आईटी र व्यवस्थापनको मिश्रित कोर्ष ‘बीआईएम’ किन पढ्ने ?

काठमाडौं । विश्वविद्यालयको ढोका उघार्न तम्तयार विद्यार्थीमाझ अनेकन् विकल्प छन् । स्नातकमा पढेको विषय नै आफ्नो भविष्य निर्माणको महत्वपूर्ण आधार हुने भएकाले विद्यार्थी आफलेू कुन शैक्षिक कार्यक्रम पढ्ने, कहाँ पढ्ने, पढ्न कति शुल्क लाग्छ, पढेपछि कस्ता अवसर पाइन्छ लगायतका विषयमा जानकार हुन आवश्यक छ ।यदि सूचना प्रविधि (आईटी) विषयमा रुचि राख्नुहुन्छ भने यसमा पनि धेरै विकल्प तपाईंसामु छन् । नेपालमा विभिन्न विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । देशभर ३ सय हारहारीका कलेजहरुमा स्वदेशी र विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी यस्ता आईटी कार्यक्रमको अध्ययन अध्यापन भइरहेको छ ।यसैबीच आज हामी त्रिभुवन विश्वविद्यालयले सञ्चालनमा ल्याएको बीआईएम (ब्याचलर इन इन्फर्मेशन म्यानेजमेन्ट) कार्यक्रमका बारेमा चर्चा गर्दै छौं ।
के हो बीआईएम ?
२० वर्षअघि त्रिभुवन विश्वविद्यालय बीआईएम कार्यक्रम सञ्चालनमा ल्याएको हो । यो कार्यक्रम त्रिविको व्यवस्थापन संकायअन्तर्गत राखिएको छ । पहिलो पटक काठमाडौंको कान्तिुपर कलेज अफ म्यानेज्मेन्ट एण्ड इन्फर्मेशन टेक्नोलोजी कलेजले सम्बन्धन लिएर अध्यापन गराएकोमा हाल यो कार्यक्रम पढाउने कलेजको संख्या ३६ पुगेको छ ।बीआईएम कोर्षमा ६० प्रतिशत कम्प्युटर विज्ञान र ४० प्रतिशत व्यवस्थापन तथा अन्य विषय हुन्छन् । बीआईएममा ४ वर्षमा ८ वटा सेमेस्टर रहेका छन् । यस काेर्षमा बिजनेश एडमिनिस्ट्रेशन, इकोनोमिक्स, कम्प्युटर साइन्स लगायतका विषय पढ्नुपर्छ । इन्फर्मेशन सिस्टमसँग सम्बन्धित थ्याेरीहरू, आइडिया, मेथोड, मोडल लगायतका विषय यसमा समावेश छन् ।अहिले अरेक क्षेत्र र संघसंस्थाका लागि इन्फर्मेशन म्यानेजमेन्ट एक महत्वपूर्ण र संवेदनशील काम हो । तर पयार्प्त जनशक्तिकाे अभावमा याे क्षेत्रमा गुणस्तरीय काम हुन सकिरहेकाे छैन । यसकारण विद्यार्थीलाई अब्जेक्ट-ओरियन्टेड सफ्टवेयर डिजाइन, मेथोड र डेटा म्यानेजमेन्ट सिस्टमबारे याे शैक्षिक कार्यक्रमले विस्तृत ज्ञान प्रदान गर्छ ।मुलतः सूचना प्रविधि र व्यवस्थापकीय सीपहरुलाई समायोजन गरेर बनाइएकाे शैक्षिक कार्यक्रम भएका कारण बीआईएमलाई पछिल्लाे पुस्ताले रूचाएकाे गरी याे व्यवसायिक सीप प्रदान गर्छ ।
अरूभन्दा कसरी फरक छ ?
