आइपीओमा ‘डिजिटल बोरे’ हावी : अर्काको नाममा भर्नेहरु ह्वात्तै बढेपछि यसरी नियन्त्रण गरिंदै

इशारा कोइराला
काठमाडौं : इटहरीका केशव (नाम परिर्वतन) ले विगत लामो समयदेखि सेयर बजारलाई नजिकबाट निहाल्दै आएका छन् । प्राथमिक र दोस्रो बजारमा पनि उनी सक्रिय छन् । गत वैशाखमाा उनको विवाह भयो । विवाहअघि आफ्नो घरपरिवारको नाममा आइपीओ भर्दै आएका उनले विवाहपछि ससुरालीका आफन्तको पनि नगरिकताको फोटोकपी र फोटो ल्याएर बैंक खाता, डिम्याट खाता र ब्रोकर आइडी खोलेर आइपीओ भर्न थालेका छन् ।

पछिल्लो समय खोलेको सबै आइपीओमा करिब ४० जनाको नामबाट आवेदन दिँदै आएको उनी बताउँछन् । तर, यो कुरा उनका कतिपय आफन्तलाई जानकारी छैन । त्यस्तै, गोरखाकी सुनिता (नाम परिवर्तन) ले पनि आफ्नो आफन्तको नाममा सेयर भर्दै आएकी छिन् । उनले महिलाको नाममा बैंक खाता, डिम्याट खाता र ब्रोकर खाता खोल्न जाँदा आफैं हो भन्दै जान्छिन् भने पुरुषको खाता खोल्न भाईलाई पठाउने गरेकी छिन् ।

उनले पनि करिब १५ जनाको नामबाट आइपीओ भर्ने गरेकी छिन् । यी त प्रतिनिधि उदाहरण मात्रै हो । पछिल्लो समय अर्काको नामबाट सेयर भर्ने क्रम बढ्दो रहेको छ । विगतमा पनि यसरी अर्काको नाममा सेयर भर्नेलाई बोरे प्रणाली भनिन्थ्यो । तर डिम्याटको चलन सुरु भएसँगै बोरे प्रथा हट्ने अपेक्षा गरिएको थियो । तर व्यवहारमा यो कायमै रह्यो ।

पहिला कागजी प्रक्रियाबाट अरुको नाममा आइपीओ भरिन्थ्यो भने अहिले डिम्याट र बैंक खाता खोलेर, फरक यत्तिमात्र हो । तर व्यवहारमा बोरे चलन अहिले पनि उत्तिकै हावी छ । यसर्थ, आधुनिक ‘डिजिटल बोरे’ प्रणाली निकै फस्टाएपछि यसलाई नियन्त्रण गर्न आवश्यक भएको सरोकारवाला निकायले बताउँदै आएका छन् ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका सीइओ पूर्णप्रसाद आचार्य पनि यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् । यसका लागि सीडीएसले केही समय पहिले डिम्याट खाता खोलिदिने संस्था (डीपी) लाई स्वयं व्यक्ति नै उपस्थित भएपछि मात्रै खाता खोलिदिन निर्देशन दिइएको आचार्यले बताए । यसले केही हदसम्म यस्तो प्रवृतिको अन्त्य गर्न सहयोग पुर्याएको पनि उनको तर्क छ ।

साथै, सीडीएसले डीपीसँग मिलेर ग्राहकको विवरण भर्नका लागि छुट्टै सफ्टवेर विकास गर्न पनि लागेको उनले बताए । उनले भने ‘छिटै नयाँ आवश्यक सफ्टवेयर विकासका लागि आवश्यक स्पेसिफिकेसन तयार गरेर बिडिङ प्रक्रियामा जाँदैछौं ।’  केन्द्रीकृत केवाइसी विवरण हुने भएपछि पटक–पटक केवाइसी फारम भर्नुपर्ने झन्झट पनि नरहने उनले बताए ।
व्यक्तिको नागरिकतामा भएको फोटो र उपस्थित भएको व्यक्ति एउटै हो वा होइन भनेर छुट्याउन (आर्टिफिसियल इन्टेलिजेन्स) संयन्त्रको समेत सिस्टममा प्रयोग गर्ने तयारी रहेको उनले बताए । उनले भने, ‘यसमा कत्तिको सफल हुन्छौं भनेर हेर्न भने बाँकी नै छ ।’
आफन्तले सेयर भर्न सहयोग गर्नु स्वभाविक
पछिल्लो समय सेयरको चर्चा गाउँगाउँसम्म पुगेको र आइपीओ भर्न सर्वसाधारण इच्छुक भएको सीडीएसका सीइओ आचार्य बताउँछन् । यही क्रममा आफ्नो परिवारका सदस्यलाई आइपीओ भर्न सहयोग गर्नु स्वभाविक रहेको पनि उनको भनाई छ । उनले भने, ‘पछिल्लो समय आइपीओको चर्चा गाउँगाउँसम्म हुने गरेको छ ।

यसमा आवेदन दिन आफ्नो घरपरिवारका सदस्यले सहयोग गर्नु स्वभाविक हो ।’ तथापि, गाउँगाउँबाट नागरिकता र फोटो ल्याएर अर्काको नाममा आइपीओ भर्नु चाहिँ बदमासी कार्य भएको उनले बताए । यस्तो प्रवृतिको छिट्टै नियन्त्रण हुने पनि उनले दाबी गरे ।

१० कित्ते नीति हटाउने तयारीमा बोर्ड
नेपाल धितोपत्र बोर्डले आइपीओमा १० कित्ता मात्र आवेदन दिन पाउने प्रावधान हटाउन छलफल सुरु गरेको छ । बोर्डले १० कित्ते नीतिले पुँजी बजारमा विकृति भित्रिएकाले यसलाई हटाउन लागिएको दाबी गरेको छ । १० कित्तेकै कारण अहिले अरु व्यक्तिको नामबाट आइपीओ भर्ने प्रवृत्ति मौलाएको र यो हटेपछि विकृति पनि केही हदसम्म निरुत्साहित हुने बोर्डका एक अधिकारीले बताए । उनले भने, ‘अहिले आइपीओमा १० कित्ता मात्रै आवेदन दिन पाउने व्यवस्थाले पनि अरु व्यक्तिको नामबाट सेयर भर्ने प्रवृत्ति हाबी भएको हो ।

यो नीतिलाई परिमार्जन गरेसँगै यसमा केही नियन्त्रण हुन्छ ।’ तथापि, धितोपत्र बोर्डले करिब २ वर्ष पहिले लिएको १० कित्ते नीतिले पछिल्लो समय प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण भने निकै बढाएको छ । यसै प्रावधानका कारण आइपीओ भर्नेको संख्या ह्वात्तै बढेको छ । यसरी भर्नेहरु दोस्रो बजारमा पनि लाग्ने गरेका छन् । सेयर बजार सम्बन्धी चेतना पनि वृद्धि भएको छ ।

Source: nepalipaisa
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x