खाता खोलेर सेयर भर्ने गर्नाले विकृति अझ बढेको बोर्डको निष्कर्ष छ ।
लगानीकर्ताको असन्तुष्टि 
धितोपत्र बोर्डले १० कित्ते नीति पुनरावलोकनका लागि छलफल अघि बढाएको भए पनि साना लगानीकर्ताहरुले भने यसमा विरोध गरेका छन् , उता केही ठूला लगानीकर्ताहरुको भने यसमा समर्थन रहेको छ । अनि, साना लगानीकर्ताहरुले भने नियामकले ठूला लगानीकर्तालाई मात्र हित हुने गरी निर्णय नगर्न बोर्डलाई चेतावनीसमेत दिएका छन् ।
नेपाल पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेल सरकार दूरदराजका साना तथा आम लगानीकर्ता सेयर बजारमा भित्र्याउन चाहन्छ भने १० कित्ताको प्रावधान अनिवार्य राख्नुपर्ने बताउँछिन् । पोखरेल भन्छिन्, ‘ठूला लगानीकर्तालाई मात्र हेर्ने हो भने जे ल्याए पनि भयो । १० कित्ताको प्रावधान हटाइन्छ भने त्यो सरासर गलत हो ।’ यो प्रवधान हटाउनु भनेको साना लगानीकर्तालाई पाखा लगाउनु सरह रहेको भन्दै लगानीकर्ताले सामाजिक सञ्जालमार्फत पनि यसको चर्को आलोचना गरेका छन् ।
धितोपत्र बोर्डले विद्यार्थी, गृहिणी तथा स–साना पुँजी भएका वर्गको पुँजी बजारमा पहँुच बढाउने उद्देश्य दर्शाउँदै २०७५ चैत २७ गतेदेखि यो व्यवस्था लागू गरेको थियो । साथै, बोर्डले लिएको एक नेपाली एक डिम्याट खाता अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले आइपीओमा न्यूनतम १० कित्तामा पनि आवेदन गर्न पाउने व्यवस्था गरेकोे हो । बोर्डको यो योजना केहीहदसम्म सफल भए पनि लक्ष्य पूरा भने भएको छैन ।

किन भने जनसंख्याको अत्याधिक ठूला हिस्सा अझै पनि पुँजी बजार तथा आइपीओप्रति नै अनविज्ञ रहेका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको पछिल्लो तथ्यांक अनुसार ३० लाख २४ हजार ८६ हजार हितग्राही खाता (डिम्याट अकाउन्ट) खुलेका छन् । यो करिब ३ करोड जनसंख्यालाई आधार मान्ने हो भने ज्यादै न्यून हो । तथापि, एक व्यक्तिले २ वटासम्म डिम्याट खाता खोल्न पाउने व्यवस्था छ ।

१० कित्ते नीतिले पुँजी बजारमा धेरै लगानीकर्ताको आकर्षण 
धितोपत्र बोर्डले करिब २ वर्ष पहिले लिएको १० कित्ते नीतिले पछिल्लो समय प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण भने निकै बढाएको छ । अत्यन्त न्यून पुँजी भएकाले पनि आइपीओ भर्न पाएका छन् । आइपीओका लागि भनेर धेरै रकम जोहो गर्नुपरेको छैन । यो निकै सकारात्मक पक्ष हो । यसलाई स्वयं नियामक धितोपत्र बोर्डले पनि स्वीकार गर्दै आएको छ ।

तथापि, १० कित्ता पाउनको लागि पनि भाग्यकै भर पर्ने अवस्था आएपछि यो नीतिमा पुनरावलोकन गर्न लागेको बोर्डका अधिकारीहरुले दाबी गरेका छन् । पछिल्लो समय आइपीओ जारी भएका कम्पनीमा १५ लाख भन्दा बढीको आवेदन पर्न थालेको अवस्था छ । यो तथ्यांकले पनि पछिल्लो समय आइपीओमा लगानीकर्ताको आकर्षण ह्वात्तै बढेको देखाउँछ ।

Source: nepalipaisa
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x