विद्यार्थीका लागि अन्य आईटी कार्यक्रम पनि उपलब्ध छन् । तर बीआईएम एक पृथक वा स्पेसिफाइड कोर्ष हो । आईटीका अन्य शैक्षिक कार्यक्रमभन्दा फरक भनेकै यो आईटी र व्यवस्थापनको संयोजन गरिएको शैक्षिक कार्यक्रम हो ।यसकारण मिश्रित प्रकृतिको यो शैक्षिक कार्यक्रम अध्ययन गर्ने विद्यार्थीले आईटी र व्यवस्थापन दुवैको ज्ञान हासिल गर्न सक्छन् । हार्डवेयर, सफ्टवेयरका आधारभूतदेखि वृहत् ज्ञान हासिल गर्दै यसको प्रयोग र व्यवस्थापन गर्न यो शैक्षिक कार्यक्रमले सहयोग गर्दछ ।यसर्थ व्यवासयिक संगठनका लागि आईटी र म्यानेजमेन्ट पढेका फरक-फरक जनशक्ति राख्नुभन्दा बीआईएम पढेको एउटै जनशक्ति राख्दा पर्याप्त हुन्छ । यसकारण संगठनलाई आर्थिक भार पनि हुँदैन ।
कस्ता विद्यार्थीले पढ्न पाउँछन् ?
यो शैक्षिक कार्यक्रम पढ्न उच्च मावि (कक्षा ११ र १२) मा जुनसुकै विषय पढेपनि पाइन्छ । परीक्षामा जीपीए २.६ वा दोस्रो श्रेणीमा उत्तीर्ण भएको विद्यार्थीले यो विषय पढ्न पाउँछन् । यो विषय पढ्न त्रिवि व्यवस्थापन संकायले लिने सीम्याटको प्रवेश परीक्षा उत्तीर्ण हुनुपर्छ ।
कस्ताे छ काेर्ष
यसमा फाउन्डेशन कोर्ष २४ क्रेडिट आवर, बिजनेश कोर्ष ३० क्रेडिट आवर, आईटी एण्ड कम्प्युटर कोर्ष ६० क्रेडिट आवर, इलेक्टिभ कोर्ष ६ क्रेडिट आवर र इन्टर्नशिप प्रोजेक्ट ६ क्रेडिट आवर रहेको छ ।
छात्रवृत्तिकाे अवसर
यो शैक्षिक कार्यक्रमका कलेजहरुले पनि आफूअनूकुल छात्रवृत्तिको सुविधा दिन सक्छन् । यसका अतिरिक्त त्रिभुवन विश्वविद्यालयकाे नीति अनुसार पनि कलेजले छात्रवृत्ति उपलब्ध गराउनुपर्छ ।यसअन्तर्गत सम्बन्धन प्राप्त क्याम्पस/ कलेजले प्रति सेक्सन २ (दुई) जना विद्यार्थीहरुलाई क्याम्पस/कलेजले उठाउने कुल शुल्कबाट ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने हुन्छ ।छात्रवृत्तिका लागि विद्यार्थीले सामुदायिक माविबाट प्रवेशिका र सामुदायिक उच्च माविबाट दश जोड दुई परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने छ ।
शुल्क कति लाग्छ
यो चार वर्षे कोर्स पढ्न कम्तिमा ५ लाख खर्च लाग्छ। तर क्याम्पसले दिने सेवा सुविधाका आधारमा केही फरक हुन सक्छ। शुल्कको कुरा गर्दा कलेज अनुसार फरक–फरक शुल्क तोकिएको हुन्छ ।कलेजले दिने सेवा सुविधा अनुसार कलेजले शुल्क निर्धारण गरेको पाइन्छ । यो विषय अध्ययन गर्नका लागि सामान्यतया ५ देखि ६ लाख रुपैयाँ लाग्छ ।
कस्तो कलेज छान्ने ?
आइटी शिक्षा अध्ययन गर्न नेपाली विश्वविद्यालयदेखि विदेशी विश्वविद्यालयका आइटी कार्यक्रम छन् । यस्ता आइटी कार्यक्रम सरकारी क्याम्पस तथा निजी कलेजले पढाउँदै आएका छन् । तर कलेज छान्दा मुख्य यी कुरामा ध्यान दिन जरुरी छ ।
कलेजकाे पूर्वाधार र सुविधा थाहा पाउनुहाेस्
आफू भर्ना हुन खोजेको कलेजको आन्तरिक अवस्था बुझ्नुहोस् । आफ्नो आईटी करियर सफल हुन कलेजको वातावरणले महत्वपूर्ण भूमिका खेल्दछ ।
कलेजको संरचना, यातायात सुविधा, छात्रवृत्तिको सुविधा, गुणस्तरीय अध्ययनका लागि आवश्यक ल्याब, लाइब्रेरीलगायतका स्रोतको राम्रो व्यवस्था भए नभएकोबारे ध्यान दिनुहाेस् । साथै यसअघि कलेजले ल्याएकाे नतिजा पनि जाँच्नुहाेस् ।
इन्टर्नशिप, प्रोफेसनल ट्रेनिङ र जब प्लेमेन्टकाे सुविधा
बीआईंएम कोर्ष सैद्धान्तिक र प्रयोगात्मक दुवै हिसाबले पढ्नुपर्ने कोर्ष हो । यसर्थ कलेजले पढाइसँगै इन्टर्नसिप, ट्रेनङि, जब प्लेसमेन्ट आदिका लागि कस्ता गतिविधि गर्दै आएको छ, त्यसको अध्ययन गर्नुहोस् ।
साथै कलेजले आईटी उद्योगका रहेका कम्पनी र संस्थासँग सहकार्य गरेको छ कि छैन भनेर बुझ्नुहोस् । आफ्नो आईटी करियर उद्योगमा स्थापित गर्न कलेजले ठूलो भूमिका खेल्न सक्ने भएकाले यी कुरामा तपाईं चनाखो हुनुपर्छ ।
शुल्क बुझ्नुहाेस्
कलेज र आईटी कोर्श मन परेर मात्रै भएन, शुल्क चित्त बुझेन भने कलेजमा भर्ना हुन सकिँदैन । यसकारण आफूले इच्छाएको कोर्श पढ्न कुल कति खर्च लाग्छ, छात्रवृत्ति छ कि छैन त्यसको अध्ययन गर्नुहोस् ।
बीआईएम पढ्न ५ लाखदेखि ८/९ लाखसम्म शुल्क लिने कलेजहरु छन् । तपाईंले परिवारको आर्थिक अवस्थालाई ध्यान दिएर त्यस अनूकुलको कलेज छनौट गर्न सक्नुहुन्छ ।
पढाइपछिको अवसर
बीआईएम पूरा गरेका विद्यार्थीहरूले स्नातकोत्तरमा व्यवस्थापन वा कम्प्युटर साइन्समध्ये जुनसुकै विषय पनि छनोट गर्न सक्छन् । उद्योगमा काम गर्नका लागि भने स्नातक डिग्री नै पर्याप्त हुन्छ । बीआईएम कोर्ष व्यवस्थापन र आईटी दुवै विषयको समायोजन भएकाले भविष्यमा आईटी, बैंकिङ क्षेत्र, सरकारी तथा गैरसरकारी संघसंस्था लगायतमा विभिन्न भूमिकामा रहेर काम गर्न सकिन्छ ।यो कार्यक्रम पढेका विद्यार्थीहरु भविष्यमा गएर आईटीको कुनै पनि क्षेत्रमा आफ्नो काम गरेर अगाडि जान सक्छन् ।नेटवर्किङ, सेक्युरिटी, सिस्टम एडमिन, डाटाबेस, सफ्टवेयर इन्जिनियर, एआई तथा क्वालिटी अस्योरेन्स लगायतका कुनैपनि फिल्डमा गएर प्राविधिक क्षेत्रमा जस्तै डाटाबेस डिजाइनर, टेक्निकल मेनपावर, फाइनान्सियल इन्फर्मेशन सिष्टम म्यानेजर, एनालिस्ट, इन्फर्मेशन सिस्टम म्यानेजर लगायतका कुनैपनि आईटी फिल्डमा काम गर्न सकिन्छ ।अर्कोतिर बीआईएम पढेका विद्यार्थीहरु म्यानेजमेन्ट तिरको फिल्डमा जस्तै बैंकिङ, इन्स्योरेन्स, फाइनान्स, सरकारी संस्था र गैरसकारी संस्थाहरुमा गएर व्यवस्थापन तथा आईटी कुनैपनि सेक्टरमा काम गर्न सक्छन् ।बीआईएममा उद्यमशीलताका कोर्षहरु पनि पढाई हुने भएकाले यो कार्यक्रम पढेका विद्यार्थीहरु आफै उद्यमी बन्न सक्छन् । बीआईएम पढेका विद्यार्थीहरुमा बिजनेश र प्रविधि दुवैको राम्रो ज्ञान हुने भएकाले कुनैपनि कम्पनीमा काम गर्नका लागि व्यवस्थापनको छुट्टै अनि प्रविधिको छुट्टै २ जना जनशक्ति राख्नुको सट्टा बीआईएम पढेको एकै जना जनशक्तिबाट काम गर्न सकिन्छ ।

Source: techpana

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x